ब्रम्हाण्डकै पप सम्राट माइकल ज्याक्सनले हामीलाई छोडेर गएको पनि पाँच बर्ष पूरा भै छैठौ बर्ष लागि सकेछ । समय कति छिटो बितेछ, अस्ति भर्खर जस्तो लाग्छ, २००९ आज २०१४ भै सकेछ ।
माइकल ज्याक्सनको थ्रिलर जब १९८२ मा निस्क्यो त्यो समयमा आफू धरानमा बिद्यार्थी जीवन व्यतित गरि रहेको अवस्थामा नारायण गोपाल, दिप श्रेष्ठ, ओम बिक्रम बिष्ट, तारा देवी, दिपक जंगमको नेपाली गीत अत्यन्तै सुन्ने गरिन्थ्यो । अंग्रेजीमा डायर स्ट्रेट, बिटल्सका गीत नबुझे पनि सुन्ने गरेको अवस्थामा थ्रिलरबाट मैले माइकल ज्याक्सनलाई चिन्ने मौका पाएँ ।
माइकल ज्याक्सनको गीत अति चलेको छ अरे भनि सुनेपछि घुम्न जाँदा पहिलोपटक उनको गीत सुनेँ । हास्यास्पद कुरा के भने गीत भन्दा धुन अति राम्रो लाग्यो र मन छोयो । गीत बुझिएन । कारण, अंग्रेजी गीत सुन्ने कम बानी ।
र, जीवनमा कहिले पनि अमेरिका आइनेछ भन्ने सपनामा पनि नभएकोले अमेरिका गइ माइकल ज्याक्सनको घर पुग्ने भन्ने कहिल्यै सोचिएको थिएन । तर सौभाग्यले पप सम्राट देहावसान हुनु भन्दा २ बर्ष अर्थात् २००७ को अन्त्यमा आफै अमेरिका आउने मौका पाएँ ।
यहाँ आएपछि कसो एक दिन त पप सम्राटको कार्यक्रम नहेरिदो रहेछ भन्ने सोचिरहेको अवस्थामा गत बर्ष क्यालिफोर्नियाको नेभरल्याण्डको उनकै घर घुमघाम गर्न अवसर मिल्यो । अमेरिकामा साधारण काम गरि जीवनयापन गर्नेले उनको कार्यक्रम हेर्न त मुस्किल पर्ने रहेछ किनभने अति महँगो पर्दो रहेछ ।
उनले १३ बर्ष अगाडि न्युयोर्कको म्याडिसन स्क्वायर गार्डनमा सेप्टेम्बर ७ र सेप्टेम्बर १० ,२००१ मा देखाएको प्रस्तुतिले मेरो मन प्रसन्न भएको थियो । बिलि जिन्स भन्ने गीतमा अहिले सम्मकै सबै भन्दा राम्रो प्रस्तुति गरेका छन् र चन्द्र चाल (मुन वाक) ऐतिहासिक नृत्य देखाइदिएका छन् जुन यस्तो हेर्न बिरलै पाइन्छ ।
२००१ को म्याडिसन स्क्वायर गार्डन न्युयोर्कमा भएको सांगीतिक कार्यक्रममा टिकटको मुल्य पाँच हजार डलरसम्ममा बिक्यो । र, केवल पांच घण्टामा अन्य सबै स्थान लुछाचुँडी भएको रहेछ । त्यो ठाउँमा उनले करिब साँढे ७ मिलियन डलर कमाए ।
गत सेप्टेम्बर २८ तारिख तेह्र बर्षपछि म्याडिसन स्क्वायर गार्डनमा माइकल ज्याक्सनले गीत गएको रंगशालामा भारतका लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यही ठाउँमा ऐतिहासिक भाषण दिदा रंगशाला भरिएको थियो ।
बिश्वमा रहेका सबैको हृदय र मनमा माइकल ज्याक्सन प्रति उच्च श्रद्धा छ भन्ने विश्वास लिएको छु, अपबादबाहेक । उनले थ्रिलरको बिक्रीको कीर्तिमान हालसम्म पनि कसैले तोड्न सकेको छैन । करिब २ दशमलव ५ मिलियन डलर बिकेको छ । यस्ता अद्भुत र विलक्षण प्रतिभा भएकालाई हेर्न नपाए पनि उनको घर हेर्न अमेरिकामा भएको हुनाले ठुलो अवसर मिल्यो ।
अमेरिकाको भर्जिनियामा आफू काममा भएको बेलामा रेडियोबाट गीत सुन्दै थिएँ । बीचमा रोकेर नै माइकल ज्याक्सनको मृत्यु भन्ने खबरले स्तब्ध भएँ । काममा भएता पनि अत्यन्तै कौतुलता ल्यायो । महिनौ दिनसम्म उनको समाचार हेरेको हेरै गर्न पाईयो ।
एक दिन अमेरिकाको एक अफ्रिकी अमेरिकन साथीले तिमीले उसको गीत कहिलेदेखि सुनेको भन्दा मैले १९८२ देखि भनिदिएँ । नेपाल जस्तो देशमा भएर पनि गीतप्रति हुरुक्क हुने रहेछ भनी माइकल ज्याक्सनको संकलित सीडी कोसेली ल्याएर दियो ।
जुन समयमा हामी माइकल ज्याक्सनको नेभर ल्याण्डको घर पुग्यौँ, घर भित्र प्रवेश निषेध गरिएकोले भित्र जाने नै कुरा भएन । भित्र जान नदिने रहेछ र त्यही मौकामा अगाडि र पछाडि गरी घुम्यौ ।
उनको मृत्युपछि २४ घण्टा नै समाचारबाट देखाइरहने ठाउँमा पुगियो र अलिक भाबुक हुन् मन लाग्यो । किनभने केवल ५० बर्षमा दैबले लगे । किनभने अमेरिकामा मानिस स्वास्थ्य सम्बन्धी सजक र संबेदनशिल हुन्छन ।
लागुपदार्थको सेवनबाट अल्प आयु मै कहिले नफर्कने गरि गए, उनी । उनको घर वरपर एक घण्टा जति बिताएपछि चलचित्र जगतको ख्याती प्राप्त अकाडेमी तथा अस्कर पुरस्कार जस्ता कार्यक्रम हुने डल्बी नाट्यकला भवन तथा हलिवुड बजार घुम्ने अवसर पाइयो ।
अत्यन्तै रमाइलोसंग दिनभर घुम्ने अवसर मिल्यो । बिभिन्न तस्बिरहरु पनि खिचाइयो । चलचित्र सम्बन्धि कलाकारहरु जस्तै गरी बिभिन्न पोसाकमा सजिएर मानिसहरु आउने रहेछन । तस्बीर खिचाउने पनि अवसर पाइने रहेछ । तर सक्कली हैन । गोजीमा खुद्र पैसा बोक्नुपर्ने रहेछ, नत्र चानचुने साटेर पनि बक्सिस दिनुपर्ने रहेछ ।
उनीहरुको कमाई खाने भाँडो नै पर्यटकसंग तस्बिर खिचाउने र पैसा झार्ने रहेछ । तर जबरजस्ती चाँहि गर्दैनन । खुद्रा नहुदा साट्न दिएको पैसा अलिक धेरै राखी लिए दिने पर्यो ।
नेपाल हुँदा नै कहिलेकाहीँ देखिने हलिउडको डाँडो भन्दा त नेपालको डाँडाकाँडा अति राम्रो छन् । हलिउड डाँडो सुख्खा लाग्यो । आफू पहाडमा जन्मेको मानिस खोलानाला देखेको मानिस, त्यति अनौठो लागेन । तर, मौसम १२ महिना नै राम्रो हुने रहेछ । त्यसैले पर्यटकको घुइँचो । हलिउडको भीरमा गई तस्बिर खिचाउँदा पूर्व धरानदेखि माथिको डाँडो भेडेटारको सम्झना ल्याइदियो ।
फरक यति छ ,बिश्वकै धनी राष्ट्र अमेरिकाको क्यालिफोर्नियाको हलिउड बिश्वकै चर्चित चलचित्र उद्योग भएको कारण अति बिकसित र खर्च गरी बनाइएको छ । यही वरपर पप सम्राट माइकल ज्याक्सनको घर हुनु र त्यै स्थानमा घुम्न पाउनु मेरो लागि सौभाग्य हुन गयो ।
जे भएता पनि सानोमा रहेको एउटा सपना पूरा भएको छ । उनीलाई हेर्न नसके पनि घर हेरी चित्त बुझेको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आफ्नो बसोबास र झन्डै ६ घण्टा को हवाई यात्राद्वारा माइकल ज्याक्सनको घर हेर्न पाउनु यो भन्दा ठूलो मेरा लागि केही हुन सक्दैन । म आफूलाई सौभाग्यशाली ठान्छु ।


















प्रतिक्रिया