काठमाडौं, ४ कात्तिक । तपाईंले पिउने घरेलु रक्सी कस्तो छरु कस्तो कच्चा पदार्थबाट बन्छरु हेक्का राख्नुहोस्।
राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ।
सडेका प्लास्टिक, चप्पल, ठसठस्सी गनाउने मोजा, फोहोर कपडा र गाईबस्तुले पनि खान नरुचाउने अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भू, नागरिक न्यायिक उपभोक्ता मञ्च र करदाता सेवा कार्यालय कलंकीले सोमबार राजधानीका विभिन्न तीन स्थानमा छापा मार्दा मान्छेको ज्यानै जाने खालका गुणस्तरहीन रक्सी बनाउने गरेको फेला पर्यो।
टोलीले इचंगुनारायण४ स्थित प्रेम मगर र कविता मगरले सञ्चालन गर्दै आएको रक्सीभट्टीमा छापा मार्दा सडेका प्लास्टिक, चप्पल, मोजा, फोहोर कपडा, कास्टिक सोडा, युरिया मललगायतका पदार्थबाट रक्सी बनाएको फेला परेको छ।
‘पारिवारका सदस्यका लागि बनाइएको भनिए पनि प्रक्रिया र परिमाण हेर्दा बाहिरका पसललाई बिक्री गर्न बनाइएको देखियो’, करदाता सेवा कार्यालयका निमित्त प्रमुख कर अधिकृत पूर्णबहादुर बरामले भने, ‘यस्ता रक्सी सेवन गर्दा सर्वसाधारणको ज्यान जाने सम्भावना छ।’
विज्ञका अनुसार यस्तो रक्सी पिउँदा कलेजो बिग्रने, आँखाको ज्योति गुम्ने, हृदयाघात हुनेलगायतका समस्या निम्तिन्छ।
बरामका अनुसार यस्ता कच्चा पदार्थबाट बनाइने रक्सीमा मानव स्वास्थ्यलाई प्रत्यक्ष हानि गर्ने अत्यन्तै घातक रसायन आफैं उत्पादन हुन्छ। ‘यसैका कारण रक्सी सेवनबाट सर्वसाधारण मर्ने गरेका समाचार दैनिकजसो आउने गरेको हो’, उनले भने।
रक्सी उत्पादन गर्दै आएकी कविताले पारिवारिक जमघटमा उपभोग गर्न रक्सी तयार पारेको दाबी गरिन्।
उनले प्लास्टिकका नीला ड्रममा पाँच सय लिटर गुणस्तरहीन रक्सी उत्पादन गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । टोलीले उक्त रक्सी नष्ट गरी रक्सी तयार पार्ने कच्चा पदार्थ र भाँडा पनि नियन्त्रणमा लिएको छ।















प्रतिक्रिया