
– सरगम भट्टराई
भूकम्प पीडितलाई दुई बर्षसम्म पुनर्स्थापना गर्न नसक्ने निकम्मा सरकारले भाला रोपी रोपी प्रहरी र बच्चा मार्ने अपराधीको नाइकेलाई पुरस्कृत गर्ने यो कस्तो नालायकीपन हो ?
जब म सानो थिएँ, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य धेरै राजनैतिक दलका नेताहरुका संघर्षशील जीवनको बारेमा पढ्न सुन्न पाउँदा यस्तो लाग्थ्यो- देशले देउता जस्ता जिउँदा सपूतहरु पाएको छ, यिनीहरुले बाटो बिराउने छैनन्, केही बर्षमै देशको भविष्य उज्वल हुनेछ, स्वतन्त्रताको झुल्कोमा समृद्दिको बिहानीको आगमन हुनेछ, अब जनताका दिन उदाउनेछन् आदि आदि सोच्दा सोच्दै मन फुरुंग हुन्थ्यो।
तर बिडम्वना ! त्यो उषा त कहिल्यै आएन, त्यो दिनकै आशामा हाम्रा हजुरबाहरु अभाव र अन्यायबीच त्यो दिन कुर्दाकुर्दै अस्ताउनु भयो, बुवाहरु ती दिनको कल्पना गरेरै बुढो हुनुभयो र हामी हिजोका बालकहरु पनि तिलचामले भैसके। दिनदिनै भ्रष्टाचार, कालोबजार, बन्द हड़ताल देख्दा छोरा छोरीहरु सोध्छन् – बाबा नयाँ नेपाल भनेको त झन् पूरानो नेपाल भन्दा पनि नराम्रो हुँदैछ त ?
म अलिअलि जान्ने भएदेखि निरन्तर राजनैतिक घटनाहरु हेरिरहेको छु । तर अचेल झन् झन् नजान्ने भएको छु, साना छोराछोरीहरुलाई यो बिषाक्त राजनीति र छलछामको बारेमा के बताएर मनोवैज्ञानिक असर किन पार्नु र ? नेपाली जनताले भोगेको नीयति नै यस्तो भो कि कतिखेर राजनीतिमा के हुन्छ भन्ने कुरा आमजनताले अनुमान गर्न सक्दैनन्, अझ भनौँ भने शिर्ष दल र सरकारी दलकै नेताहरुलाई नै थाहा छैन्। किनकी अचेल जताततै चर्चा हुन थालेको छस् सत्ताको साँचो अन्तै छ, रिमोट कन्ट्रोल अन्तै छ। हाम्रा नेताहरु बिशेष गरी भारतद्वारा निर्देशित छन्।
प्रचण्ड देउवाको गठबन्धनले स्थानीय चुनावको घोषणा गरेर एउटा कठिन राजनीतिलाई सही ठाउँमा त हिँडाउने काम त गरे, तर एउटा प्रहरी प्रमुखको लागि ज्यान फालेर लाग्ने र एउटी कर्तब्यपथमा हिँडेकी तत्कालीन प्रधानन्यायाधीश शुशिला कार्कीमाथि महाअभियोग लगाउने जस्तो अक्षम्य हर्कत गर्दा लागेको दाग मेटाउन देउवाले ठूलो परिक्षाको पास गर्नुपर्नेछ, जुन परिक्षामा पास हुने उनको कुनै संकेत छैन।
देउवाजी चौँथोपटक प्रधानमन्त्री भए, तीनपटकसम्मका असफल प्रधानमन्त्री । कहिले राजाले अक्षम भन्ने, कहिले आफ्नै पार्टीले अक्षम मान्ने। देशलाई युद्दको भुमरीमा होमेको आरोप पनि देउवालाई नै छ, देशका नदी नाला बेचेको आरोप पनि यिनैलाई छ, जनताले पत्याएको तत्कालीन नेपाली कांग्रेस पार्टीलाई फुटाएर दुई नम्बर पार्टी बनाएको आरोप पनि यिनैलाई छ। अर्थात चलनचल्तीको भाषामा भन्ने हो भने एउटा कठिन राजनैतिक इतिहास भएका मान्छे देउवालाई कलंकको साझेदारको रुपमा चिया पसलदेखि चौतारोसम्म आलोचना गरिँदैछ। यद्दपि सत्ता र शक्तिको केन्द्रमा यिनै देउवा नै छन्।
तत्कालीन अख्तियार प्रमुख लोकमानलाई न्यायिक निर्णयले रसातलमा पुर्याएकी, धेरै भ्रष्टाचारका मुद्दाहरुलाई फटाफट किनारा लगाउन विशेष सक्रियता देखाएकी, स्वच्छ छबिकी र निडर तत्कालिन प्रधानन्यायाधीश कार्कीलाई नै महाभियोग लगाउनचाहिँ कांग्रेस सभापति देउवा नै विशेष रूपमा सक्रिय भएर गत १७ वैशाखमा संसद्मा दर्ता भएको प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावलाई २२ वैशाखमा न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोगलाई पहिलो दृष्टिमै गलत भन्दै प्रधानन्यायाधीश कार्कीको निलम्बन फुकुवा गर्ने फैसला गर्दा देउवा दाहालको पहिलो गासमै ढुंगा लागेको घटना त सायदै बिर्सन सकिएला। शुशिला कार्कीबिरुद्दको महाअभियोग प्रस्ताव अहिले फिर्ता भएपनि जनताले देउवालाई गरेको अविश्वास फिर्ता गरेका छैनन् ।
भन्छन् – प्रेम र राजनीतिमा क्षमा जायज हुन्छ। जे जस्तो भए पनि यसपटक देउवाले आफ्नो पुरानो पाप पखाल्न सक्थे, प्रचण्डले इमान्दारिता साथ उनलाई सुम्पेको कुर्सीको ईज्जत राख्ने समय थियो, देशलाई संबिधानवादको बाटोमा हिँडाउने अवसर थियो, समृद्दिको मार्गमा हिँडाउने अवसर थियो, तर प्रचण्डले एकचरणको स्थानीय चुनाव गरे लगत्तै देउवालाई प्रधानमन्त्री बन्ने झोंक जागिहाल्यो, केही हप्ता पनि धैर्य गर्ने सामर्थ्य त्यागको इतिहास भएका देउवाले फेरि पनि गर्न सकेनन्। स्थानीय चुनावको नतिजा आउनु कहाँ छ कहाँ सत्ता स्वार्थले प्रधानमन्त्री फेरिएको नरमाईलो दृश्य जनताले टुलुटुलु हेरिरहेकै थिए, नेपाली जनता वास्तवमै धैर्यवान छन्।
प्रधानमन्त्री भएको यतिका दिनसम्म पनि देउवाले कुनै एउटा गतिलो काम त गरेकै थिएनन् नै, अझ एकाएक दुई नम्बर प्रदेशमा चुनाव सारेर असोज २ गते गर्ने भन्ने निर्णयले त यस्तो लागिरहेको छ कि देउवाको चुनाव गराउने मनसाय नै छैन, आन्दोलनकारी दल राजपाको पनि चुनावमा जाने रुचि छैन। पछिल्लो समय चुनाव सार्ने कुरामा आफ्नो असहमति रहेको कुराले संकेत गर्छ । देउवाले कसको ईन्ट्रेष्टमा चुनाव सार्ने कुरा गरेका होलान् ?
ज्यान मारे बापतको पुरस्कार पाइने कठै शेरतन्त्र ! कैलाली घटनाको मुख्य आरोपी रेशम चौधरीले भारतमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसंग निर्धक्क भेट्नु र अहिले देउवाकै पालामा उसलाई पुरस्कार स्वरुप पौने दुई करोड़ उपलब्ध गराउनु मृतकका आश्रित परिवारको गला रेट्नु हो कि होइन ?
अहिले त उर्जामा शाख आर्जन गरेका जनार्दनको पनि राम्रै मानमर्दन भएको छ- कैलाली घटनाका मुख्य आरोपी रेशम चौधरीलाई क्षतिपूर्ति बापत एक करोड चौहत्तर लाख दिने कुराले । ज्यान मारे बापतको पुरस्कार पाइने कठै शेरतन्त्र ! कैलाली घटनाको मुख्य आरोपी रेशम चौधरीले भारतमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसंग निर्धक्क भेट्नु र अहिले देउवाकै पालामा उसलाई पुरस्कार स्वरुप पौने दुई करोड़ उपलब्ध गराउनु मृतकका आश्रित परिवारको गला रेट्नु हो कि होइन ?
भूकम्प पीडितलाई दुई बर्षसम्म पुनर्स्थापना गर्न नसक्ने निकम्मा सरकारले भाला रोपी रोपी प्रहरी र बच्चा मार्ने अपराधीको नाइकेलाई पुरस्कृत गर्ने यो कस्तो नालायकीपन हो ?
यी सबै प्रहसनहरु देख्दा देउवालाई देख्दा धेरै मान्छेहरुलाई लागेको छस् पहिले त यिनलाई कलंकको टिका मात्र लागेको थियो, यसपालि त कलंकको हिलोमै डुब्ने लक्षण छ। राजपा र भाजपा हुँदै अपराधीहरु समेत रिझाउँदा देश डुब्छ भन्ने कुरा देउवाले नबुझेका होलान् कि बुझ पचाएका होलान् ?
सबैलाई थाहा छ, जति फूर्ति लगाएपनि राजपाको मधेशी जनतासँग पकड छैन, धेरैजसो चुनाव हारेका र सत्ताको रस चुसेर चढ्दै झर्दै गरेका ‘बाबु’हरुको बोलबाला छ। तिनीहरुका उठाउने उमेदवार समेत छैनन्। मधेशकै बिजय गच्छेदार र उपेन्द्र यादवले चुनाव हुनुपर्छ भनेकै छन्। सत्तरी बर्ष भन्दा लामो इतिहास भएका दलहरुले चुनाव हुनुपर्छ भनेका छन्, प्रमुख प्रतिपक्ष दलले चुनाव नसार भनेकै छ, अहिलेका उदीयमान बैकल्पिक शक्तिहरुले चुनाव हुनुपर्छ भनेका छन्। जति प्रयास गर्दा पनि सहमतिमा नआएर ढिपी मात्र गरिरहने राजपा एउटा जिम्मेवार राजनीतिक शक्ति हुँदै होइन भन्ने कुरा प्रष्ट हुँदा हुँदा पनि प्रधानमन्त्री चुन्न र फाल्न अनि भत्ता बुझ्न मात्र संसद भवन छिर्ने तर अरु बेला दशगजामा गएर बुर्कुशी मार्ने राजपा फेरि असोजमा पनि चुनावमा आउँछ भन्ने ग्यारेन्टी के छ ? ९७ प्रतिशत जनतालाई ३ प्रतिशतले बन्दी बनाउने यो लोकतन्त्र हो कि झोकतन्त्र हो ?
समग्र मधेस एक प्रदेश भन्ने नाराबाट शुरु भएको मधेशको परिभाषा खुम्चदै खुम्चदै प्रदेश नम्बर दुईमा सीमित भइरहेको छ, मधेशको ठूलो जनमत राजपाकै बिरुद्दमा छ। आफ्नो अस्तित्वरक्षाका लागि न्यूनतम राजनैतिक संस्कारसम्म देखाउन नसकेको राजपालाई अझ पुल्पुल्याएर माथि चढाउनु स्वयम् देउवा र देशका लागि पनि घातक हुने कुरा देउवाले कहिले बुझ्ने होलान् ?
माघ १९ ले कलंकको टिका लगाएका प्रधानमन्त्री देउवालाई यसपालि असार १५ कै हिलोले हिलाम्यै बनाउने त होइन ? हत्याको आरोपी रेशम चौधरीलाई पुरस्कृत गर्ने देउवा सरकारको यो निर्णयबिरुद्द अदालत जानुको बिकल्प छैन। जनताको लागि राजनीति गर्ने अरु दलले बेलैमा सोचून् !















प्रतिक्रिया