काठमाडौं, ५ असार । चुनाव बहिष्कारको घोषणासहित आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टीका स्थानीय नेता कार्यकर्ता स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा लागेपछि शीर्ष नेताहरु चिन्तित बनेका छन् । यतिमात्रै होइन् पार्टीका केन्द्रीय कोषाध्यक्ष नै एमालेमा प्रवेश गरेपछि शीर्ष नेताहरु आत्तिएका पनि छन् ।
आइतबार (हिजो) सम्पन्न उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा धेरै ठाउँमा राजपाका स्थानीय नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनताले आन्दोलन भन्दा पनि चुनाव चाहेकाले आफूहरु जनभावनालाई सम्मान गर्दै चुनावको तयारीमा लागेको कुरा उनीहरुले उम्मेदवारी दर्ताका क्रममा भनेका थिए । यसरी पार्टीको केन्द्रीय नेतृत्वको नीति तथा कार्यक्रमलाई लत्याउँदै स्थानीय नेता कार्यकर्ता चुनावको तयारीमा लागेपछि राजपा संकटमा नै परेको छ ।
यसक्रममा राजपाका केन्द्रीय नेता मनिष सुमनले पार्टीविरुद्ध भइरहेका पछिल्ला गतिविधिबारे प्रतिक्रिया दिएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी हितविपरित जाने जो कोहीलाई पनि कारवाही गरिने बताए ।
हिजो सम्पन्न उम्मेद्ववारी मनोनयनमा राजपाका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने विषयमा चेतावनी दिँदै भने– ‘तिनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं ।’
‘एक दुई जनाले पार्टी छाड्दैमा केही फरक पर्दैन्’
त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्पणी गर्दै भने– ‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्यो ।’ उनले एकाध दुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने, ‘अल बिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए ।’
असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत चेतावनी दिँदै उनले अगाडि भने– ‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं ।’
सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए ।











प्रतिक्रिया