१ कार्तिक २०८३, शनिबार

जुवाडेको गाडीमा इन्स्पेक्टरको मस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police

ईश्वरचन्द्र भट्टराई

मोरङ, ३० असोज । प्रहरी नै कर्तव्यबाट च्युत भएपछि नागरिकले के अपेक्षा गर्ने ? पूर्वी मोरङको उर्लाबारीमा यस्तै सङ्गति नमिलेको घटना सार्वजनिक भएको छ । सामान्य कुराकानीमा समेत आफूलाई ‘इमान्दार राष्ट्रसेवक’का रूपमा प्रस्तुत गर्न पछि नपर्ने उर्लाबारीका प्रहरी प्रमुखले पटके अभियुक्तबाट प्राप्त ‘सुविधा’को उपभोग गर्दै आएको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज कार्कीले ‘बाह्रमासे जुवाडे’ का रूपमा बद्नामी कमाएका व्यक्तिको गाडीमा हुँइकिएर ‘जग हँसाएका’ हुन् । उनले ‘जुवाडे’का गाडी व्यक्तिगत काममा प्रयोग गर्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इन्स्पेक्टर कार्की उर्लाबारी–६ का अर्जुन तुम्रोकको राईनो जीप लिएर गत दशैंमा सपरिवार आफन्तको घर–घर पुगेका थिए । तुम्रोक तिनै व्यक्ति हुन्, जो पेशेवर जुवाडेका रूपमा कुख्यात छन् । पछिल्लो पटक गत भदौं १४ गते पथरीमा जुवा अखडाबाटै तुम्रोकसहित दर्जन बढी जुवाडे पक्राउ परेका थिए ।

तुम्रोक यसअघि पटक–पटक जुवा खेल्ने/खेलाउने गरेको आरोपमा प्रहरी कारवाहीमा पर्दै आएका व्यक्ति हुन् । उनको को १ च ४२५८ नम्बरको कालो रंगको राइनो जीप इन्सपेक्टर कार्कीले दशैं अवधिभर निजी काममा प्रयोग गरेको प्रहरी स्रोतले नै बताएको छ । आसन्न तिहारको जुवामा आफू लक्षित हुने हस्तक्षेपलाई रोक्ने उद्देश्यले तुम्रोकले इन्सपेक्टर कार्कीलाई गाडी दिएर प्रभावमा पार्न खोजेको स्रोतले बतायो ।

यस विषयमा जिज्ञासा राख्दा इन्स्पेक्टर कार्कीले गाडी प्रयोग गरेको स्वीकारेपनि उक्त गाडी तुम्रोकबाट आफूले नलिएको दाबी गरे । कार्कीले झोक्किँदै भने, ‘तुम्रोकलाई व्यक्तिगत रूपमा म चिन्दिन, जोसुकैको गाडी चढेपनि पत्रकारलाई के चासो ?’ सो राइनो जीप उर्लाबारीका एक मेनपावर सञ्चालकबाट आफूलाई उपलब्ध भएको उनको भनाइ थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि चासो व्यक्त हुने प्रश्नमा भने इन्स्पेक्टर कार्कीले कुनै प्रतिक्रिया दिएनन् ।

‘आफ्नो गाडी दिदाँ प्रहरीलाई अप्ठ्यारो हुन्छ भन्दै तुम्रोकले मसँग गाडी मागेको थियो’ तुम्रोकसँगै भदौं १४ गते पक्राउ परेका एक व्यक्तिले नाम नबताउने सर्तमा भने, ‘मैले गाडी नदिएपछि उसले (तुम्रोक) आफ्नै गाडी दिएछ ।’

गाडी उपलब्ध गराएको बारे सोध्दा तुम्रोकले पनि इन्स्पेक्टर कार्कीकै भाषामा प्रतिक्रिया दिँदै भने, ‘म मेरो गाडी जोसुकैलाई दिऊ, किन सोधीखोजी ?’ इन्स्पेक्टरले दसैंभरि गाडी प्रयोग गरेपनि तुम्रोकले भने दसैंमा एक दिनका लागि मात्र गाडी दिएको बताए ।

दशैंको पूर्वसन्ध्यामा मोरङका एसपी ठूले राईले दशैंतिहारलाई लक्षित गरी १८ वटा सुरक्षा योजना सार्वजनिक गरेका थिए । जसमा चाडपर्वको समयमा जुवा, तास, डाईसजस्ता गैरकानुनी खेलहरू खेल्नेलाई मात्र नभएर त्यस्ता व्यक्तिहरूको मतियार बन्नेलाई पनि कारबाही गर्ने उनले बताएका थिए । उर्लाबारी प्रहरीले पनि जुवाजन्य खेलविरूद्ध जनचेतनामूलक माईकिङ समेत गरेको थियो । जिप्रका मोरङले मातहतका प्रहरी कार्यालयमा कुनै पनि किसिमको ‘बडा भोज नगर्नु’ भनेर सर्कुलर पठाएपनि प्रनि कार्कीले गत दशैंको अष्टमिमा ‘तामसी भोज’को आयोजना गरेका थिए । काला व्यापारीका रूपमा स्थानीय स्तरमा बद्नाम व्यक्ति र उर्लाबारीमा ‘घण्टे लज’ चलाउँदै आएकाहरूबाट खसी र खाद्यान्न सहयोग मागी उनले भोज आयोजना गरेका हुन् । जिप्रका मोरङको सुरक्षा प्रतिबद्धतालाई ‘धोती लगाउँदै’ जुवाडेसँगै साँठगाँठ गर्ने कार्कीजस्ता प्रहरी अधिकृतलाई कस्तो कारवाही होला ? प्रतीक्षाकै विषय बनेको छ ।