काठमाडौं, २७ असार । दोस्रो चरणको चुनावमा बम टिपेर फाल्ने हवल्दार दुर्गाबहादुर रानालाई १५ सय दिएर पुरस्कृत गरेको भन्दै अहिले गृहमन्त्री जनार्दन शर्माको आलोचना भइरहेको छ ।
खासगरी टिकापुर घटनालाई जोडेर प्रहरी मार्नेलाई दुई करोड, ज्यान जोखिममा पारेर जनताको सुरक्षा गर्ने प्रहरीलाई १५ सय भन्दै गृहमन्त्री र सरकारकै आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोकर्ताले हवल्दारलाई असईमा बढुवा गरेर पुरस्कृत गर्नुपर्ने माग राखेका छन् ।
खासमा हवल्दार रानालाई गृहमन्त्रीले होइन् महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले १५ सय दिएर पुरस्कृत गरेको थियो । गृहमन्त्रीले त रानालाई मन्त्रालयमा बोलाएर उनको बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिएका थिए । तर, आफ्नो नाम जोडिएपछि गृहमन्त्री शर्माले स्पष्टिकरण पनि दिएका छन् । उनले भनेका छन्- ‘नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएका र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु.१५०० दियो भनी भ्रम छरेर उहांको साहसिक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’
यता महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी बमबहादुर भण्डारीले पनि सामाजिक सञ्जालमा गृहमन्त्रीको नाम जोडिएकोमा दुःख व्यक्त गरेका छन् । ‘ मान्छेहरुले कुरै नबुझेर बोलिरहेका छन् । हाम्रो संगठनमा पुरस्कृत गर्ने लेभल हुन्छ । डीआईजी लेभलमा १५ सय मात्रै पाउँछ । मैले त्यही गरेको हुँ,’ उनले भने ।
डीआईजी भण्डारीले आफूले सक्ने जति गरेको र बढुवाका लागि हेडक्वाटरलाई सिफारिस समेत गरेको बताए । प्रहरी प्रधान कार्यालयको नियमावलीमा पनि डीआइजीले १५ सय रुपैयाँसम्म पुरस्कार दिनेपाउने प्रवधान छ ।
हवल्दार रानाले गत असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनमा दाङको तुल्सीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा भेटिएको बम फालेर बहादुरी प्रदर्शन गरेका थिए ।












प्रतिक्रिया