– सुदीप अधिकारी
बर्दिया, १७ असार । जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार मुक्तिप्रसाद यादव (किट्टु)ले ६ हजार २ सय ७ मत ल्याएर नगरपालिका प्रमुख पदमा जीत हासिल गरेका हुन् । उनका निकटत्म प्रतिद्धन्दी नेकपा एमालेका हरि ज्ञवालीले ५ हजार ७ सय ३६ मत ल्याएका छन् ।
यसैगरी उपप्रमुख पदमा नेपाली कांग्रेसकी शुशिला गिरीले ६ हजार ३ सय ६४ मत ल्याएर उपप्रमुखमा विजयी भएकी छन् । उनको प्रतिद्धन्दीले नेकपा एमालेकी टिका सम्सेली पुन मगरले ५ हजार ६ सय ८३ मत ल्याएकी छन् । १२ वडा रहेको गुलरिया नगरपालिकामा वडा नं ३, ५,६ र १० मा नेपाली कांग्रेसले वडा अध्यक्ष पदमा जीत हासिल गरेको छ । यसैगरी ८,९,११ र १२ नम्वर वडामा माओवादी केन्द्रले वडा अध्यक्ष जीतेको छ । नेकपा एमालेले वडा नं १, २ र ४ वडामा वडा अध्यक्ष जीतेको छ । राप्रपाले वडा नं ७ मा वडा अध्यक्ष जीतेको छ ।
चार पत्रकार विजयी
स्थानिय तह निर्वाचनमा यहाँ चार जना प्रत्रकार विभिन्न पदमा विजयी भएका छन् । पत्रकार शुशिला गिरी नेपाली कांग्रेसको तर्फबाट गुलरिया नगरपालिकाको उपप्रमुख पदमा विजयी भएकी छन् । पत्रकार गिरी नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुन् । यस्तै प्रत्रकार प्रतापकुमार गौतम गुलरिया नगरपालिका वडा नं १बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी प्रेस चौतारी बर्दिया शाखाका सल्लाहकार हुन् ।
पत्रकार युवराज श्रेष्ठ गुलरिया नगरपालिका वडा नं ५ बाट वडा सदस्य पदमा निर्वाचित भएका छन् । उनी पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष तथा हाल केन्द्रिय पार्षद हुन् । विनय राजभण्डारी गुलरिया नगरपालिका वडा नं ७ को वडा सदस्य पदमा निर्वाचित भएका छन् । उनी प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष हुन् ।
६ नगरपालिका र २ गाउँपालिका गरि ८ स्थानिय तह रहको बर्दियामा ५ नगरपालिका र २ गाउँपालिकामा मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।













प्रतिक्रिया