२९ आश्विन २०८३, बिहिबार

डन कुमार घैंटे किन भागे हङकङ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kumar-ghaiteकाठमाडौं, ४ कात्तिक । डन दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टरपछि प्रहरी राजधानीमा सक्रिय अन्य गुण्डाका नाइकेहरूलाई निगरानी गर्न थालेको छ । प्रहरीको चेतावनीका बाबजुद पनि धम्क्याएर असुल्ने धन्दा नछाडेका केही गुण्डाहरूलाई चरीकै हालतमा पुर्‍याउने प्रहरीको तयारी छ ।

चरीलाई इन्काउन्टर गर्ने महानगरीय प्रहरी अपराध महाशाखाले केही डनहरूलाई बिहानदेखि बेलुकासम्मका गतिविधि निगरानी गर्दै आएको छ । जसमा दुई जना मुख्य छन् । महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले कुमार घैंटे र मिलन चक्रेलाई निगरानीमा राखेका हुन् ।

स्रोतका अनुसार एसएसपी कार्कीले निगरानी थालेपछि घैंटे हङकङ भागेका छन् । चरी मारिएपछि राजधानीमा आफ्नो राज चल्ने भन्दै उनले पार्टी गरेका थिए । कहिले हतियारसहित त कहिले करोड रुपैयाँ टेबुलमा राखेर फोटो खिच्दै फेसबुकमा हाल्ने गरेका उनी प्रहरी पछि लागेपछि भागेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी कार्कीले पक्राउ गर्न लागेपछि उनी भारत हुँदै हङकङ भागेका हुन् । केही प्रहरीले नै उनलाई भगाएको समेत स्रोत बताउँछ । राजधानीमा चरी र घैंटेबीच मारामारको अवस्था चलिरहेको थियो । मिलन चक्रेसँग मिलेर घैंटको समूहलाई आक्रमण गर्ने तयारी गरिरहेको अवस्थामा मारिएका चरी मारिएका थिए । त्यही कारण राजधानीमा आफ्नो राज चल्ने भन्दै घैंटको समूह खुशी भएको थियो ।

उता राजधानीमा फेरी गुण्डागर्दी बढ्न थालेको छ । चरीको इन्काउन्टरपछि चुपचाप बसेका डनहरू फेरि असुली र ठेक्कापट्टामा कब्जा गर्न फर्किएका छन् । तीन महिनाअघि मात्र जेलबाट छुटेका मिलन चक्रे सुध्रिएका छैनन् । महाराजगंज क्षेत्रका व्यवसायीहरूलाई सताउन थालेको स्रोत बताउँछ । त्यस्तै ललितपुरमा मीनकृष्ण महर्जनले कांग्रेसको आडमा धन्दा चलाइरहेका छन् । उनीविरुद्ध पनि अपराध महाशाखामा उजुरी परेको छ । शक्तिविहीन भएपछि गणेश लामा भने चुपचाप छन् । दीपक मनाङे पनि सक्रिय हुन थालेको बताइन्छ ।