टीकापुर, २० असार । कैलालीको टीकापुर नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमाले विजयी भएको छ ।
सुरु देखि लोकतान्त्रिक फोरम र बीचमा माओवादी केन्द्रले अग्रता लिएको टीकापुरमा अन्तिममा एमालेका तपेन्द्र रावलले बाजी मारे । कडा प्रतिस्पर्धा भएको टीकापुरमा रावल अन्तिममा मेयर बन्न सफल भएका हुन् ।
टिकापुर नगरपालिका निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले घोषणा गरेको आधिकारिक नतिजाका अनुसार एमालेका उमेदवार रावल ५९५९ मत प्राप्त गरि मेयर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेदवार ललित थापा (शिव)ले ५६१० मत प्राप्त गरे ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार केशरी बिष्ट ६२२६ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी आशा चौधरीले ५५५३ मत पाइन् ।
टिकापुर नगरपालिकाको सबैभन्दा ठूलो वडा मानिने वार्ड नम्बर १मा पनि नेकपा एमालेका अध्यक्ष गंगाराम आचार्यको प्यानल विजयी भएको छ । उक्त वडामा मात्रै १४२५० मतदाता रहेका छन् । टिकापुर नगर पालिकाको कुल मतदाता ३९,१९२ रहेको छ ।
उक्त नगरको मतगणना अत्यन्तै रोचक बन्दै गएको थियो । प्रारम्भमा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको थियो भने पछिल्लो अवस्थामा माओवादी केन्द्रले निरन्तर अग्रता लिएको थियो । खड्क स्मृति मतदान केन्द्रको मत गणना हुने क्रमको अन्तिममा एमालेले आफ्नो अग्रता कायमै राखेको थियो । नतिजा सार्बजनिक हुँदा नेकपा एमालेका तपेन्द्र रावल माओवादी केन्द्रलाई उछिनेर ३५९ मतले विजयी भए ।
यस्तो टीकापुरको नतिजाः
एमाले
मेयर– ५९१५ (विजयी)
उपमेयर ५०३८
माओवादी केन्द्र
मेयर– ५५९४
उपमेयर– ५३९९
काङ्ग्रेस
मेयर– ५५२५
उपमेयर– ५८४२ (विजयी)
लोकतान्त्रिक फोरम
मेयर– ५४८१
उपमेयर– ५११८












प्रतिक्रिया