२९ आश्विन २०८३, बिहिबार

क्यानडामा रहेका नेपालीबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि बिचल्लीमा परेका भक्तपुर चाँगुनारायण गाविस– ७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार)का तीन बालबालिकालाई क्यानडामा रहेका नेपालीले सहयोग गरेका छन् ।

गत भदौ २६ गते सम्प्रेषित समाचारबाट उनीहरुको अवस्था थाहा पाएपछि क्यानडामा बसेका रुपन्देहीका ईश्वर थापाले त्यहाँ रहेका नेपालीबाट रकम सङ्कलन गरेर पठाएका हुन् ।

थापाले रुपन्देही घर भई सानेपा बस्दै आएका विजयसिंह थापामार्फत पठाएको रु ५२ हजार २६५ बिहीबार मिजारकै घरमा पुगेर विजयले सञ्चारकर्मी तथा स्थानीय समाजसेवीको रोहवरमा परिवारलाई रकम हस्तान्तरण गर्नुभयो ।

रोजगारीका लागि जुत्ता सिलाउने काममा साउदी अरब गएका ४० वर्षीय रामकृष्ण तीन महिना अरबमै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि ती बालबालिकाको बिचल्ली भएको हो ।

गत वैशाख १६ गते साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि घरमा बाबु कुरेर बसिरहनु परेको जेठी छोरी सविताले बताइन् ।

‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरूसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या पर्‍यो, हामी त बिचल्लीमा पो पर्‍यौँ”—आँखाभरि आँसु पार्दै सविताले भनिन् ।

अस्पतालमा उपचार गर्दा लागेको तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका बुबा ६६ वर्षीय चतुरे सार्कीले अहिले घरमा दैनिक रु एक हजार खर्च हुने गरे पनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताउनुभयो ।

समाचार सार्वजनिक भएपछि एक विदेशी नागरिकले ४५ हजार खातामा जम्मा गरिदिएको, बालबालिकालाई लुगा किन्न घरमै गएर सात हजार दिएको, विभिन्न निकायबाट ६१ हजार सहयोग भएको, गाउँबाट करिब २५ हजार संकलन भएको, क्यानडामा बसेका नेपालीबाट ५२ हजार २६५ गरी हालसम्म करिब एक लाख ८३ हजार सहयोग सङ्कलन भएको बिरामीका बाबु चतुरेले बताउनुभयो । तीन बालबालिकालाई एक वर्षसम्म पुग्ने कापी, कलम र एक जोर लुगा बालविकास समाजले सहयोग गरेको छ ।

हाल जेठी छोरी सवितासँगै १२ वर्षका छोरा सरोज, ८ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।

रुँदै सविताले भनिन्—“बुबाको होस छैन, कसैलाई चिन्नुहुन्न, सुतेको सुतै हो, दालको रस, दूध नाकमा राखेको पाइपबाट खुवाउने गरेका छौं, दिसा, पिसाबका लागि पाइप जोडिएको छ, हाम्रो त साह्रै बिजोग भयो ।”

चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँबाट केही चन्दा उठाएर सहयोग गरेको र अन्य निकायबाट सहयोगको अपेक्षा गर्दै स्थानीयले नै बालबालिकाको नाममा नेपाल बैंक लि.भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिएको बताउनुभयो । रासस