काठमाडौँ, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसायीलाई करिब आधा दर्जन टिप्स दिनुभएको छ ।
यही असार ३० गते हुनलागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारणसभाको पूर्वसन्ध्यामा एमाले र नेकपा
माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले आयोजना गरेको अन्तिम चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्ता टिप्स दिनुभएको हो ।
ओलीले म्यानपावर व्यवसायलाई आरोप मात्रै लगाउने काम भइरहेको भन्दै त्यसरी गलत ढंगले व्याख्या गर्न नहुनेमा जोड दिनुभयो । वेरोजगारहरुलाई व्यवस्थापन गर्ने भूमिकामा म्यानपावर व्यवसाय रहेको भन्दै बेरोजगार उत्पादन गर्नेहरुबाटै बेरोजगारलाइ ब्यवस्थापन गर्ने म्यानपावर ब्यवसायीमाथि लाञ्छना लगाउने काम अनुचित रहेको ओलीको भनाई छ ।
‘राज्यले युवाहरुलाई बेरोजगार बनाएको छ, तपाईँहरुले त वेरोजगार बनेका युवालाई व्यवस्थापन गर्नुभएको हो । राज्यले देशमै रोजगारीको अवसर सिर्जना गर्ने हो भने तपाईंहरुले किन विदेश पठाउनुहुन्थ्यो र ?’ ओलीले भन्नुभयो, बेरोजगार बनाउने चाँही प्रधानमन्त्री मन्त्री हुन पाउने, बेरोजगारलाई ब्यवस्थापन गर्ने म्यानपावर ब्यवसायी चाँही गलत हुने ? यो कस्तो तरिका हो ?’
उहाँले सिमामा बसेर नाकाबन्दी गर्नेहरु, भारतीय भूमिमा बसेर नेपालतिर ढुंगा हान्नेहरु, हत्या, तोडफोड गर्नेहरु मन्त्री प्रधानमन्त्री बन्दा हुने, वेरोगारहरुलाई व्यवस्थापन गर्नेहरु राजदूत पनि हुनु नहुने भन्दै कडा ब्यंग्य गर्नुभयो । ‘हाम्रो समाज अलिक बढी नै भाबुक खालको छ, यस्ले
भावनामा बगेर सत्यलाई बिर्साउन खोजिरहेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘म्यानपावरवाली राजदूत बनाउन पाइदैन भन्दै हल्ला गर्छन् । के
म्यानपावरवालीले राजदूत बन्नु हुँदैन । राजदूत बन्न सिमामा बसेर ढुंगा नै हान्नु पर्ने ? गलत काम नै गर्नुपर्ने हो ?’
उहाँले म्यानपावर व्यवसायलाई ठगहरुको संस्था भन्ने आरोप लाग्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्ने गरी काम गर्न सुझाव पनि दिनुभयो । ‘अहिले
म्यानपावर भनेको अपराध हो, व्यवसायी भनेका अपराधी हुन् भन्ने भ्रम धेरैमा छ,’ उहाँले भन्नुभयो, ‘समाजमा रहेका केही ठगहरु, जस्ले कुनै कम्पनी नै दर्ता नगरी ठगी गर्छ, त्यस्ताको गल्तीको सजाय सवै ब्यवसायीले बेहोर्नु पर्ने, थेग्नु पर्ने भन्ने के–छ ?’
उहाँले संयुक्त व्यवसायीहरुको समूह राष्ट्र र राष्ट्रियताप्रति सचेत रहेको कारण रोहन गुरुङको नेतृत्वमा रहेको समूहले जसरी पनि जित्नैपर्ने
भन्दै जिताउन आम ब्यवसायीलाई आह्वान गर्नुभयो ।
टाठाबाठाले संयुक्त व्यवसायीको समूहलाई भोट हाल्छन्
स्थानीय तह निर्वाचनमा गाउँका सोझा–सिधा जनताले भोट हालेर एमालेलाई जिताएको स्मरण गर्दै उहाँले भन्नुभयो–‘स्थानीय तहको निर्वाचनमा सोझा–सिधा गाउँका जनताले त अरु पार्टी ठीक छैनन भनेर एमालेलाई भोट हालेर जिताउनु भयो, । म्यानपावरमा त देश–विदेश घुमेका र बुझेका टाठाबाठा हुनुहुन्छ । तपाईँहरुले एमाले निकटका व्यवसायीले नेतृत्व गरेको टीमलाई नै जिताउनेमा म ढुक्क छु, तपाई ब्यवसायीहरुले गाउँका ती सोझा जनताबाट सिक्नुहुन्छ भन्ने लाग्छ ।’
मलेशिया–कतारमा लिम्बु वा तामाङ कम्पनी छैनन्
ओलीले अहिले विभिन्न जातका नाममा द्धन्द्ध फैलाउने काम म्यानपावर व्यवासयका क्षेत्रमा समेत भएको भन्दै विदेशमा कामदार पाठउने सन्दर्भमा त्यो सम्भव नहुने बताउनुभयो । ‘अहिले आधारहीन कलहको विऊ रोप्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘मलेसिया–कतारमा लिम्बू वा गुरुङका मात्र कम्पनी छैनन् । ती समूदायका लागि मात्र भर्ना गर्ने भनेर खोलिएका कम्पनी पनि छैनन् । त्यसैले जातीय नाममा होइन व्यवसायिक हितमा काम गर्नुहोला ।’











प्रतिक्रिया