झापा, २५ असार । विर्तामोड नगरपालिकाको मेयर उपमेयरले आज पदबहाली गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले सपथ तथा पदबहाली गरेका हुन् ।
निर्वाचन कार्यालयका अधिकृत भोजराज श्रेष्ठले मेयर तथा उपमेयरलाई सपथ खुवाउनुभएको थियो । विर्तामोड नगरपालिकामा मेयरका विजेता ध्रुव शिवाकोटी तथा उपमेयर पवित्रा महतरा प्रसाइसहित १० वडाका अध्यक्ष सहितलाई सपथ खुवाइएको थियो । सपथ ग्रहण सकेलगत्तै विर्तामोड नगरपालिकामा उहाँहरुले पद बहाल गर्नुभएको हो । मेयर सिवाकोटीले नगरपालिकाको नबनिर्मित भवनको रिवन काटेर कार्यालय कक्षमा प्रवेश गर्नुभयो ।
विर्तामोड नगरपालिकामा दुई तिहाई बहुमतसहित मेयर उपमेयर एमालेले जितेको हो । विर्तामोडका ५ वडा प्यानल नै र अन्य गरि ३६ स्थानमा एमालेले विजय हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
पदबहालीसंगै मेयर धु्रव सिवाकोटीले पाँच बर्षभित्रमा आफ्ना कुनैपनि सदस्यहरुले दाग नलागिकन काम गर्न निर्देशन समेत दिनुभयो । आज नगर परिषदका सदस्यहरुलाई सेतो रुमाल उपहार दिदै यो रुमाल जस्तै भएर काम गर्ने निर्देशन दिनुभयो । सिवाकोटीले अब एमालेको होइन जनताको मेयर भएर काम गर्ने बताउनु भएको छ ।
पदबहाली कार्यक्रममा झापाका ४ वटै सुरक्षा निकायका प्रमुखहरु, प्रशासन कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहेको नगरपालिका कार्यकारी अधिकृत खड्ग बहादुर कार्कीले जानकारी दिनुभयो ।














प्रतिक्रिया