काठमाडौं, २८ असार । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पार्टी दोस्रोमा झरेपछि नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले समिक्षा थालेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी समिक्षा गर्न चासो नदेखाएपछि पौडेल समूहले मंगलबार ललितपुरबाट चुनावी समिक्षा तथा दबाव अभियान शुरु गरेको हो । यो अभियानमार्फत देशका सबै जिल्लामा कार्यकर्ता तहमा हारको छलफल तथा समिक्षा हुने एक नेताले बताए ।
‘चुनावमा दोस्रो हुँदापनि शेरबहादुर दाईले कुनै चासो नदेखाएपछि रामचन्द्र दाई चिन्तित हुनुभएको छ,’ ती नेताले भने– ‘नेतृत्वको स्वेच्छारिता र पार्टीको अधोगति रोक्न यो अभियान थालिएको हो ।’
उनका अनुसार मंगलबार ललितपुरको भेलामा जिल्लाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहितका अगुवा नेताहरु सहभागी थिए । भेलालाई रामचन्द्र पौडेल र प्रकाशमान सिंहले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा पौडेलले देउवाको नेतृत्वमा कांग्रेस ओह्रालो लागेको र अबका चुनावहरुमा पनि एमालेले कांग्रेसलाई पछि पार्ने खतरा देखिएकाले बेलैमा नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आह्वान गरेका छन् ।
पौडेलको यो अभियानको मुख्य उद्देश्य चुनावी समिक्षा, महासमिति बैठक बोलाउने र देउवालाई दबाव दिने उद्देश्यबाट चलाइएको बताइन्छ ।











प्रतिक्रिया