३० आश्विन २०८३, शुक्रबार

गाइडले पनि मौसमबारे जानकारी लिनैपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himpat_mustangकाठमाडौं, ६ कात्तिक । एक साताअघि आउको हुदहुदको प्रभावबाट परेको हिमपातमा परी धेरैको मृत्यु भएपछि पदयात्रामा जाने गाइडलाई पनि मौसमबारे जानकारी लिनै पर्ने व्यवस्था लागू हुने भएको छ ।

मृत्यु हुनेमा धेरै गाइड तालिमप्राप्त नभएका र कुनै जानकारी नलिई गएकाहरू परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ ।

फेरि यस्तो अवस्था नआओस् भनेर पदयात्रामा जाने गाइडले मौसमको जानकारी लिनुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बताए ।

विभागका अनुसार हालसम्म ३३ जनाको मृत्यु भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । जसमध्ये मुस्ताङमा २४, म्याग्दीमा ५, मनाङमा ३ र कास्कीमा एक छन् ।

मौसमसम्बन्धी तत्काल जानकारी प्राप्त गर्न र पर्यटकको सुरक्षाका लागि आधुनिक प्रविधिको अभावमा यति ठूलो संख्यामा मृत्यु भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

प्रविधिको व्यवस्था गर्न समय लाग्ने भए पनि गाइड तालिममा उनीहरूलाई मौसमबारे सचेत हुन विशेष ज्ञान दिनुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो । ‘मौसमबारे गाइड सचेत भएमा अहिले भएको जस्तो दुर्घटनाबाट क्षति हुने संख्या कम हुन सक्छन्,’ गौतमले भने ।

उनले तालिम र अनुमतिपत्र प्राप्त गाइडबाहेक अन्यलाई गाइडका रूपमा पदयात्रामा जान कडाइसमेत गरिने बताए ।

त्यस्तै पदयात्रामा जाने विदेशीले अनिवार्य गाइड र एउटा समूहमा स्थान पहिचान गर्न सक्ने जीपीएस यन्त्र अनिवार्य लानुपर्ने व्यवस्था गरिने जानकारी दिए ।

जीपीएस प्रविधि यसअघि नै लागू गर्ने भने पनि अहिलेसम्म सरकार असफल हुँदै आएको छ । अप्ठेरोमा परेका पर्यटकको उद्धारका लागि जीपीएस प्रविधि निकै उपयोगी हुन्छ ।