काठमाडौं, २७ जेठ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।
डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाश पाएकै दिन सशस्त्र मुख्यालयले बिहीबार पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
बलको प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा बढुवा समितिका सदस्य सचिव पुष्पराम केसीद्वारा हस्ताक्षरित सूचनामा सम्भाव्य उम्मेद्वारहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहितको मूल्याकंन फारम भरेर पेश गर्न भनिएको छ । जसका लागि तीन दिनको समय दिइएको छ । यसमा शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइएको छ ।
एसएसपीमा वरिष्ठतामा प्राविधिक पृष्ठभूमिका इन्जिनियर प्रजाभक्त श्रेष्ठ, सञ्चारका राजु सुवाल, सञ्जयविक्रम राणा, चीरञ्जीवी अधिकारी, प्रविण श्रेष्ठ, नगेन्द्र थापा, कविन्द्रमान श्रेष्ठ अगाडि छन् । राणा, अधिकारी, थापा र कविन्द्रमान श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भएर आएका हुन् ।
वरिष्ठतामा तेस्रो स्थानमा रहे पनि राणा बढुवामा पर्ने छैनन् । राणाको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्रको मात्र रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ मा तालिम, ज्येष्ठताभन्दा शैक्षिक योग्यतालाई बढी प्राथमिकता दिएका कारण राणा बढुवामा नपर्ने भएका हुन् ।
राणाले मध्यरातमा सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया थालिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले सशस्त्र प्रहरी नियमावली २०७२ नेपाली सेनाबाट आएकाको पक्षमा नरहेको भन्दै आफूहरुलाई नियोजितरुपमा पछाडि पार्ने खेल भएको बताए ।
सशस्त्रमा सशस्त्र प्रहरी नियमावली २०७२ विशेषगरी नेपाली सेनाबाट स्थानान्तरण भएर आएकाको हकमा प्रतिकुल भएको भन्दै संशोधन हुनुपर्ने माग लामो समयदेखि भइरहेको छ ।
वरिष्ठतामा एक नम्बरमा रहेका इन्जिनियर श्रेष्ठ आफ्नो जिम्मेवारीप्रति खासै गम्भीर मानिदैनन् । उनमा तुरुन्तै निर्णय लिने क्षमता पनि देखिँदैन । यूएन मिसनमा जाँदा काम गर्न नसकेर उनी बीचैमा फर्किएका थिए ।












प्रतिक्रिया