२९ आश्विन २०८३, बिहिबार

हारेका खेलाडीको बेइज्जती ताल, फोहर गर्दा जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepalकाठमाडौं, ५ कात्तिक । खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७औँ एसियन खेलकुद प्रतियोगिता एसियाडको आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ ।

आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरूले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् ।

उनले लेखेको छन्, ‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्तामा कोरेको, कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्‍यो १७औँ एसियन खेलकुद आयोजकलाई ।’

दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्विकारेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनले भने, ‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई फाइन लागेको हो ।’

इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए । नेपालले ९४ लाख पाँच हजार रुपैयाँ डिपोजिट गरेको थियो ।

भिलेज खर्च र जरिवाना कटाएर आयोजकले १६ लाख एक सय १२ रुपैयाँ फिर्ता गरेको उनको भनाइ छ ।

गुरुङका अनुसार नेपाली टोली बसेको तीनवटा कोठा फोहोर पारिएको थियो । ‘नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीका खेलाडीले कोठाका ढोकासमेत क्रयाक पारेर आएका रहेछन्,’ उनले भने, ‘महिला राष्ट्रिय क्रिकेट टोलीले पनि कोठाको सिलिङ नै ड्यामेज गरेका रहेछन् । हामीलाई प्राप्त लिस्टमा महिला क्रिकेट खेलाडीले धेरै क्षति पुर्‍याएको उल्लेख छ ।’

एसियाडमा १६ वर्षपछि सहभागिता जनाएको नेपाली पुरुष फुटबल टोली इन्चोनमा १३ गोल खाएर फर्केको थियो ।

महिला क्रिकेट टोली क्वार्टरफाइनलमा बंगलादेशसँग नराम्रोसँग पराजित हुँदै घर फर्केको थियो ।