१५ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपति, विप्लव, वर्षमानका गुरु माओवादीको विद्रोही उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । दोश्रो चरणको निर्वाचनमा पकड जमाउन विशेष योजना बनाइरहेको माओवादी केन्द्रको ‘आधार क्षेत्र’ मै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध एक केन्द्रीय सदस्यले गाउँपालिका अध्यक्ष उठ्ने घोषणा गरेका छन् ।

पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि असन्तुष्ट केन्द्रीय सदस्य कुलानन्द गिरीले त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

माओवादीमा लागेको धेरै समय भए पनि कतै ‘सेटलमेन्ट’ नगरेको आरोप लगाउँदै गिरीले त्रिवेणी गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी घोषणा गरेको बताए ।

‘मेरो क्षमता र त्यागलाई पार्टीले अवमूल्यन र अपमान गरेपछि बाध्य भएर मैले बागी उम्मेदवारी घोषणा गरेको हुँ’, पत्रकार भेटघाटमा गिरीले भने, ‘मैले निकै सोचेर निर्णय लिएको हुँ । म निर्णयबाट कहिल्यै पछि हट्दिन । मलाई पार्टीले मलेसियाको राजदूत बनाउन खोजेको सुनेको छु । तर अब म अघि बढिसकेको छु ।’

गाउँपालिका अध्यक्ष जितेर गाउँको विकासमा लाग्ने चहना आफ्नो रहेको गिरीले बताए । गिरीलाई माओवादी केन्द्रले उम्मेदवार नबनाएपछि स्थानीय कांग्रेस कार्यकर्ताले रुख चिन्ह लिएर अध्यक्षको उम्मेदवार बन्न आग्रह गरेका छन् ।

पहिले पनि पटकपटक मन्त्री भइसकेका हालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका सहपाठी गिरी शिक्षक हुँदा उपराष्ट्रपति नन्दबहादुर पुन, नेताहरु कुलप्रसाद केसी, वर्षमान पुन, नेत्रविक्रम चन्द विप्लवलगायतका गुरुसमेत हुन् ।