अन्जली रम्तेल
काठमाडौँ, ३० असोज । तेस्रोलिंगी भक्ति शाहलाई नेपाली सेनामा जागिर खाँदासम्म आफू कहिले कामबाट निकालिने हो भन्ने डरले सताइरहन्थ्यो ।
आफ्नो पहिचानका बारेमा कसैलाई जानकारी नदिए पनि व्यवहारका कारण अरुले थाहा पाउँछन् कि भन्ने उनलाई लागिरहन्थ्यो । नभन्दै एकदिन भित्रकै एकजना महिला सहकर्मीका कारण उनको पहिचान खुल्यो र सेनाको जागिरबाट हात धुनुपर्यो ।
उनी भन्छन्, “म महिलाका रुपमा सेनामा छिरेको थिएँ, त्यहाँ अर्की एक महिला मप्रति आकर्षित भइन्, उनको प्रस्ताव मैले नमानेपछि उनले मेरो पहिचान खुलाइदिइन् । त्यतिबेला म अर्कै महिलासँग प्रेमसम्बन्धमा थिएँ ।” मैले तेस्रोलिंगी भएकै कारण जागिरबाट निकालिनुपर्यो ।
आफूलाई तेस्रोलिंगीका रुपमा परिचित गराउने श्यामकली अहिले पनि कतिबेला कामबाट निकालिने हो भनेर चिन्तित छिन् । आफूले आफ्नो परिचय नलुकाएकै कारण विभिन्न ठाउँमा रोजगारी पाए पनि त्यसले स्थायित्व लिन नसकेको उनको अनुभव छ ।
“सुरुमा मैले एउटा पसलमा काम गरेँ, त्यहाँ पनि मैले मेरो परिचयलाई लुकाउने प्रयास गरिनँ, मैले खुलेर म तेस्रोलिङ्गी भनेकी थिएँ,” उनले भनिन्, “तर मेरा कारणले नै त्यहाँको व्यापार घाटामा गएको भन्दै केही समयपछि नै मलाई कामबाट हटाइयो ।”
अधिकांश तेस्रोलिंगी साथीले नाचगानकै काम गरिरहेकाले आफूले पनि यसैलाई निरन्तरता दिने सोच बनाएको उनले बताइन् । अहिले काठमाडौँकै एउटा दोहोरी साँझमा गीत गाउने काम गर्न थालेको बताउने श्यामकलीले भनिन् – तर त्यहाँ महिला र पुरुषलाई झैँ हामीलाई राम्रो व्यवहार गरिन्न, यहाँबाट पनि कहिले निकालिने हो भन्न सकिन्न । कुनै पनि कामलाई हामीले धेरै समयसम्म निरन्तरता दिन सक्दैनौँ, यसको मुख्य कारण भनेकै हाम्रो पहिचान हो ।
उनको स्वर असाध्यै सुमधुर भए पनि उनले आफ्नो पहिचानकै कारण पाएका कामहरु गुमाउनुपरेको छ ।
अर्की तेस्रोलिंगी सिर्जु थापाको समस्या उस्तै छ । विसं २०६१ मा रेडियो नेपालमा ‘भ्वाइस पास’ गरिसकेको भए पनि उनले आफ्नो पहिचानकै कारण कहीँ पनि काम पाउन सकिनन् ।
साथीहरुकै कारण उनले पनि दोहोरीमा काम गर्न थालेकी थिइन् तर तेस्रोलिंगी भन्ने थाहा पाउनेबित्तिकै मालिकले निकालिदिएको उनले बताइन् ।
“हामीले त अरुले झैँ खुलेर दसैँ तिहार पनि मनाउन सक्दैनौँ,” उनले गुनासो गरिन् – तेस्रोलिंगी भनेर थाहा पाउनेबित्तिकै कोठाबाट समेत निकालिनुपर्यो, अब अर्को कोठा पनि चर्को भाडा तिर्नुपर्ने बाध्यता छ, काम केही छैन, कसरी गुजारा गर्नु ?
आफ्नै घर हुँदाहुँदै पनि तेस्रोलिंगी सोफीलाई बाहिर बसेरै सङ्घर्ष गर्नुपर्यो । परिवारले तेस्रोलिंगी भएको थाहा पाउनेबित्तिकै वास्ता गर्न छाडिदिएँ । त्यसपछि कहाँ जाने र कसरी गुजारा गर्ने भन्ने अर्को चिन्ता उनमा थपियो । कयौं ठाउँमा कामका लागि जाँदा पनि पहिचानकै कारण नराखिको र राखिएको ठाउँमा पनि निकालिएको उनको दुखेसो छ ।
“त्यसपछि केही सीप नलागेर मैले यौन व्यवसायलाई नै आफ्नो जीविकोपार्जनको माध्यम बनाएँ,” उनले भनिन् – “यो व्यवसायमा पनि हामी असाध्यै शोषणमा पर्ने गरेका छौँ ।”
निलहीरा समाजसँग आबद्ध भएपछि भने अहिले उनी ब्युटिसियन तालिम लिएर आफैँ व्यवसाय गरेर बसेकी छिन् । उनी भन्छिन्– “तेस्रोलिंगी हुनु हाम्रो कमजोरी हो भन्ने सोचलाई परिवर्तन गर्नु आवश्यक छ, अब यसलाई शक्तिमा रुपान्तरण गर्नुपर्छ ।”

अधिकारकर्मी तथा तेस्रोलिंगी भूमिका श्रेष्ठको अनुभव पनि उनीहरुको भन्दा फरक छैन । समाजले तेस्रोलिंगीलाई अझै पनि पूर्णरुपमा स्वीकार्न नसकेको भन्दै उनी भन्छिन्– “छक्का, हिजडाजस्ता शब्दको प्रयोग गरिन्छ हामीमाथि, यसले हामीलाई आत्मग्लानी गराउँछ ।”
तेस्रोलिंगी / समलिंगीको अधिकारका लागि स्थापित निलहीरा समाजको पछिल्लो तथ्याङ्कअनुसार नेपालभर साढे पाँच लाखको सङ्ख्यामा तेस्रोलिंगी / समलिंगी रहेका छन् । समाजले ७५० जनालाई प्रत्यक्ष रोजगारी दिलाए पनि अधिकांश तेस्रोलिंगी / समलिंगी यौन व्यवसायमै लागिरहेको बताइन्छ । रासस
















प्रतिक्रिया