२९ आश्विन २०८३, बिहिबार

हामीले हेला गरेको हाम्रै इतिहास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shrestha

नेपाल सम्बत एउटा यस्तो सम्बत हो, जो नेपालको भूगोलमै सृजित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि राष्ट्रकै नामबाट निरन्तरित भइ आएको छ । भनिन्छ, राजा राघवदेवको पालामा शङ्खधर भन्ने सामान्य व्यक्तिले इस्वी संम्वत ८७९ /८८० मा देशभरका ऋणहरू मोचन गरी यो सम्बत सुरु गरे । नेपाल खाल्डोभित्र यसले लामो समय ८९० वर्षसम्म राजकीय सम्बतको रुपमा राज गर्यो । पृथ्वीनारायण शाहले इसं १७६९ मा नेपाल एकीकृत गरेपछि मात्र नेपाल सम्बतको राजकीय निरन्तरता टुट्न गयो । तथापि यो सम्बत पछि प्रताप सिंह शाहको समयमा तिब्बतसंगको सम्झौतामा नेपाल सम्बत प्रयोग भएको छ । पृथ्वीनारायण शाहले सुरु गरेको सक सम्बतको निरन्तरता इस्वी सम्वत १९०४ सम्म राजा त्रिभूवनको पालासम्म अर्थात १३५ वर्षसम्म कायम रह्यो । इस्वी सम्वत १९०४ देखि अर्थात विक्रम सम्वत् १९६१ देखि बैशाख १ गतेदेखि विक्रम सम्बतको सुरुवात भयो । नेपालमा हाल विक्रम सम्बत राजकीय हैसियतको उमेर ११० वर्ष मात्र पुगेको छ ।

भनिन्छ कि, शक सम्वत् र नेपाल सम्वत् दुवै तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरूको स्थिति अगाडि वा पछाडि भइरहने हुँदा शासन व्यवस्थामा असजिलो हुन्थ्यो र सजिलो बनाउनको लागि चन्द्रशम्शेरले ज्योतिषीहरूको सल्लाह लिएर तिथि र बारहरूमा तलमाथि नगरी विक्रम सम्वत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गतेदेखि नेपालमा गतेमा लेख्ने चलन चलाए ।

स्मरणीय यो छ कि तिथिको आधारमा चल्दै रहेका नेपाल सम्वत् र शक सम्बतमा जम्मा ३५४ दिनको एक वर्ष हुन्छ । जब कि विक्रम सम्बतको वर्ष ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपलामा पूरा हुन्छ । अर्थात शक सम्वत् र नेपाल सम्वत् दुवै चन्द्रमाको गतिअनुसारको गणना निर्धारित हुन्थ्यो भने विक्रम सम्वत् सूर्यको ।

गणितीय हिसाब जे भएपनि यसमा चन्द्रसम्शेरको आफू सुर्यबंशी हुनु गर्वलाई स्थापना गर्न यो सूर्यको गतिमा संचालित विक्रम सम्बत चलाएको हो भन्ने धेरै विद्वानहरूको मत छ । म थप मत राख्छु छु कि विक्रम सम्बत हिन्दु राष्ट्रवादको गैरहिन्दु जातिमाथिको विजयको प्रतिक स्वरूप भारतीय उपमहादिपको इतिहासमा प्रतिष्ठित छ र त्यसैको निरन्तरतामा हिमाली भेगका जनाजातिहरूमाथिको विजयको सानमा चन्द्रसम्शेरले यो सम्बत चलाए ।

Nepal-sambat

राजकीय सम्बत जुनै भएपनि नेपाल सम्बत चन्द्रमाको तिथि मिति सम्मत भएकै कारणले यसलाई जनताले चाड, पर्व, जन्म, मृत्यु सबै संस्कार, चिना, आदिका साथै लेख, किताब, शीला लेखमा पनि यो आफ्नै हिसाबले निरन्तरित गर्दै ल्याए । जुन आजसम्म पनि निरन्तरित छ ।

तर उल्लेख्य यो छ की अन्दाजी विक्रम सम्बतलाई राजकीय सम्बत घोषणा गरेको १६ वर्षतिरै अर्थात् १९२० को दशकमा यसको विरोध साथ नेपाल सम्बतलाई राजकीय सम्बतको रूपमा स्थापना गर्ने अभियान नेपाल भाषाका अन्दोलनकर्ता बौद्धविद्वान धर्मादित्य धर्माचार्यले कलकत्तामा बसेर सुरु गरे । त्यसपछि इस्वी संम्वत १९५० मा राणा शासनको अवसानपछि यसलाई भाषा, साहित्य र संस्कृतिकर्मीहरूले आन्दोलनको रूपमा अघि बढाए । पछि इस्वी संम्वत १९७९ मा नेपाल भाषा मंका खलले यसलाई संगठित रूपमा अगाडि बढायो । तत्कालिन पंचायत सरकारले यस आन्दोलन लाई दबाउन निक्कै आक्रमक रह्यो र यसले शान्तिपूर्ण र्यालिहरूमै धावा बोलेर धेरै अभियानकर्ताहरूलाई पिट्ने जेल हाल्ने समेत गर्यो । अन्ततः पंचायाताकालको अवसानपछि इस्वी संम्वत १९९० मा यसका सँस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान दिइयो । अझ शाहकालको अवसान पछि २००८ मा सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणा गर्यो र २०११ अक्टोबर २५ मा यसको कार्यान्वयन प्रक्रिया सिफारिसको लागि एउटा कार्यदल नै गठन गर्यो । तर त्यसले आजसम्म कुनै काम अघि बढाएन । तथापि २०१३ देखि नेपाल सम्बतको पहिलो दिनलाई नववर्षको रूपमा बिदा दिने चलन कायम भयो । विक्रम सम्बत वा शक सम्बत आयातित सम्बत मानिने हुँदा नेपालका माटोप्रेमीहरू नेपाल सम्बतलाई नै नेपाली गर्बको सम्बत मान्दछन् । भनिन्छ, यसलाई संयुक्त राष्ट्र सङ्घमा नेपाली राजकीय सम्बतको रुपमा समेत दर्ज गराइएको छ ।

आयातित मानिएको विक्रम सम्बतले राजकीय स्थान पाउँदा धेरै राष्ट्रबादी चिन्तकहरू नेपाल सम्बतलाई नै यस स्थानमा बिराजमान गराउन चाहन्छन् । मेरो सोच भने विक्रम सम्बत आयातित भएपनि बिदेशी भने मानिहाल्न हुन्न, यो साझा सम्बत हो भन्ने रही आएको छ । आफ्नै माटोको नेपाल सम्बतलाई स्थापित गर्न विक्रम सम्बतलाई विदेशी बनाइ राख्न कत्ति जरुरी छैन । कैयौं आयातित मूल्य र मान्यता हामीहरूसँग यस्ता छन्, जो हामीसँग आफ्नै माटामा सिर्जित भएकाको तुलना बढी प्रचलनमा छन् जसको पोषण र प्रवर्द्धन हाम्रा उल्लेखनीय लगानी रही आएको छ । विक्रम सम्बतलाई कायम गर्दै नेपाल सम्बतलाई समरूपको उचाइमा स्थापना गर्न सक्छौं भन्ने मेरो मान्यता छ ।

विक्रम सम्बत आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा बिदेशी सम्बत भनिने गरिएको हो । तर विवेचनायोग्य यो छ कि जुनबेला यसको सुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । यी भूमिहरू हज्जारौँ जनपदमा बाँडिएका थिए र कहिले कुन, कहिले कुन सयौं राज्यहरू अन्तर्गत यता र उता हज्जारौँ पटक परेका थिए । उत्तरमा मानसरोबरदेखि दक्षिणसम्म गंगानदीसम्म र पूर्वमा कामारुप ब्रह्मपूत्रदेखि पश्चिममा हिन्दुकुशपर्वतसम्म फैलिएका हिमबत खण्डका भूमिले अनेकन मूल्य र मान्यताहरू सिर्जना गरे । ती सबलाई शदियौँ लगाएर परिष्कार गरे । यी अबधिमा यस भूमिमा हज्जारौँ राज्यहरू स्थापित भए र नाशिए पनि । तर ती साँस्कृतिक निधिहरूको निरन्तरता तथा परिष्कार प्रक्रिया कहिल्यै रोकिएन ।

विक्रम सम्बतका संस्थापक विक्रमादित्य आजका नेपाली भूमिकै हुन् भन्ने धारणाहरू नेपालमा नभएको होइन । इतिहासले कुनै प्रमाण नदिए पनि अनेकन लोककथा र स्मारकहरूले यस कुराको पुष्टि गर्दछन् । जस्तै (१) बत्तीसवटा पुतली भएको विक्रमादित्यको सिंहासन भेटिएको स्थानलाई बत्तिसपुतली भनियो रे । (२) लिच्छवि राजा भूमिवर्मा नै विक्रमादित्य हुन् रे। (३) विक्रमादित्यले बज्रयोगिनीवाट पारसमणी प्राप्त गरी नारायणहिटी स्थापित गरेका रे । (४) साँखु बज्रयोगिनीको मन्दिर नजिकै विक्रमादित्य राजाको टाउकोकै मूर्ति स्थापित छ । (५) नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेका थिए रे । (६) पनौतिमा एउटा युवा ऋषिको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतीबाट विक्रमादित्यको जन्म भएको थियो रे । आदि । तर कुनैको पनि ऐतिहासिक पुष्टि भने भएको छैन । बरु एघारौँ शताब्दीका कर्नाटकका चालुक्यबंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ईस्वी सम्वत १०९७ मा राजा बामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिति यता बसाल्न खेजेका प्रमाणहरू भने पाइन्छन् । यही तथ्यसँग उपलव्ध लोककथाहरू गोलमटोल भएको मलाई लागेको छ । यो प्रशङ्ग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तीहरू यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ ।

SHANKHADHAR-SHAKHWA

भारतीय इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरू देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि, पराक्रमी राजाको पदवी भएको देखिन्छ । इतरसंस्कृतिका बिदेशी आक्रमण र उनीहरूका स्थापनाका बिरुद्ध लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरूलाई ‘विक्रमादित्य’ मानिन्थ्यो । पहिलो विक्रमादित्य मालवीका सातकर्णी (इशा पूर्व १०० देखि यशापूर्व ४४०) थिए । उनले आफूलाई विदेशी शकहरूलाई खेदी विक्रमादित्यको उपाधीले विभूषित गरे । यिनैले इशापूर्व ५७ सालमा नयाँ सम्बत सुरु गरे, जसलाई पछि विक्रम सम्बत भनियो । पछि पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितीय, आठौँ शताब्दीमा पुलकिशनको द्वितीय पुत्र, अनि उनैका नाति समेत एघारौँ कर्नाटकका त्रिभुवनमल्लले विक्रमादित्य उपाधि धारण गरेको देखिन्छ ।

यही पछिला त्रिभूवनमल्ल विक्रमादित्य षष्ठ नेपालको दन्त्य परम्परामा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक सम्बत मासेर नयाँ सम्बत स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत, प्रथम भाग पृ १६१)।

ऊ बेला ससाना हज्जारौँ राज्यहरूमा बिभाजित हिन्दु राष्ट्रहरूका जनताले हिन्दुराष्ट्रबादका प्रतीक ूविक्रमादित्यू लाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरूले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । यसरी नै चालुक्य राजबंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । नाला होस् वा साँखु होस् वा बत्तिसपुतलि होस् त्यहाँ उपलव्ध लोकआहानहरूले गरेको पनि त्यही हो ।

यसरी विक्रमादित्यहरू कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् । त्यसैले विक्रम सम्बत नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भएपनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा सम्बत हो । हामी आफ्नै लोक दन्त्य परम्पलाई समेत नकार्न सक्दैनौं । त्यसैले नेपाल सम्बतलाई पूर्ण नेपाली बनाउन विक्रम सम्बतलाई भारतीय बनाइ राख्दा आफैलाई दुख्ने कुरो पनि छँदै छ ।

तर कुरोको चुरो यो छ कि चन्द्रसमशेरले किन शक सम्बतलाई मासेर बिक्रम सम्बतलाई स्थापित गरे ? माथि भनिएझैँ शक सम्बतको प्रचलनमा तिथिमिति एक नाश नरहने हुँदा प्रशाशनिक कार्यमा सरलताको लागि सूर्यको गति अनुसारको स्थीर गते रहने विक्रम सम्बतको प्रचलन सुरु भएको भन्ने कारण कतिसम्म सही हुन सक्छ । इस्वी ।सम्वत को तुलनामा बिक्रम सम्बतको गते कहाँ एक रुप रहेको छ र ? यो पनि त तल माथि परिरहेको छ । त्यसरी यो तलमाथि हुने तिथिको प्रयोगले फरकै के पार्छ ? हिन्दु सँस्कृतिका हरेक सँस्कार चन्द्रगतिकै तिथिमितिमै त कार्यान्वयन हुन्छ । प्रशासनिक कार्यमा यो प्रयोग गर्नै नमिल्ने के छ ?

विक्रम सम्बतको प्रतिस्थापनमा हिन्दु राष्ट्रबादिता स्पष्ट हाबी छ । चन्द्रसमशेरमा आफू राजपूत हुनुको गर्व र हिन्दु राष्ट्रबादिताको ज्वर थियो । शक सम्बत चल्दै थियो चन्द्र समशेरले पुरोहितहरूको बहकाउमा नेपाली भूमिमाथि राजपूतहरूको विजयको सान देखाउने हिसाबमा हिन्दु राष्ट्रबादिताको प्रतिक विक्रम सम्बतलाई स्थापित गरे । सम्बत फेर्नै पर्ने कुनै अर्को ठोस कारण देखिन्न । उनमा नेपाली राष्ट्रबादिता नै थियो भने नेपाल सम्बतलाई फेरि प्रतिस्थापन गर्न सक्थे । तर उनको नजरमा नेपाल सम्बत एक विजित तुच्छ जातिका सामान्य जनताको छोरोबाट स्थापित भएको सम्बत थियो । यो उनलाई कदाचित स्वीकार्य थिएन ।

विक्रम सम्बत आयातित भए पनि विजातीय होइन तथा यसलाई हाम्रो माटोमा सम्मान छ तर यसले प्रतिकात्मक रूपमा यसै भूमिका जनजाति माथि विजयको सानको संकेत बोकेको छ । यो समरूपमा स्थापित भएको नेपाली सबै जातिलाई स्वीकार्य हुन सक्दैन । कुनै न कुनै बेला यो लज्जाकै विषय पनि बन्नसक्छ । त्यसैले कसैमाथि विजयको सान नबुझाउने अनि सामान्य जनबाट यसै माटोको सुगन्धमा स्थापित नेपाल सम्वतलाई साझा रूपमा सगौरब माथि उकाल्दा नेपाली राष्ट्रबादी रहेका कसैले हारेको मनिस्थिति बोक्न पर्दैन । सबै नेपाली राष्ट्रबादीको समान विजय हुनेछ । नेपाल सम्वतलाई राजकीय सम्बतको रूपमा स्थापित गर्न सबैले सकरात्मकता देखाउन नितान्त आवश्यक छ ।