दुरदराज देखि शहर-बजारसम्म सञ्चालन भएका सामुदायिक पुस्तकालयहरु सबै बर्ग, भाषाभाषी र सबै प्रकृतिका बटुवाहरुका लागि शैक्षिक तिर्खा मेटाउने साझा गन्तब्य स्थल बनेका छन ।
‘पढ्ने लेख्ने रहर थियो, छोरीले पढ्न हुंदैन भन्थे, गाईभैंसीको गोठालो र भाईबहिनीको हेरालो मात्र हुनुपर्थ्यो । पढेर मास्टर बन्ने कल्पना थियो, तर कहाँ पढ्न पाईन्थ्यो र ? म त्यस्तै ११ बर्षको हुंदी हो, बिबाह गरिदिए बाबाआमाले । गाउँमा महिला समुहहरुको बैठक हुन्थ्यो माईन्युटमा हस्ताक्षर गर्दा सबैले आफैं नाम लेख्दथे । मैले भने औंठेछाप । समाजको कार्यक्रममा गयो औठेछाप भनेर जिस्काउंथे, घरमा आयो श्रीमानको कचकच सहनु पथ्र्यो । आफैं धिक्कारी रहन्थे जीवनलाई ।’
बेसीशहरमा रहेको त्रिबेणी आमा समुहको अध्यक्ष भएं, सबैले बोलाउन थाले । त्यहाँ जाँदा औठाछाप लगाउनु पर्दा आउन नपरे जस्तो लाग्थ्यो । नजिकै लक्ष्मीनारायण सामुदायिक पुस्तकालय थियो । एउटा कार्यक्रममा आउन मलाई पत्र आयो । मलाई जाउँ कि नजाउ भन्ने लाग्यो । आफु अनपढ, डर उही औंठा छापको । अर्काले के भन्लान भन्ने सोच्थें । पत्र छोराछोरीले हेरेका थिए । तिनले जानुस आमा भनेर सुझाए । नजिकै भईकन पनि पुस्तकालय पहिलोपटक टेक्दै थिएँ, मन कापीरहेको थियो । सबै एकमन भएर पढिरहेका थिए पुस्तकालयमा । भित्र छिरें, पुस्तकालयका अध्यक्ष गणेशप्रसाद नेउपाने उपाध्यक्ष तेजनारायण अधिकारी लगायतका ब्यक्तित्वहरु सँग भेट भयो । पुस्तकालयको बारेमा उहाँहरुले सबैकुरा बताएपछि बल्ल थाहा पाएँ , ‘पुस्तकालयका निरक्षरका लागि पनि रहेछ’ ।
म समुहको अध्यक्ष थिएँ, एकातिर सामाजिक दायित्व थियो । पुस्तकालयको कार्यक्रममा आउन पनि मन लाग्न थाल्यो । पुस्तकालयले प्रौढ कक्षा सञ्चालन गर्ने जानकारी पाएँ । मेरो पढाईप्रति सानै देखिको ईच्छा,पढन पाए के न के हुन्थ्यो भन्ने चाहाना बाँकी नै थियो । प्रौढ कक्षामा पढ्न थाले, पढन लेख्न सिके ।
अहिले त म आफ्नो नाम आफैं लेख्न सक्छु । ईमेल, ईन्टरनेट, फेसबुक आफैं चलाउन सक्ने भएको छु । बिदेशमा भएका छोराछोरी सँग स्काईपमा कुरा गर्दा बल्ल संसार चिनेजस्तो लाग्न थालेको छ । अंग्रेजी भाषा बुझ्नका लागि अंग्रेजी भाषा कक्षा पनि पढ्न शुरु गरेको छु ।’
बेसीशहर नगरपालिका ११ की सीता पौडेलले असोजको पहिलो हप्ता भएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको साधरणसभामा गरेको भाषणको अंश हो यो । उनले यो भाषण गर्दैगर्दा श्रोताको तालीले कार्यक्रम स्थल गडगडाहड थियो । सीताको भाषण दमदार थियो । सामुदायिक पूस्तकालयकी उपज थिईन उनी ।
सीता त एक उदाहरणीय पात्र मात्र हनु । देशभर छरीएर रहेका सामुदायिक पुस्तकालयमा यस्ता सीताहरु प्रशस्त छन । सामुदायिक पुस्तकालयले रङ्ग भरिदिएका चित्र जस्तै छन उनीहरु । समाजमा जनचेतना जागृत गरी ग्रामीण बिकासमा यस्ता सीताहरुले प्रशस्त भुमिका खेलेका छन ।
सामुदायिक पुस्तकालय एक खुला बिश्वबिद्यालय जस्तै हो । जुनसुकै उमेर समूहका सबैले रुचि र आबश्यकताका सबै बिधाका पुस्तकहरु नि:शुल्क र सहज रुपमा पढ्न पाउनु चानचुने कुरा पक्कै होईन । दुरदराज देखी शहरबजारसम्म सञ्चालन भएका सामुदायिक पुस्तकालयहरु सबै बर्ग, भाषाभाषी र सबै प्रकृतिका बटुवाहरुका लागि शैक्षिक तिर्खा मेटाउने साझा गन्तब्य स्थल बनेका छन ।
शिक्षा, हिजो पढ्दैमा आज आउने बिषय होईन, निरन्तरता यसको मुल मन्त्र हो । एक बिद्धानको भनाई नै छ ‘हिजोको स्नातक आज पढ्दैन भने निरक्षर सरह हुन्छ’ । हिजोका उत्कृष्टहरु आज त्यसलाई निरन्तरता दिन नसक्दा शैक्षिक यात्राबाट निकै पछाडि परेका घटना पनि छन त कोही कहिल्यै माथी उठ्न नसक्ने गरी थिल्लीएका । कहिल्यै शिक्षा नपाएकाहरुको हालत कस्तो होला ? त्यसको कहाली लाग्दो कथा भिन्दै छ । तिनले शहर जाँदा पसलका बालकुनीमा झुण्ड्याइएका बोर्डहरु पढन नसकेर पाएको पिडा, हस्ताक्षर गर्न नजान्दा भएका पिडा अनि गन्तब्य यात्रामा निरक्षर बन्दाको पिडा मर्मस्पर्शी छन । गाउँ होस या शहर, कुरिती र कु–संस्कारले समाज अझै व्याप्त छन । त्यहाँ जनचेतना जगाएर बिकास गर्नु आजको आबश्यकता बनको छ । महिलाहरु मुलप्रभावीकरणमा आउन सकेका छैनन । तिनलाई शशक्तिकरणको खाँचो छ । आर्थिक उपार्जनका अबसरहरु प्रदान गर्न आबश्यक छ । आफ्नै बारीमा रहेको सेतो सुनलाई चिनेका छैनन तिनले । तिनलाई ति सुन बारे चिनाउनलाई निकै ढिला भईसकेको छ । बालबालिका, यूवा, अनि पिछडा बर्गको बृहत्तर बिकासका कार्यक्रम सञ्चालन गर्न आबश्यक छ । तर कसरी ?
गाउँ नै गाउँले भरिएको मुलक, नेपाल । गाउँको बिकासका लागि भनेर करोडौं रुपैयाँ बिनियोजन हुन्छन । कार्यक्रम त्यही हो, बजेट भने करोड बाट घटेर सय वा हजारमा झर्छ । अनि कस्तो होला बिकास ? बिकासका संरचनाहरु कस्ता बन्लान ? गाउँको समग्र बिकासका लागि भनेर तिनै गरिब जनताहरुको फोटो बेचेर डलरको खेतीगर्नेहरुको राम्रो बोलवाला छ यहाँ । तर तिनले गाउँको बिकासका लागि कति योगदान दिए ? एक दिन कार्यक्रममा बोलाएर सय रुपैयाँ भत्ता दिएर त्यही फोटो र बिल भपाईको सेटिङ्ग मिलाएर करोडौं कुम्ल्याउनेहरु सँग धेरै आशा गर्नु पनि बेकार छ ।
यही परिस्थिमा गुज्रिरहेको नेपालमा समुदायका यी सर्बत्र आबश्यकता पुरा गर्ने एउटै बिकल्पका रुपमा स्थापीत भएका छन सामुदायिक पुस्तकालयहरु ।
सिमित स्रोत र साधनबाटनै सञ्चालित पुस्तकालयहरुले बर्षौ, एउटा निश्चित कामका लागि भनेर अथाह बजेट खर्च गर्न सक्ने सँस्था भन्दा धेरै सामाजिक चेतना फैलाउन सक्नु गौरबको बिषय हो । गाउँमा जिबनभर क ख रा चिन्न नपाएकाहरुलाई शिक्षा दिनु, महिलाहरु लाई आर्थिक उपार्जन गर्न सक्ने अबसर मिलाएका सामुदायिक पुस्तकालयहरु समुदाय बिकासको द्योतक बनेका छन । दुरदराजमा रहेको गाउँ, जसको जिबनमा आधारभूत आबश्यकता भन्दाअरु पुरा गर्ने कुनै माध्यम नरहेको अबस्थामा सामुदायिक पुस्तकालय नै तिनको शिक्षा लिने माध्यमको रुपमा स्थापित भएका छन ।
नेपालभर कति वटा सामुदायिक पुस्तकालय छन तिनको यकिन तथ्याङ्क छैन, यद्यपी करिब ८०० हारहारीको संख्यामा सामुदायिक पुस्तकालय रहेको अनुमान आउने गरको छ । ती मध्ये केही अस्तित्वमा रहेपनि धेरैजसो अझै अस्तित्वमा आउन सकेका छैनन ।
उत्कृष्ट ‘रीड मोडल’
पुस्तकालय स्थापना र ब्यबस्थापनामा सरकारी ध्यान जान नसकेपनि पुस्तकालयको क्षेत्रमा केही बिदेशी नागरिकले धेरै योगदान दिएका छन । सोलुखुम्बुको जुनबेसीबाट शुरु भएको सामुदायिक पुस्तकालय अभियानले सार्थकता पाउदै गएको छ । नेपाली भरियाबाट प्रभावित भएर डा. एन्टेनिया न्यूवरले सामुदायिक पुस्तकालयको अभियान चलाए । आज भन्दा २० बर्ष पहिले सन् १९९१ सालमा रीड नेपाल नामक अन्तराष्ट्रिय गैर सरकारी सँस्था दर्ता भयो । नेपालराष्ट्रभर सो सस्थाले शुरु गरेको सामुदायिक पुस्तकालयहरु अहिले ५९ वटा पुगीसकेका छन । रीड नेपालको सहयोगमा बनेका सामुदायिक पुस्तकालयहरु दीर्घकालीन योजनाका साथ सञ्चालन भएका छन । यी पुस्तकालयहरुले आफ्नो ठाउँको आबश्यकता र परिबेश अनुसार बिभिन्न किसिमका आम्दानीको स्रोत बनाएका छन । जसले सहज ढङ्गबाट निरन्तर पुस्तकालय ब्यबस्थापन गर्नमा टेवा पुगेको छ । बालबालिका, यूवा, महिलाहरु एबं समुदायमा सूचना र ज्ञानको पहूंच पुग्ने खालका कार्यक्रमहरु सञ्चालन भइरहेका छन । महिला शशक्तिकरणका लागि महिला सहकारी, बालबालिकाको लागि बालहेल्पलाईन र बालबिकास केन्द्र, बालकक्ष सञ्चालन छन अधिकांशमा पुस्तकालयमा । यूवा लक्षित बिबिध कार्यक्रमले सामुदायिक पुस्तकालय यूवाहरुको संलग्नतालाई बढावा दिएको छ ।
यस्तै कुनै स्रोत नभएका स्कुले बिद्यार्थीलाई पठनपाठनका लागि मनग्य पाठ्यसामाग्रीको ब्यबस्था हुन थालेको छ । हिमाली क्षेत्रदेखी तराईसम्म कतै सामुदायिक पुस्तकालय स्थापना भए, कतै बिद्यालय पुस्तकालय । माईक्रोसफ्टका निर्देशक जोन उड नेपाली दर्दनाक परिस्थिति र ज्ञान लिन उत्सुक नेपालीहरु देखी प्रभावित भए । आर्थिक रुपले अत्यन्त लाभदायक मानिएको सो जागिर बाट हात धोए अनि लागे बिद्यालय पुस्तकालयको अभियानमा ।
कहिलेसम्म रुमल्लिने सरकार ?
पुस्तकालयको स्थापना र ब्यबस्थापनका लागि सरकारले स्पष्ट संबैधानिक ब्यबस्था गर्न सकेको छैन । भलै २०६९ सालमा पुस्तकालय तथा सूचना ब्यबस्थापन निर्देशिका जारी भएको छ । तर यसको कार्यान्वयन अगाडि नबढेको पुस्तकालय अभियन्ताहरु बताउँछन । मुलुक संबिधान निर्माणको चटारोमा छ । सबै तहतप्काबाट आ–आफ्नै प्रकारका माग आईरहेका छन । नेपालका प्रमुख दलहरुले संबिधान सभाको निर्बाचनको क्रममा आफ्नो घोषणा पत्रमा पुस्तकालयको बारेमा स्पष्ट लेखेका छन । घोषणा पत्रमा लेख्ने ती दलहरु सरकारमा हुंदा पुस्तकालयमैत्री वातबरण निर्माण गर्न नलाग्नु दु:खद कुरा हो । संबिधान निर्माणको चपेटामा रहेका यी दलहरुले पुस्तकालयको भूमिका कति सम्झन्छन ? ‘एक गाउँ, एक पुस्तकालय, एक बिद्यालय एक पुस्तकालय’ नीतिलाई सार्थकता पार्न संबिधानमा नीतिगत ब्यबस्था अवश्य हुनेछ । घोषणा पत्रमा लेखेका कुराहरु संबिधानमा राख्न पार्टी र पार्टीका नेताहरुले अबश्य भुल्ने छैनन ।
गुणस्तरीय शिक्षा र भरपर्दो सूचना प्राप्त गर्न साझा चौतारी पुस्तकालय नै हो । समाज रुपान्तरणको बाहक पुस्तकालयलाई प्रभावकारी रुपमा ब्यबस्थापन गरिनु आजको आबश्यकता बनेको छ ।
(लेखक लक्ष्मीनारायण सामुदायिक पुस्तकालय बेसीशहरका पुस्तकालय प्रमुख हुन ।)














प्रतिक्रिया