तपाई अमेरिका बस्न थाल्नु भएको कति भयो ?
११ वर्ष ।
के लक्ष्य बोकेर अमेरिका जानु भएको थियो ?
कुनै पनि मानिस लक्ष्यविहीन हुँदैन । हरेक मानिसले आ–आफ्नै खालको सपना बोकेर हिडेको हुन्छ । म पनि केही गर्न सक्छु । अमेरिका पनि आकाशमुनिकै देश हो भनेर म अमेरिका गएको थिएँ ।
तपाईले बोकेको सपना वा लक्ष्य अमेरिकामा पूरा गर्न सक्नुभयो कि भएन त ?
आकाश कहाँ छ ? हो लक्ष्य वा सपना पनि त्यस्तै हो । आकाश पल्लो डाँडासँग छोएको जस्तो देखिन्छ । तपाई त्यो डाँडामा पुग्नुहुन्छ । फेरि आकाश अर्को डाँडासँग छोएको जस्तो देखिन्छ । सपना र लक्ष्य भनेको पनि त्यही हो ।
अहिले तपाई अमेरिकामा कुन व्यवसायसँग आवद्ध हुनुहुन्छ ?
इञ्जिनियरिङ लगायतका विभिन्न व्यवसायमा हामी आवद्ध छौँ । तर म आफूलाई अमेरिकाको कृषक भन्न रुचाउँछु । म मुख्य गरेर कृषि पेशासँग आवद्ध छु । हाम्रो अग्र्यानिक फार्म छ । त्यो उत्पादनलाई हामीले अमेरिकामा खपत गर्दै आएका छौँ । त्यहीसँग सम्वन्धित भएर हामीले रेष्टुरालगायतका व्यवसाय पनि सञ्चालन गरेका छौँ ।
तपाईहरुको फार्म हेर्न अमेरिकी राष्ट्रपति वराक ओवामाले पनि आउने भन्नु भएको भन्ने चर्चा थियो नि ?
हामीले एकपटक उहाँलाई भेट्न गएका थियो । मैले हाम्रो फार्मको बारेमा जानकारी गराउने सन्दर्भमा उहाँलाई हाम्रो फार्म हेर्न आउन आग्रह गरेको थिएँ । मैले आग्रह गर्न नपाउँदै परिचयकै क्रममा उहाँले मलाई फार्ममा बोलाउन खोजेको हो ? भन्नुभयो । मैले हो भनेँ ।
सपना खोज्दै अमेरिका पुगेका नेपालीलाई तपाई के सल्लाह दिनुहुन्छ ?
पिँजडाभित्र रहेको चरो पिँजडा बाहिर निस्केपछि उसले आफ्नो आहारा आफै खोज्न थाल्छ । उसले पिँजडा बाहिर गएपछि जे खोज्यो त्यही आहार भेट्न सक्छ । अमेरिका पनि त्यस्तै हो । त्यहाँ नभएको केही छैन । जसले जे खोज्यो त्यही पाउँछ । अमेरिका पुगेका हरेका नेपाली उन्मुक्त छन् । उनीहरुलाई त्यहाँ केहीको कमी छैन । जे खान मन लाग्यो, खान पाउँछन् । चाहेको रमाइलो गर्न सक्छन् । त्यसैले मेरो विचारमा अमेरिकामा रहेका हरेक नेपाली पिँजडा बाहिर निस्केको चरो जस्तै छन् ।
अमेरिकामा रहेका नेपालीको हैसियत चाँहि कस्तो छ ?
अमेरिकाको माइक्रोसफ्ट कम्पनीमा नेपाली इञ्जिनियर छन् । हर्वार्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक छन् । त्यहाँका ठूला–ठूला कम्पनीमा नेपालीले निक्कै राम्रो पदमा जागिर खाएका छन् । ठूला–ठूला व्यवसाय सञ्चालन गरेर बसेका छन् । ह्वाईट हाउसमा आवश्यक खाद्यन्न र आवश्यक सामाग्री सर्व गर्ने नेपाली छन् । यी उदाहरणले पनि के कुराको पुष्टि हुन्छ भने अमेरिकामा नेपालीको हैसियत कमजोर छैन ।
मातृभूमिका बारेमा तपाईले कही सोच्नु भएको छ ?
नेपाल भनेको स्वर्ग हो । यहाँको हावापानी, वातावरण विश्वमा उदाहरणीय छ । पर्यटनका प्रशस्त सम्भावना नेपालमा रहेका छन् । कृषिको प्रचुर सम्भावना छ । नेपालको माटोमा सुन फलाउन सकिन्छ । विकासका प्रसस्त सम्भावनाहरु नेपालमा रहेका छन् । यी सबै कुरालाई सदुपयोग गर्नु अहिलेको आवश्यकता हो । त्यसका लागि राजनीतिक स्थायीत्व आवश्यक छ । नेपालमा राजनीतिक स्थयीत्व भएको खण्डमा विदेशमा गएका हरेका नेपाली नेपाल फर्किने सम्भावना हुन्छ । विदेशमा रहेर पनि नेपालको विकासमा योगदान गर्न सकिन्छ । मैले पनि आम नेपालीकै जस्तो कोही गरिव नभएको नेपालको कल्पना गरेको छु । मेरो क्षमताले भ्याएसम्म नेपाललाई स्वर्ग बनाउन लागि पर्नेछु ।
नेपालका राजनीतिक दलहरुलाई दिने सुझाव के छ ?
नेपालका राजनीतिक दलहरुले नबुझेको केही छैन । उहाँहरुले धेरै कुरा सिक्नु र बुझ्नु भएको छ । तर, उहाँहरुले त्यो कुरा लागू गर्न सक्नु भएको छैन । देश–विदेश घुम्नु भएको छ । त्यहाँको विकाससँग उहाँहरु परिचित हुनुहुन्छ । तर, व्यवहारमा भने लागु गर्नु भएको छैन । उहाँहरुमा नेपालको विकास गर्न सक्ने क्षमतावृद्धि होस मेरो कामना छ ।
प्रस्तुति: मोहन बास्तोला / दैनिक नेपाल












प्रतिक्रिया