३० आश्विन २०८३, शुक्रबार

एमाले र एमाओवादीका नेताहरू कामविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Flagकाठमाडौं, ३ कात्तिक । पार्टी बिधान अधिकार र काम कर्तब्यबारे प्रष्ट नहुदाँ एमाले उपमहासचिवद्वय विण्णु पौडेल र धनश्याम भुसाल कामविहीन छन् ।

विधानमै कार्यक्षेत्र तोकिएका ५ उपाध्यक्ष र ५ सचिवको पनि कार्यविभाजन हुन सकेको छैन । नेताहरुलाई भाग पुर्याउन नवौं महाधिवेशनदेखि एमालेमा २ जना उपमहासचिवको व्यवस्था गरेको थियो ।

पार्टी विधानले १५ पदाधिकारीमध्ये अध्यक्ष र महासचिवलाई कार्यकारी भूमिका दिएको छ । उपाध्यक्षहरूलाई विकास क्षेत्रीय कमिटीको संयोजक र सचिवहरूलाई विभागीय संरचनाको प्रमुखका रूपमा जिम्मेवारी तोकेको छ ।

तर, महाधिवेशन भएको तीन महिना बित्दा पनि एमालेले कुन उपाध्यक्षलाई कुन क्षेत्र र कुन सचिवलाई कुन विभागको जिम्मा दिने भन्ने टुंगो लगाउन नसकेको आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
स्रोतका अनुसार उपमहासचिव पौडेललाई समग्र पार्टी संगठन वा संसदीय क्षेत्रको काम र भुसाललाई स्कुलिङको जिम्मेवारी तोक्ने विषयमा गृहकार्य भइरहेको छ ।

भुसाल वैचारिक काममा रुचि राख्ने भएकाले उनलाई पार्टी स्कुलको काम दिनु उपयुक्त हुने सुझाब अनौपचारिक छलफलबाट आएको स्रोतले जनाएको छ ।

यसैगरी एकीकृत माओवादीले पछिल्लोपटक गरेको कार्यविभाजनले धेरै नेता बेरोजगार बनेका छन् ।

पार्टीको कामको ठोसजिम्मा नपाउँदा केही पदाधिकारीहरु र स्थायी समिति सदस्य कामबिहीन भएका हुन् ।

अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरा कार्यकारी भूमिकामा छन् । नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, सचिवद्धय टोपबहादुर रायमाझी र वर्षमान पुनको ठोस जिम्मेवारी छैन ।

भट्टराईपक्षीय सचिव रायमाझीलाई संसदीय दलको उपनेता बनाउने भनिएको थियो । तर, अहिलेसम्म उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

सचिव पुनलाई भने पार्टीको विवाद समाधान सिफारिस समितिको जिम्मा दिइएको छ । अर्का सचिव गिरिराजमणि पोखरेल भने प्रमुख सचेतक छन् । कोषाध्यक्ष हरिबोल गजुरेलको पनि भूगोलको जिम्मेवारी तोकिएको छैन ।

स्थायी समिति सदस्यको काम पनि बैठकमा छलफल गर्ने मात्रै भएको छ । उनीहरूको कार्यक्षेत्र राज्य समितिको अनुगमन गर्ने मात्रै तोकिएको छ ।

पार्टीको ठोस जिम्मेवारी दिइएको छैन । ‘स्थायी समिति सदस्यहरू भूगोलको ठोस जिम्मेवारीमा छैनन्, राज्यहरूको अनुगमन गर्ने मात्रै हो,’ एमाओवादी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले भने । स्थायी समिति १६ सदस्यीय छ ।

स्थायी समिति सदस्य गोपाल किरातीले लिम्बुवान र कोचिला, लोकेन्द्र विष्टले किरात र थारुवान, चक्रपाणि खनालले अवध, देवेन्द्र पौडेलले तमुवान राज्यको अनुगमनको जिम्मेवारी पाएका छन् ।

नन्दकिशोर पुन पासाङलाई भने मगरातको राज्य इन्चार्ज बनाइएको छ ।

शक्ति बस्नेत, जनार्दन शर्मा र अग्नि सापकोटालाई मोर्चा वा जनवर्गीय संगठनको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पुराना नेता अमिक शेरचन र स्वनाम साथीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।