
ह्युस्टन (टेक्सास) । अमेरिकामा रहेका तराइवासी नेपालीहरुको संस्था एशोसियसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा) मा नयाँ नेतृत्व चयन भएको छ ।
शनिवार यहाँ सम्पन्न एन्टाको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा आगामी दुई वर्षका लागि निवर्तमान प्रमूख प्रवक्ता डा.जयप्रकाश (जेपी) साहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष सुनीलकुमार साह (टेक्सास),उपाध्यक्ष राजेश शाह (ओहायो) ,महासचिव डाक्टर अखिलेश सिंह (न्यू मेक्सिको), सह–सचिव मुकेश मेहता (टेक्सास), कोषाध्यक्ष डाक्टर कौशल झा (टेक्सासं) र प्रमुख प्रवक्तामा अन्नापूर्णा देव (नर्थ क्यारोलिना) रहनुभएको छ ।

यसैगरी कार्यकारी सदस्यहरुमा डाक्टर विजय झा (टेक्सास), अनिकेत शाह (न्यूयोर्क),विजय यादव (टेक्सास),कान्ता कादम्बिनी मल्लिक (आइओवा) र धिरज चौधरी (नेब्रास्का) रहनुभएको छ ।
नयाँ नेतृत्व चयन अघि शनिवार विहान अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय शिक्षा संकायका पूर्व डिन प्रोफेसर डाक्टर वीरेन्द्रकुमार मल्लिक र विशेष अतिथि अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत ऋषिराम घिमिरेले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
कायृक्रममा संस्थाले प्रकाशन गरेको स्मारिकाको संयुक्त विमोचन समेत गरिएको थियो । संस्थाका अध्यक्ष ललित झाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व महासचिव रतन झा, संस्थाका पूर्व अध्यक्ष एवं एनआरएन आइसीसीका सदस्य डा. विनोद शाह, एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुली, नेपालबाट आउनुभएका तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृखेशचन्द्र लाल, आदिवासी, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ्ग वाइवा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष गौतम दाहाल, नेप्लिज एशोसियसन अफ ह्युस्टनका अध्यक्ष ज्योति घिमिरे, संस्थाका कोषाध्यक्ष एवं तेश्रो अधिवेशन आयोजक समितिका स्थानीय संयोजक डाक्टर विजय झा, विशिष्ठ अतिथि कार्यवाहक राजदूत ऋषीराम घिमिरे र प्रमुख अतिथि प्राडा मल्लिकले अधिवेशन सफलताको कामनासहित आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जेपी साहले संचालन गर्नुभएको उद्घाटन सत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सुरुवातमा मिस नेपाल युएसए २०१४ की विजेता खुश्बु मिश्र र संस्थाका महासचिव राजेश शाहले कार्यक्रम आरम्भ गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा वरिष्ठ व्यक्तित्व कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका डाक्टर मल्लिकलाई संस्थाको तर्फबाट पूर्व अध्यक्ष डाक्टर विनोद शाहले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नु भएको थियो ।
‘सांस्कृतिक एकताद्वारा मधेशी पहिचानको प्रवर्द्धन’ भन्ने मूल नारासहित सम्पन्न अधिवेशनको दोश्रो चरणमा शनिवार दिनभर नै विभिन्न फोरम संचालन गरिएको थियो । जस अनुसार, अमेरिका र नेपालको तराइमा रहेका मधेशीहरुको सामाजिक–सांस्कृतिक एकीकरण र एन्टाको भूमिका पहिलो फोरम थियो । डाक्टर प्रमोद कण्ठले संचालनगर्नु भएको यो फोरममा मधेशीहरुका बीचको सामाजिक–सांस्कृतिक सम्बन्धका विषयमा अन्नपूर्णा देव,सांस्कृतिक(सामाजिक आधारमा मधेशी–पहाडीबीचको सम्बन्धमा डा. कौशल झा, तराइवासी र अमेरिकी संस्कृतिका समानता, चुनौती र अवसरका बारे ललित झा, एन्टा र अमेरिकाका अन्य संघ, संस्था बीचको सम्बन्ध बारे डा. विनोद शाहले प्यानलिष्टको रुपमा आफ्ना भनाइहरु राख्नु भएको थियो । यसैगरी नेपालमा रहेका तराईवासी महिलाहरु र अमेरिकामा रहेका तराइवासी महिलाहरुः अवसर, चुनौती र एन्टाको भूमिका विषयक अन्नापूर्णा देवले मोडरेट गर्नु भएको अर्को छलफलमा डा. अर्चना कायस्थ, डा. ममता सिंह, काजोल कर्ण, उषा झा र खुश्बु मिश्रले भाग लिनु भएको थियो ।
डा. कौशल झाले संचालन गर्नु भएको तराइका पेशागत र व्यावसायिक व्यक्तिहरुको उद्देश्य,चुनौती र एन्टाको भूमिका विषयक अर्को छलफलमा डा. हरिवंश झा, फूलकुमार देव,प रमेश्वर शाह रौनियार, रतन झा, ओम गोइत र अमित शाहले आ–आफ्ना विषयगत दक्षताका अनुभवहरु शेयर गर्नु भएको थियो ।

यी सबै फोरमहरुमा निकै गहन विषयमा सहभागीहरुले छलफल गरेका थिए । अधिवेशनमा भाग लिन अमेरिकाका विभिन्न शहर तथा राज्यमा छरिएर रहेका तराईवासीमूलका नेपालीहरु ह्युस्टन आइपुगेका थिए । ह्युस्टन अधिवेशनको स्थानीय व्यवस्थापन निवर्तमान कोषाध्यक्ष डा.विजय झाले गर्नु भएको थियो । अधिवेशनमा सहभागी हुन ह्युस्टन पुगेका सबैलाई शुक्रवार राती संस्थाका संस्थापक अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व महासचिव रतन झाले आफ्नै निवासमा रात्रीभोज दिनु भएको थियो । अधिवेशन समापनको दिन शनिवार राती स्थानीय कलाकारहरुको सहभागितामा हिन्दी, मैथिली,नेपाली र अंग्रेजी गीत,संगीत र नृत्यका साथ् एक नाटकसहितको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । यसभन्दा पहिले अधिवेशनस्थलमा नै संस्थाले आगामी दुई वर्षका लागि गर्ने विभिन्न कार्यक्रमका लागि आर्थिक सहयोग संकलन कार्य पनि गरिएको थियो ।
![]()

सांस्कृतिक कार्यक्रमकै बीचमा शनिवार राती एन्टाको नयाँ नेतृत्वको घोषणा गरिएको थियो भने संस्थाका तर्फबाट विभिन्न महानुभावलाई एन्टा वर्ष पुरस्कार समेत प्रदान गरिएको थियो ।
जस अनुसार यस वर्ष आउटस्ट्यान्डिङ ग्लोबल लिडरसीप अवार्ड एनआरएन आइसीसीका सदस्य समेत रहेका डाक्टर विनोद शाहलाई प्रदान गरिएको छ । यसैगरी आउटस्ट्यान्डिङ एक्जिक्युटिभ कमिटी मेम्वर अवार्ड संस्थाका पूर्व उपाध्यक्ष सुनीलकुमार साहलाई प्रदान गरिएको छ । आउटस्ट्यान्डिङ स्टुडेन्ट अफ इएर पुरस्कार सम्राटकुमार झा,इन्टरप्रेनरसीप अवार्ड डा. रामनारायण शाह,वुमन अफ इएर अवार्ड अन्नापूर्णा देव,एन्टा एक्सिलेन्स अवार्ड डा.अखिलेश सिंह, एन्टा आउटस्ट्यान्डिङ युनिभर्सिटी स्टुडेन्ट अवार्ड अवदेश मिश्रलाई प्रदान गरिएको छ। यसैगरी एन्टा प्रेसिडेन्ट अवार्ड डा. विजय झा र फ्रेन्ड्स अफ एन्टा अवार्ड माइकल वालेशलाई प्रदान गरिएको छ ।
सन् २००५ मा नेपालको तराइमा मूलथलो भएका र हाल अमेरिकामा रहेका तराईवासी समुदायका विभिन्न व्यक्तिहरुको पहलमा यो संस्थाको स्थापना भएको थियो । गैर राजनीतिक र मुनाफारहित संस्थाको रुपमा क्रियाशील यो संस्थामा अमेरिकामा रहेका विभिन्न पेशा र व्यवसायमा संलग्न तराईमूलका दुईसयभन्दा बढी नेपालीहरु आवद्ध छन् ।













प्रतिक्रिया