काठमाडौँ, ३० असोज । नयाँ बन्ने संविधानमा पहिचानसहितको सङ्घीयता हुनुपर्ने माग गर्दै आदिवासी जनजातिले नयाँ मोर्चा गठन गरेका छन् ।
आदिवासी जनजातिको बिहीबार बसेको भेलाले ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल’ नामक मोर्चा गठन गरेको हो । अधिकारकर्मी पद्मरत्न तुलाधरलाई सर्वसम्मत रूपमा सो मोर्चाको संयोजक चयन गरी ४४ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरिएको छ ।
मोर्चामा आदिवासी जनजातिका विभिन्न सङ्गठन, राजनीतिक दलका प्रतिनिधि, आदिवासी जनजाति अधिकारकर्मी तथा महिला, युवा, विद्यार्थी आबद्ध छन् ।
परिषद्का सदस्यमा नेकपा (एमाले) का सचिव पृथ्वीसुब्बा गुरुङ, एकीकृत नेकपा (माओवादी) का सचिव वर्षमान पुन, नेपाली काँग्रेसका नेता इन्द्रबहादुर राई, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत राजनीतिक दलका प्रतिनिधि छन् ।
त्यस्तै अधिकारकर्मी मल्ल के सुन्दर, आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत छन् ।
संयोजक तुलाधरले संविधानमा पहिचानसहितको सङ्घीयताका लागि कुनै पनि प्रकारको सम्झौता नगरिने र देशव्यापी रूपमा आन्दोलन गरिने बताउनुभयो ।
















प्रतिक्रिया