
काठमाडौं, २७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र उम्मेदवार चयनको विषयमा दिन प्रतिदिन विवाद बढ्दै गएको छ ।
विशेष गरेर पाँच नं. प्रदेशका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवारका आकंक्षी धेरै भएका कारण निर्णय गर्न कांग्रेस शीर्ष नेतृत्वलाई कठिनाइ भएको हो । पाँच नम्बर प्रदेशमा कांग्रेसभित्र अलिक धेरै विवाद रहेको स्रोतले जनाएको छ ।
एक र सात नं. प्रदेशमा पनि अधिकांश स्थानमा विवाद रहेको स्थानीय नेताहरूको भनाइ छ । विवाद भएकै कारण इटहरीमा टिकट नपाएका कांग्रेसी नेताहरूले सडकमै उत्रिएर विरोध प्रदर्शन गरिसकेका छन् । अन्य स्थानहरूको अवस्था पनि त्यस्तै छ ।
एमाले, माओवादी केन्द्रसहितका दलहरूले उम्मेदवारहरूको टुंगो लगाइ सकेका छन् । तर, कांग्रेसले समयभित्र उम्मेदवार चयन गर्न नसक्दा जिल्लाका नेता तथा कार्यकर्ताहरूमा निरासा छाउन थालेको बताइन्छ ।
टिकट पाउनकै लागि अधिकांश मेयर र उपमेयरका आकांक्षीहरू राजधानीमा केन्द्रित भएका छन् । उनीहरू कांग्रेस शीर्ष नेतृत्वले कहिले टिकट दिन्छ र प्रचार प्रसारमा जाँउलाभन्दै कुरेर बसेका छन् ।
टिकटका लागि लविङ गर्न उम्मेदवारहरूका आकांक्षीहरू बिहान–बेलुका नेताहरूको घरघरमा पुग्ने गरेका छन् । तर, कांग्रेस नेतृत्वले टिकटका लागि कुनै निर्णय गर्न नसकेको आरोप उम्मेदवारका आकांक्षीहरूले लगाउने गरेका छन् ।











प्रतिक्रिया