२८ आश्विन २०८३, बुधबार

काकाकुल राजधानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniकाठमाडौं । दुई वर्षअघि जयबागेश्वरी मन्दिर नजिकैका दुइटा ढुंगेधारामा प्रशस्त पानी आउँथ्यो । स्थानीय बासिन्दा त्यसकै भरमा थिए । अहिले दुइटै धारा सुके । उनीहरू खानेपानीको ट्यांकरको पर्खाइमा हुन्छन् । ‘म सधैं ढुंगेधाराको पानी प्रयोग गर्थें । एक्कासि सुकेर गए । यी धारा देख्दा दुःख लाग्छ,’ सत्तरी वर्षीया मञ्जु पौडेलले भनिन् ।

थलीका मनोज श्रेष्ठ पनि घर नजिकैको इनारको पानी प्रयोग गर्दथे । तर उक्त इनार अचानक सुकेपछि उनी दुःखी छन् । ‘घर वरिपरि प्रशस्त इनार र ढुंगेधारा थिए,’ उनले भने, ‘कसरी सुके अचानक रु ती धारा र इनार नजिक जाँदा पानी भरेको याद आउँछ, आफैंलाई अचम्म लाग्छ ।’

एक प्रतिवेदनअनुसार उपत्यकाका करिब ६७ प्रतिशत ढुंगेधारा र करिब ३० प्रतिशत इनारको पानी सुकिसकेका छन् । अहिले २ सय ३३ वटा यस्ता धारामा पानी आउँछ, त्यो पनि पहिलेको भन्दा एकदम कम । स्यालो ट्युबवेल र डिप ट्युबवेलबाट भूमिगत पानीको अत्यधिक दोहनका कारण सार्वजनिक धारा सुक्दै गएको विज्ञहरूको भनाइ छ । व्यावसायिक भवन, विद्यालय, बैंक, होटलले ‘डिप बोरिङ मार्फत पानी तान्ने क्रम बढेपछि परम्परागत स्रोत सुक्दै गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका हाल केयूकेएलका सञ्चालक सदस्य रुद्र गौतमले बताए । बोर्डले यसरी पानी तान्नेलाई कानुनी दायरामा ल्याउनेसमेत उनले बताए ।

भूमिगत पानी र ढुंगेधारामा आउने पानीबीच प्रत्यक्ष सम्बन्ध नभए पनि केही न केही रूपमा असर पार्ने सञ्चालक गौतमले बताए । जथाभावी पानीको दोहन नै ढुंगेधारा र इनार सुक्नुको प्रमुख कारण भएको उनले उल्लेख गरे । ०४७ मा गरिएको एक अध्ययनले उपत्यकाबाट दैनिक डेढ करोड लिटर पानी दोहन गर्न सकिने देखाएको थियो । त्यही वर्ष गरिएको अर्को अध्ययनले दैनिक ४ करोड लिटरसम्म पानी निकाल्न सकिने जनाएको थियो । तर ०५९ मा उपत्यकाबाट दैनिक ६ करोड र ०६७ मा ७ करोड लिटर पानी दोहन भएको छ ।

केयूकेएलका अनुसार उपत्यकामा भएका ७ सय ट्युबवेलमा ५ सयभन्दा बढीले प्रत्यक्ष रूपमा पानी दोहन गरेका छन् । करिब सय कम्पनीबाट सञ्चालित ३ सय पानी ट्यांकरले जथाभावी रूपमा भूमिगत पानी दोहन गरी बेच्ने गरेका छन् । यसले गर्दा कतिपय स्थानमा २ दशमलव ५ र औसतमा १ मिटरका दरले भूमिगत पानीको सतह घटै गइरहेको छ ।

उपत्यकामा भूमिगत पानी करिब १५ अर्ब घनमिटर छ । त्यसमध्ये करिब ३ अर्ब घनमिटर मात्र दोहन गर्न सकिने अनुमान छ । बढी परिमाणमा दोहन हुने क्रम जारी रहे जलभण्डार जुनसुकै बेला रित्तिन सक्ने खतरा रहेको विज्ञहरूको भनाइ छ । कान्तिपुर दैनिकबाट