कावासोती, २९ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवलमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिकको मृत्यु भएको छ ।
प्युठानबाट मोटरसाइकलमा ललिलतपुरस्थित घरतर्फ जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको लु१ज २५७२ नम्बरको माइक्रोले ठक्कर दिँदा नेपाली सेनाको गोरखगणमा कार्यरत सिपाही रुपचन्द्र खड्काको बुधबार ज्यान गएको हो ।
दुर्घटनामा परी सख्त घाइते भएका खड्काको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब निरीक्षक रामचन्द्र बाँनियाले जानकारी दिनुभयो । मृतक खड्का ललितपुर इमाडोलका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार ललितपुर घर भई नेपाली सेनाको गोरखगणमा कार्यरत सिपाही लालकाजी लामा भने गम्भीर घाइते भएका छन् । उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने माइक्रो र चालकलाई सुनवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै गएराति कावासोतीको जङ्गलमा सडकमा घाइते अवस्थामा भेटिएका पिठौलीका अन्दाजी ५० वर्षीय डिल्लीराम आचार्यको उपचारको क्रममा मृत्यु भएको बानियाँले जानकारी दिनुभयो ।
निजलाई सवारीसाधनले ठक्कर दिएको प्रहरीलाई जानकारी आएपनि ठक्कर दिने कुनै पनि सवारीसाधन नभेटिएको उहाँले बताउनुभयो ।















प्रतिक्रिया