
काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री निर्वाचनमा आफूलाई सहयोग गरेको राष्ट्रिय जनता पार्टी नेपालले मधेशमा तेस्रो चरणमा चुनाव गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा झस्किएका छन् ।
राजपा पनि चुनावमा आउनेमा विश्वस्त रहेका देउवा फरक खाले प्रस्ताव आएपछि तनावमा परेका हुन् । प्रधानमन्त्री देउवा, सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूबीचको शनिबारको वार्ता बिफल भएपछि देउवाले पुनः आफू निकटका नेताहरुलाई गोप्य छलफलका लागि पठाएका थिए । तर, राजपाका नेताहरुले चुनावमा भाग लिने तर आफ्नो शर्त मान्नुपर्ने भन्दै फरक खाले प्रस्ताव ल्याए । जुन प्रस्ताव सुनेर देउवा झनै बेचैन भएका छन् । देउवाको दूतको रुपमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधि राजपाका नेताहरुसँग निरन्तर छलफलमा छन् । उनले राजपाका नेताहरुलाई एक्लाएक्लै तथा सामूहिक रुपमा समेत भेटिरहेका छन् । तर, जसो गरे पनि उनीहरु पछाडि हट्ने संकेत देखिएको छैन् । बरु एकपछि अर्को गर्दे फरक फरक प्रस्ताव ल्याइरहेका छन् ।
पछिल्लोपटक राजपाका नेताहरुले २ र ५ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, राजपाको यो प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरिदिएका छन् । हरेक बैठक र छलफलमा राजपाका नेताहरुले फरक फरक प्रस्ताव ल्याउने गरेको भन्दै देउवाले त्यसको रहस्यको समेत खोजी गरिरहेका छन् ।
राजपा चुनावमा आउने विश्वासमा नै यसअघि काँग्रेस-माओवादी गठबन्धन सरकारले पटकपटक सारेर चुनावको मिति असार १४ गते पुर्याएको थियो । तर, दोस्रो चरणको चुनावमा राजपाले भाग लिने सम्भावना अत्यन्तै न्यून बनेको छ । आफ्नो सहभागिताबिना चुनाव गरे त्यसको बैधानिकतामाथि प्रश्न उठ्ने उनीहरुले दाबी समेत गर्दै आएका छन् ।
उपेन्द्र यादव र विजय गच्छदारको पार्टी दोस्रो चरणको चुनावमा होमिसकेको छ । तर, मधेशमा एकाखाले प्रभाव राखेको राजपा कुनै पनि हालतमा चुनावमा सहभागी नहुने अडान लिनुलाई थप रहस्यका रुपमा लिइएको छ । रहस्यको पर्दा खुल्न केही समय कुनुपर्नेछ ।











प्रतिक्रिया