शिशिर सिंखडा
चितवन, कार्तिक २ । पूर्वी चितवनको शक्तिखोर–४ गैरीवारी गाउँलाई मदिरा निषेधित गाँउ घोषणा गरिएको छ । चारैतिरवाट जंगलले घेरिएको सो गाँउमा २ सय ८६ घरधुरी छन् । मुख्य गरेर गुरुङ र चेपाङ जातीको बसोवास रहेको उक्त गाउँमा २०७० साल पुस २९ गतेको गाउँ भेलाले मदिरा निषेधित क्षेत्र घोषणा गरेको स्थानीय चक्रदेवी निमाविका प्रधानाध्यापक इश्वर गुरुङले जानकारी दिनुभयो ।
‘पहिला दिउँसै मदिरा सेवन गरेका व्यक्तिहरु हिँड्दा बालवालिका र महिलामा नकारात्मक असर पथ्र्यो,’ उहाँले भन्नुभयो, ‘अहिले ढुक्क भएको छ ।’
उहाँका अनुसार विद्यार्थीहरु पनि अहिले आनन्द मनले विद्यालय आउजाउ गर्न थालेका छन् ।
नव विहानी टोल सुधार समिति गठन गरी यहाँका बासिन्दाले मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि गाउँमा मदिरा सेवन, विक्री वितरण र उत्पादन कार्यसमेत रोकिएको छ । समितिका अध्यक्ष झनक बहादुर गुरुङका अनुसार मदिरा सेवन गर्नेलाई पहिलो पटक ५ सय रुपैया जरिवाना तोकिएको छ भने उत्पादन वा विक्री गर्नेलाई २५ सय रुपैया जरिवाना लाग्ने छ ।
राती लुकीचोरी खाएर हिड्नेलाई ८ हजार ४ सयसम्म जरिवाना तिराउने गरिएको छ ।

जरिमाना वापत उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने समितिको योजना छ ।
गैरीवारी गाउँमा विवाह, ब्रतबन्ध, जन्मोत्सव होस या पास्नी हरेक कार्यमा प्रसादको रुपमा लिइने मादक पर्दाथको सट्टा अहिले दहि, केरा, सेलरोटीले पाहुनालाई स्वागत गर्ने गरिएको स्थानीय रक्षा गुरुङले जानकारी दिनुभयो ।
पहिले पहिले चाडपर्वमा आफन्तकोमा जाँदा स्थानीय रक्सी लैजानै पर्ने परम्परा थियो । अहिले त्यसको समेत अन्त्य भएको छ ।
बिहानै ३ बजे उठेर जाँड रक्सी पार्ने स्थानीयवासीहरु अहिले बंगुरपालन, बाख्रापालन, तरकारी खेतीलगायतको पेशावाट आम्दानी गर्न थालेको स्थानीय गिरबहादुर गुरुङले जानकारी दिनुभयो ।

‘मेरो घरमा सधै जाँड रक्सी उत्पादनवाट केही आम्दानी हुने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले आफनैवारीमा उत्पादन गरेको तरकारीवाट घर खर्च चलेको छ ।’
शक्तिखोर गाविसका निर्वतमान अध्यक्ष गोपी श्रेष्ठले गैरीवारी गाउँको सबैले अनुसरण गर्नुपर्ने बताउदै आफनै भिरपाखा र गरामा लगाएको खेतीवाट मनग्य आम्दानी गर्न सकिने उदाहरण गैरीवारीका वासिन्दाले देखाएको बताउनुभयो ।
















प्रतिक्रिया