“रवि अंकल, म मेरो बुवा, आमा र दिदीलाई ऋणको भार बोकाएर बाँच्न चाहन्न, मलाइ मर्न दिनुहोस” यसै भन्दै तिमी अस्पतालको बेडमा करिब ८ महिना अघि रोएको थियौ, रोशन ।
मलाई अझ पनि झल्झली याद आइरहेको छ, चितवन टांडीका यी अति बिपन्न गरिब परिवारका रोशन परियारले रुदै भनेको यो वाक्य ।
“सर्लाहीले छोरी खायो, चितवनले अँगालो भरिको छोरो निल्यो रवि सर, हामी दुखीलाई चितवनले पनि सहेन ।” रोशन परियारको आमाले रुदै भनेको यो वाक्य त झन मेरो मुटुमै गडेको छ ।
तर के गर्ने भाग्यको नियति । तिमीले जित्यौ रोशन, मैले हारें । रोशन, मलाई माफ गरिदेउ, तिमीलाई उपचार गराएर बचाउँछु भन्ने मेरो बचन त्यसै खेर गयो ।
नेपाली जनमानसमा एउटा भनाइ छ, “छोरो मरे बाउ एक बर्ष रुन्छन, तर आमा जुगैभरि रुन्छिन्।”
केहि महिना अघि नेपाल गएको अवस्थामा चितवनको सौराहामा आयोजित हात्ती दौड तथा हात्तीको फुटबल टुर्नामेन्ट हेर्न जाने सन्दर्भमा २ जना महिला र एक जना किशोरी मिनरल वाटरको कार्टुन बोकेर हरेक स्टल र खाइलाग्दा देखिने व्यक्तित्वसँग एक किशोरको तस्वीर देखाउँदै सहयोगको याचना गर्दै गरेको देख्न पुगें ।
त्यही क्रममा मैले जिज्ञासु पाराले त्यो टोली मध्येको एक जनालाई सोधेँ, “सहयोग के का लागि ?” त्यसै क्रममा ए फोर साइजको आफ्नो छोरो रोशनको तस्वीर देखाउदै उसलाई ब्लड क्यान्सर भएको र आफू सुकुम्बासी भएको कारणले गर्दा छोरोको उपचार गर्नको लागि सहयोगको याचना गर्दै हिडेको रोशनको आमाले आफ्नो परिचय सहित बताउनुभयो ।
त्यसै क्रममा लोक गायक मिलन लामाले पनि म समक्ष आएर यसो सहयोग जुटाइदिनुपर्यो भन्दै आग्रह गर्नुभयो । हामीले त्यही दिन कार्यक्रमस्थलमा कार्टुन बोकेर सबै माझ केही पैसा संकलन गरी रोशनको आमा र दिदीलाई हस्तान्तरण गर्यौं । त्यसको ३ दिनपछि रोशन भर्ना भएको भरतपुरको चितवन हस्पिटल प्रालिमा भेट्न गएँ । त्यहाँ गएर मैले रोशनसंग केही कुराहरु सोधें । उनले भने “अंकल म बाँच्दिन होला, मेरो उपचार गराउनु पर्दैन ।” मैले उनलाई पूर्ण भरोसा दिँदै “आजकल क्यान्सर सामान्य रोग जस्तै भैसकेको छ १ चिन्ता लिनु पर्दैन बाबु” भनेर सम्झाएँ ।
रोशनलाइ दैनिक परिक्षण गर्न आउने डाक्टरलाई पनि त्यही दिन गएर रोशनको बिमार अवस्थाको बारेमा जानकारी लिने काम गरें । डाक्टरले यो रोगको लागि क्यान्सर अस्पताल लगेमा धेरै उपचारहरु निशुल्क हुने बताउनुभयो । मैले उनलाई क्यान्सर अस्पताल लैजाने प्रबन्ध गर्न अस्पताल ब्यबस्थापन पक्षसंग कुरा राखें । ब्यबस्थापन पक्षले भन्यो, “यहाँ उनको क्याबिन चार्ज र ओखती मुलो गरेर करिब ६६ हजार जति छ, त्यो बुझाएपछि मात्र डिस्चार्ज गर्न सकिन्छ ।” नर्सिंग होमले ती बिरामीका अभिवावक बिपन्न परिवारका हुन भन्ने बुझ्दाबुझ्दै पनि दैनिक १५ सय पर्ने क्याबिनमा राखेको भनेर मलाइ सुनाए । अस्पताल ब्यबस्थापन पक्षले त्यसो भने पछि गायक मिलन लामा र म बाट सौराहा महोत्सवमा संकलन गरिएको पैसा पनि हस्पिटलमा लगेर बुझायौं।
थप उपचारको लागि पैसाको अभाव भएको जानकारी गराएपछि कतारका नेपाली समाजका अगुवा सागर नेपालले मेरो खातामा रोशन परियारको उपचारको लागि भनेर १० हजार रुपिया आइएमइ मार्फत पठाइ दिनुभयो । त्यो रकम कान्तिपुर चितवनका पत्रकार बिमल खतिवडा, पत्रकार अनिल ढकाल, पत्रकार राजु चौधरी लगायत अन्य स्थानीय टेलिभिजनका पत्रकार मित्रहरुलाई बोलाएर हस्तान्तरण गर्यौं । र थप उपचारको लागि सहयोग याचनाको लागि समाचार लेखेर पत्रकार मित्रहरुले पनि धेरै गुण लगाउनु भयो ।
एक असहाय क्यान्सर रोगीको जीवनभन्दा ठूलो पैसा हैन भनेर म आफूले नर्सिंग होममा तिर्नु बाँकी ३६ हजार आफै तिरुला भनेर पत्रकार भाइ दिपेन्द्र अधिकारी र बिमल खतिवडाको रोहवरमा आफै जमानी बसेर बिरामीलाई क्यान्सर अस्पताल कृष्णपुर लैजाने काम गरियो । त्यसपछि उनलाई बिपी मेमोरियल क्यान्सर अस्पताल लगेर किमो चढाउने क्रम सुरु गरियो । ऋण मैले आफ्नो थाप्लोमा बोलेर र बोकेर कतार आए पनि त्यो बाबु बाँचोस भनेर धेरै कामना गरिरहेको थिएँ ।
मलाई कता कता आज रोशनको याद आयो र उसको अवस्थाको बारेमा बुझ्न भनेर घरमा फोन गरेर रोशनको हाल के छ भनेर सोध्दा रोशनको आमा डाँको छोडेर रुनुभयो । “सर, मेरो छोरो रहेन अब १ आज उसको १३ दिने काम हुँदैछ ।” आमाको मुखबाट छोरोको मृत्यु खबर सुन्नु पर्दा मेरो शरीरमा एक किसिमको कम्प छुट्यो ।
बाउले रिक्सा चलाएर र आमाले गाउँघरतिर सुत्केरी महिलाहरुको लुगाफाटो धुने र सुत्केरी स्याहार गरेर बचाएको पैसाले रोशनलाई ११ कक्षासम्म पढाएको पनि केही लागेन । आम रुपमा मृत्यु जसरी सत्य हो, त्यसैगरी चितवन हस्पिटल प्रालिको ब्यबस्थापन पक्ष तथा पत्रकार मित्रहरुको अघि एक असहाय रोशन परियारको अभिवावक बनेर ३६ हजार पैसा तिर्छु भनेर बोलकबोल गरेको पैसा बिबेक र स्वाभिमान नगुमाई तिर्नु अब मेरो कर्तब्य हुन आउँछ । मलाइ अहिले रोशनको लागि मैले बोकेको ऋणले हैन रोशनको मृत्युले धेरै दुखी बनाएको छ। तर पनि सत्य सत्य नै हो, रोशनको मृत्यु स्वीकार्नु बाहेक के नै गर्न सक्छु र म । अलबिदा रोशन । तिमी जसरी अब नेपालमा कसैले मर्न नपरोस ।
लेखक नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष हुन् ।














प्रतिक्रिया