९ मंसिर २०८३, बुधबार

उर्लाबारीमा राष्ट्रपतिकी देवरानी विजयी, को हुन लक्ष्मी भण्डारी ?

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी (मोरङ), २१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीकी देवरानी लक्ष्मी भण्डारी मोरङको उर्लाबारी नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनु भएको छ ।

नेकपा (एमाले)को तर्फबाट उम्मेद्वार बन्नु भएकी भण्डारी आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार सो नगरमा खसेको २४ हजार ६३३ मत मध्ये ९ हजार ५३९ मत ल्याउँदै उपप्रमुखमा विजयी बन्नुभयो । प्रमुखमा भने नेपाली काँग्रेसका खड्ग फागो विजयी हुनुभयो ।

उर्लाबारी–७ निवासी भण्डारी एमाले मोरङ जिल्ला सदस्य समेत हुनुहुन्छ । जननेता मदन भण्डारीका साहिला भाइ मोहन भण्डारीकी पत्नी लक्ष्मी भण्डारी उर्लाबारी क्षेत्रकी सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन् । विजयी भइसकेपछी सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले उर्लाबारीलाई हिंसामुक्त नगर बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएर उर्लाबारीलाई नमूना नगर बनाउने सोचमा आफू सदैब दृढ रहेको बताउनुभयो । महिला हिंसा मुक्त, बालश्रम मुक्त उर्लाबारी निर्माण गर्ने उहाँले बताउनुभयो ।

भण्डारी मोरङ जिल्लामा महिला अधिकार र महिला हिंसाका विरुद्ध लामो समयदेखि सक्रिय अभियन्ता हुनुहुन्छ । सामुदायिक मेलमिलाप समिति मोरङको उपाध्यक्ष भएर कामगर्दा उहाँले दर्जनौ महिलालाई न्याय दिलाउन सहयोग गर्नुभएको थियो । हिंसा पीडित महिलाको पक्षमा उहाँले दर्जनौ मुद्दाहरु हेर्नुभएको छ ।

उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै तीन वर्षअघि मोरङ जिल्लामा धेरैलाई मेलमिलाप गराउने अभियन्ताका रुपमा उहाँ जिल्ला अदालत मोरङबाट सम्मानित भइसक्नुभएको छ ।