काठमाडौं, २ कात्तिक । प्रमुख राजनीतिक दलहरुबीच संघीयताका विभिन्न ढाँचामा छलफल चलिरहेका बेला कांग्रेस र एमालेका १८ सभासद्ले नवलपरासीदेखि सर्लाही सम्मलाई एउटा प्रदेश बनाउनु पर्ने र प्रादेशिक राजधानी वीरगञ्जमा राख्नुपर्नेमा जोड दिएका छन ।
उनीहरुले पूर्वी, पश्चिम र मध्य तराई गरी तीन प्रदेश बनाउन उपयुक्त हुने सुझावसमेत दिएका छन् ।
बारा, पर्सा र रौतहटका सभासद्हरुले शनिबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नवलपरासीदेखि सर्लाहीसम्मको क्षेत्रलाई एउटा प्रदेश बनाई त्यसको नाम नारायणी, भोजपुरा या सिम्रौनगौढ राख्नुपर्नेमा जोड दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुले यस्तो प्रदेशको राजधानी वीरगंज हुनुपर्नेमा पनि लबिङ थालेका छन । कांग्रेस नेता एवं वीरगजबाट निर्वाचित सभासद् सुरेन्द्र चौधरीले सवै कोणबाट वीरगंज प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताए ।
‘नवलपरासीदेखि सर्लाहीसम्मको भागलाई भोजपुरा, सिम्रौनगौढ र नारायणीमध्ये एक नाम दिएर प्रदेश बनाउनु पर्छ । बारा, पर्सा र रौतहटलाई मिथिलातिर मिसाउने चर्चा पनि आएको छ । यसो भयो भने हामी व्रिदोह गर्छौ,’ चौधरीले भने, ‘सघर्ष समिति बनीसकेको छ । भोजपुरालाई मिथिलातिर लगियो भने हामी सघर्षका कार्यक्रम सुरु गर्छौ ।’
वीरगञ्ज नेपालको आर्थिक राजधानी रहेको, ठूलो औद्योगिक क्षेत्र, आरक्षित जंगल, पाँच तारे होटललगायतका सुविधा र सेन्टर रहेकाले सवै कोणबाट प्रदेशको राजधानी राख्न उपयुक्त रहेको दावी सभासद्हरुले गरेका थिए ।















प्रतिक्रिया