विराटनगर, ११ असार । विराटनगरलाई भौतिक पूर्वाधारले सम्पन्न, आधुनिक र विकसित नगरको रुपमा परिणत गर्दै नगरवासीलाई छिटोछरितो, झन्झटमुक्त, सुशासनयुक्त भरपर्दो सेवा सुविधा दिन प्रतिबद्ध नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवारमा अगाडि सारेको छ, युवा नेता भीम पराजुलीलाई ।
नेपाली कांग्रेस विराटनगर नगर समितिको दुई पटकसम्म सभापति भैसकेका पराजुली नेपाली कांग्रेसमा मात्र होइन्, नगरवासीहरुबीच पनि चीरपरिचित र लोकप्रिय व्यक्ति हुन् ।
नगर सभापति रहदा उहाँ राजनीतिक संयन्त्रमा थिए । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपछि यही संयन्त्रमार्फत नगरका योजनाहरुको चयन र कार्यान्वयन गरिन्थ्यो ।
नगर सभापति रहदा नगरपालिका र जिल्ला विकास समिति लगायत जिल्लाका सरकारी कार्यालयमा काम परेका नगरवासी र अन्य नागरिकहरुको काम पनि सक्रियतापूर्वक उनले गरिदिए ।
एशियाली विकास बैंकको सहयोगमा बनेका र नेपाल सरकारकै लगानीमा बनेका ठूला साना सबैखाले आयोजनाहरुको अवस्था र गुणस्तरका बारेमा स्थलगत अवलोकन, निरीक्षण र निगरानी गर्दै आएका पराजुलीले विकासप्रेमी नेताको छवि समेत बनाई सकेका छन् ।
पराजुलीको राजनीतिक जीवन निकै रोचक छ । २०४६ सालको जनआन्दोलनका समयमा उनी जम्मा १५ वर्षको थिए । पोखरियामा मसाल जुलुुस निस्केको रहेछ । खाली खुट्टा जुलुसको पछाडि लागेका उनलाई पनि प्रहरीले पक्रेर हिरासतमा राखेछ ।
त्यस घट्नाले उनमा राजनीतिक चेतनाको बीजारोपण भयो । माध्यमिक तहको अध्ययनकै क्रममा नेपाल विद्यार्र्थी संघको स्कूल एकाई समितिको अध्यक्ष बन्न पुगे ।
निम्न माध्यमिक तहको शिक्षा पोखरीया उच्च माविमा लिएका भीमले माध्यमिक शिक्षा भने जनता उच्च माविमा लिएका हुन् ।
२०५५ सालमा स्ववियु सदस्य, ०५७ मा कोषाध्यक्ष २०५९ मा सचिव निर्वाचित भएका पराजुली २०६१ को स्ववियू चुनावमा सभापतिका आकांक्षी थिए । तर केन्द्रले उनीभन्दा कमजोर र विद्यार्थीमाझ कम लोकप्रिय व्यक्तिलाई टिकट दियो । पछि उनले आफ्नो अलग्गै समूह गठन गरि चुनाव लडे । र, आफूसहित सिंगो प्यानल नै विजयी बनाए ।
विक्रम सम्बत २०६२/६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए ।
विराटनगरमा पार्टीको संगठन सुदृढ बनाएका भीम यो चुनाव जित्नेमा ढुक्क छन् ।
उनी नगर सभापति भएपछि दोस्रो संविधानसभा निर्वाचनमा नगरभित्रका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो । त्यसबेला उपेन्द्र यादवको प्रभावक्षेत्र ५ नम्बरमा अमृत अर्यालले १० हजार मतअन्तरले जितेका थिए ।
लोकतान्त्रिक फोरमको प्रभाव क्षेत्र ६ मा महेश आचार्य ५ हजार मतान्तरले विजयी भए । ७ नम्बर क्षेत्रमा विजयकुमार गच्छदारलाई साढे तीन हजार मतले डा. शेखर कोइरालाले जिते ।
कांग्रेसका संस्थापक वी.पी. कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मभूमि, नेपालको लोकतान्त्रिक आन्दोलनको उद्गमस्थल, नेपालको औद्योगिक नगरी पूर्वाञ्चलको केन्द्र,प्रदेश नं १ को एकमात्र महानगरपालिका र केन्द्रस्थललाई नेपालको नमूना महानगर बनाउने संकल्प लिएका भीम पराजुली जस्तोसुकै अवस्थामा पनि चुनौतीको सामना गरी विजय हासिल गर्ने योजनामा छन् ।











प्रतिक्रिया