
– रश्मि आचार्य
एमालेले जनताबाट निर्वाचित भएर बैधानिक तवरले जनपक्षीय सरकार चलाएको एक बर्ष नपुग्दै अर्को कम्युनिष्ट घटक नेकपा माओवादी हिंसाको बाटो समातेर जङ्गल पस्यो । हजुरआमाको कोखबाट नाति जन्माउने माओवादी दृष्टिकोण पूर्णतः असफल सावित भयो । आज एमाओवादीले जतिसुकै अस्वीकार गरे पनि उनीहरुले हिँडिरहेको यात्रा जबजको वरिपरि नै छ ।
देश यतिबेला स्थानीय निर्वाचनको दौडमा छ । दोस्रोचरणको निर्वाचनको मतदान सकिएर मतगणना सुरु भएको छ । संयोग, दोस्रो चरणको चुनावकै दिन स्थानीय स्वायत्त शासनका अभियन्ता जनतेता मदन भण्डारीको जन्मदिन पनि परेको छ । उहाँले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनबादको कार्यक्रम आज सिद्धान्तको रुपमा स्थापित भइसकेको छ । यहि विचारको प्रकाशमा देशमा ठूला ठूला परिवर्तन भएर समृद्धिको यात्रा प्रारम्भ भएको छ । कम्युनिष्ट आन्दोलन भित्र नयाँ विचारधाराका सर्जक जननेता मदनलाई आज आम नेपालीले मात्र होइन विश्वले सम्झिरहेको छ ।
कम्युनिष्ट विचारधाराका नयाँ सूत्रधार: मदन
समुन्द्रको छाल र नदीको भेल्कोसँगै जो पनि बग्छ तर छाल आइरहेको ठाउँमा उल्टो दिशाबाट यात्रा गर्ने आँट कमैमा हुन्छ । जतिवेला सोभियत रुसको समाजवादी सत्ता गर्ल्यामगुर्लुम ढल्यो, विश्वबाट कम्यूनिष्ट विचार समाप्त भयो भनेर हौवा पिटियो, त्यसैबेला नेपालका कम्यूनिष्टहरु माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न मदन भण्डारीको नेतृत्वमा नयाँ मौलिम कार्यक्रम अगाडि सार्दै थिए । तत्समय कम्युनिष्ट आन्दोलनभित्र लोकतान्त्रिकरणको एजेन्डासहितको बाटो अगाँल्नु छाल आइरहेको विपरित दिशाबाट यात्रा गर्नु जस्तै थियो । जुन विचारलाई एकातर्फ अन्य कम्युनिष्ट घटकहरु (मूलतः आजको एमाओवादी) बर्ग समन्वयवादी, पूँजीबाद परस्त विसर्जनको बाटो भनेर आरोप लगाइरहेका थिए भने अर्कोतर्फ पूँजीवादपंन्थीहरुले यी स्टालिनका पुच्छरहरु, एकदलीयताका पक्षधरहरु नक्कली कुरा गरिरहेका छन्, यिनीहरु लोकतन्त्रवादी हुनै सक्दैनन् भनेर गोयवल्स शैलीमा ढ्वाङ फुकिरहेका थिए । त्यस्ता कुप्रचारबाट मदन भण्डारी रत्तिभर विचलित र उत्तेजित हुनु भएन । दुवैकोणबाट फैलाइएका अफवाहलाई मतोड जवाफ दिँदै नेकपा एमालेलाई जबजको बाटोमा हिँडाउने कठिन यात्रा उहाँले दृढतापूर्वक अगाडि बढाउनुभयो ।
पाँचौ महाधिबेशनपूर्व झिनो मत पाएको जनताको बहुदलिय जनवादको पक्षमा अधिवेशनसम्म आइपुग्दा भारी मतले पारित भयो । केहि समयपश्चात् जबजकै कार्यन्वयनको चरणमा जनताको अभिमतबाट मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार नेकपा एमालेले नौ महिनासम्म चलाउने अवसर प्राप्त गर्यो । ‘आफ्नो गाउँ आफै बनाऔं’, वृद्धभत्ता, नौ ‘स’ अभियान जस्ता लोकप्रिय कार्यक्रमका कारण त्यो सरकार सर्वाधिक लोकप्रिय बन्यो । नेपाली काँग्रेस लगायत विपक्षीहरुले लगाएका कपोलकल्पित आरोपहरुलाई पानीको फोका सावित गर्यो । यसरी एउटा कम्युनिष्ट घटक नेकपा एमालेले जनताबाट निर्वाचित भएर बैधानिक तवरले जनपक्षीय सरकार चलाएको एक बर्ष नपुग्दै अर्को कम्युनिष्ट घटक नेकपा माओवादी हिंसाको बाटो समातेर जङ्गल पस्यो । जनताको तागतलाई केन्द्रभागमा राखेको जबजलाई विभिन्न लान्छना लगाउँदै सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन भन्ने सूत्र घोकाएर उसले निर्दोष र सोझा जनताको हातमा बन्धुक थमायो । हजारौंको बलिदानी भयो । अन्ततः उनीहरुले बोकेका बन्धुकहरुमा ०६२–६३ को शान्तिपूर्ण जनक्रान्तिले सदाका लागि ताला लगाई दियो । हजुरआमाको कोखबाट नाति जन्माउने माओवादी दृष्टिकोण पूर्णतः असफल सावित भयो । आज एमाओवादीले जतिसुकै अस्वीकार गरे पनि उनीहरुले हिँडिरहेको यात्रा जबजको वरिपरि नै छ । यसरी नेपालका कम्युनिष्टहरुलाई लोकतान्त्रिक मार्गमा हिँडाउने श्रेय मदन भण्डारीको नै हो ।
शान्तिपूर्ण जनक्रान्तिको जगः जबज
रुसमा पानी पर्यो भनेर नेपालका छाता ओड्नु गलत हो भन्दै खुट्टाको नाप अनुसार जुत्ता बनाउनु पर्छ, जुत्ता अनुसार खुट्टा काट्नु भनेको आन्दोलनको समाप्ती हो भन्ने उहाँको निश्कर्ष थियो ।
क्रान्ति पूर्व पनि कम्युनिष्टहरुले सत्ताको नेतृत्व गर्ने अवधारणा जबजले अंगालेको एउटा नयाँ अवधारण हो । जसमा भनिएको छ, श्रमजिवी जनताको पक्षमा सदैव वकालत गर्ने कम्यूनिष्टहरु सत्तामा पुग्न प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै जनताको मतद्वारा अनुमोदित हुनु पर्दछ । त्यो अनुमोदन आवधिक निर्वाचनको माध्यमद्वारा हुनु पर्दछ । निर्वाचित भएपछि जनताको हित अनुकुल अधिकतम् प्रगतिशिल सुधारका कामद्वारा शक्ति सञ्चय गर्दै गएर त्यसैको बलमा फड्को मार्नु पर्दछ । यसरी शान्तिपूर्ण संघर्षबाट क्रान्ति सम्पन्न गर्ने विकल्प सम्पूर्ण रुपले बन्द भएमा मात्र बलपूर्वक हस्तक्षेपको नीति अँगाल्नु पर्दछ । माक्र्सबाद र लेनीनबादको प्रकाशका नेपाली मोडेलको मौलिक कार्यक्रम कमरेड मदनले अगाडि सार्नुभयो । रुसमा पानी पर्यो भनेर नेपालका छाता ओड्नु गलत हो भन्दै खुट्टाको नाप अनुसार जुत्ता बनाउनु पर्छ, जुत्ता अनुसार खुट्टा काट्नु भनेको आन्दोलनको समाप्ती हो भन्ने उहाँको निश्कर्ष थियो ।
विश्व कम्यूनिष्ट आन्दोलनबाट सिकेको पाठ, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रो मौलिक धरातलिय यथार्थतालाई केन्द्रभागमा राखेर मदन भण्डारीकै अगुवाईमा नेपालमा बहुदलीय जनबादको नयाँ बहस प्रारम्भ भएको थियो । अधिनायकवादी रुझानबाट आरोपित विचारधारालाई जनताको बहुदलीय जनवादतर्फ मोड्ने यात्रा असाध्यै जोखिमपूर्ण थियो । मदन भण्डारीले शाहस गरेर त्यो यात्रा प्रारम्भ गर्नु भयो । जडशुत्रवादमा अल्झिएर उहाँले त्यो यात्रा थालनी नगरेको भए नेपालको कम्यूनिष्ट आन्दोलन यतिबेला कहाँ हुने थियो ? सम्भवतः मृत्युशैयामा छटपटाइरहेको हुने थियो । साइनिङ्गपाथको दोश्रो संस्करण हाम्रै धर्ती बन्ने थियो । जडशुत्रवाद र विसर्जनवाद दुवैको खतराबाट बचाएर माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न उहाँले देखाउनुभएको जबजरुपी बाटो ठोस परिस्थितिको ठोस विश्लेषण थियो । यस विचारले कम्युनिष्ट आन्दोलनलाई मात्रै जोगाएन, लोकतान्त्रिक आन्दोलनलाई समेत उर्जा दियो । ०६२-६३ को जनआन्दोलन सोही विचारद्वारा निर्देशित थियो । आन्दोलनको सफलतापछिको यात्रा मदन भण्डारीले देखेको बाटो हुँदै अगाडि बढ्यो । २०४७ को संविधानमा उहाँले राखेका आलोचनाका २७ वुँदा र २०६३ जेष्ठ ४ को संसदीय घोषणामा खासै फरक छैन । यसरी हेर्दा भन्न सकिन्छ– नेपाली म्याग्नाकार्टाको सुत्रपात मदन भण्डारीबाटै भयो । अन्ततः त्यही जगमा टेकेर देशमा गणतन्त्र घोषणा भयो । जुन तथ्य घटनाक्रमले पुष्टि गरेको छ ।
सच्चा उत्तराधिकारी
नयाँ राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशबाट नयाँ विचार र नेतृत्व जन्मन्छ । यो क्रम अगाडि बढेन भने समाजको गति अबरुद्द हुन्छ । उत्कृष्ट विचार छ तर सो अनुरुपको नेतृत्व भएन भने क्रान्ति अलपत्र पर्छ । हामी कतै त्यो दिशा तर्फ त छैनौँ ? हो, हामीसँग नेताको खडेरी पनि छैन, समूह समूहका दर्जनौं नेताहरु छन् तर सर्वस्वीकार्य राजनेताको खडेरी भने अबश्य छ । हामीसँग २१ औं शताब्दीको पहिलो क्रान्तिको गौरवगाथा छ तर शताब्दी सुहाउँदो राजनीतिक संस्कार अझै विकास हुन सकेको छैन । त्यसैले राष्ट्रिय संकटको यस घडीमा जन–जनले हरपल मदन भण्डारीलाई सम्झेका छन् ।
जनतालाई छिट्टै विश्वासमा लिन सक्नु, दुनियाँले मच्चाएका स्यालहुँईयालाई मुखभरिको जवाफ दिन सक्ने उहाँको अद्भुत क्षमता थियो । तर्कशिलता, दुरदर्शीता, निखरता र जनउत्तरदायी शैली उहाँमा रहेको चुम्बकत्व हो । संसारलाई यसरी नयाँ विचार दिन सक्ने क्रान्तिदृष्टा मदनलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दोस्रो काल मार्क्सको उपमा दया भावले प्रदान गरेका होइनन् । विचारको ओझ नै त्यसको मूल कारण हो । यदि मदन भण्डारीको जन्म सिद्दान्तकारहरुको खानी युरोपमा भएको भए अथवा जबज युरोपबाट विकास भएको भए यो विचार संसार हल्लाउने तहमा पुग्दथ्यो । सानो देशमा जन्मेपनि जवजको सौर्य दुनियाँका कुनै विचार भन्दा कम छैन । निष्कर्षमा भन्न सकिन्छ, हामी विचारले निमुखा छैनौं र होइनौं ।
सिद्धान्त केवल सिद्धान्तको लागि होइन जिवनका लागि हुनु पर्छ भन्ने उहाँको मान्यतालाई व्यवाहारमा चरितार्थ गर्ने उहाँका सच्चा उत्ताराधिकारीहरु चाहिएको छ ।
हो, अहिलेको राजनीतिक संकटमोचनका लागि मदनको जस्तै आँट चाहिएको छ । भीडले लतार्ने भन्दा बस्तुनिष्ठ विश्लेषण गर्ने साहश चाहिएको छ । दुरदृष्टि चाहिएको छ । जनताको मनोभाव बुझ्न सक्ने फराकिलो सोचाइ भएको अगुवा चाहिएको छ । बिहान, दिउँसो र साँझ धुन फेर्ने राजनीतिक संगितकारहरुको पनि कमी छैन यहाँ । त्यसैले नयाँ संविधान बनेर सम्वृद्धिको यात्रा प्रारम्भ भएको यस युगीन महत्वको घडीमा दृढ इच्छा शक्तिसहितको नयाँ मदन चाहिएको छ । उहाँका सपनाहरुलाई राष्ट्र तथा जनताको जिवनमा उतार्ने कामकाजी नेताहरु स्थानीय तहदेखि केन्द्रसम्म चाहिएको छ । सिद्धान्त केवल सिद्धान्तको लागि होइन जिवनका लागि हुनु पर्छ भन्ने उहाँको मान्यतालाई व्यवाहारमा चरितार्थ गर्ने उहाँका सच्चा उत्ताराधिकारीहरु चाहिएको छ ।
देशको समृद्धिको जग हाल्ने स्थानीय तहमा यतिबेला जनप्रतिनिधिहरु चुनिदै छन् । अधिकार सम्पन्न स्थानीय निकायको जुन परिकल्पना मदन भण्डारीले गर्नु भएको थियो त्यसलाई साकार पार्ने युगीन जिम्मेवारी समयले अहिलेको पुस्तालाई सुम्पेको छ । यसर्थ नयाँ संरचनामा योग्य, सक्षम, इमान्दार र कर्मशिल प्रतिनिधिहरुको चयन विना समृद्धिको सपना पुरा हुन सक्दैन । त्यसैल मन, बचन र कर्मले जनविश्वास जित्न सक्ने असली प्रतिनिधिहरुलाई स्थानीय तहमा निर्वाचित गरौं । देश भरिका एमालेजन मात्र होइन आम जनताले यहि प्रण गरौं । तब मात्र जननेता मदन भण्डारीप्रति हृदयदेखिको स्मरण हुनेछ । उहाँ प्रतिको श्रद्धासुमनले सार्थकता पाउनेछ ।
लेखक अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष हुन् ।















प्रतिक्रिया