
विराटनगर, २५ असार । विराटनगर महानगरपालिकामा एउटा रोमाञ्चक मत परिणाम आएको छ । शनिबार राति आएको अन्तिम मतपरिणाम अनुसार, वडा नम्बर १० मा एमालेका बागी उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । आधिकारिक उम्मेदवार भने हेरेको हेर्यै भएका छन् । बागी उम्मेदवारले जितेपछि विराटनगरमा एमालेभित्र हलचल भएको छ ।
एमालेबाट बागी बनेका माधवराज वाग्ले ८५० मतसहित वडा अध्यक्षमा विजयी भएका छन् । उनी एमालेका संगठित सदस्य हुन् । २०५४ सालमा टिकटको दाबेदार रहेका उनले पछि अर्कैलाई टिकट दिलाएर सहयोग गरेका थिए ।
यसपटक भने उनी आफै उम्मेदवार बन्न चाहेका थिए । एमालेका मेयरका उम्मेदवार बिनोद ढकाल पनि वडा अध्यक्षमा वाग्लेलाई टिकट दिनुपर्ने पक्षमा उभिएका थिए । तर, एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको दबाबमा अर्जुन गिरीले टिकट पाए । गिरीले ६२५ मत मात्रै ल्याएर दोस्रो भए । गिरी एमालेको वडा कमिटीको अध्यक्ष पनि हुन् ।
एमालेभित्रैको आन्तरिक लफडाका कारण विराटनगर महानगरपालिका एमालेको पोल्टाबाट गुमेको छ ।











प्रतिक्रिया