१ कार्तिक २०८३, आइतबार

सान टेबलटेनिसमा मणि र सोनुलाई स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । टाइम्स इन्टरनेसनल कलेजका मणिकुमार लामा र क्यापिटल कलेज अफ रिसर्च सेन्टर (सीसीआरसी) की सोनु थापा मगरले प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको अन्तिम दिन बिहीबार स्वर्ण जितेका छन् । कलेजतर्फ सिंगल्सको पुरुषमा मणि र महिलामा सोनु च्याम्पियन बनेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मणिले लिभरपुल इन्टरनेसनल कलेजका नारायण घिमिरेलाई ११–६, ११–८, ८–११ र ११–८ को सेटमा पराजित गरे । अर्को फाइनलमा सोनुले लिभरपुलकै सिक्का सुवाललाई ५–११, ११–८, ११–१३, ११–८ र ११–६ को सेटमा हराइन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको स्कुलतर्फ यु–१६ सिंगल्सको ब्वाइजमा एभीएमका सन्योग कपालीले आफ्नै स्कुलका सन्जिव गुरुङको चुनौती ११–६, ११–४ र ११–९ को सोझो सेटमा समाप्त पार्दै उपाधि जिते । सोही स्पर्धाको गल्र्समा प्रभातकी अन्जु सुवाल च्याम्पियन बनिन् । अन्जुले प्रभातकै मनीषा सुवाललाई ११–५, ११–७ र ११–७ को सीधा सेटमा पाखा लगाइन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सानका निर्देशक डा. प्रकाश प्रधान, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, सानकी खेल विज्ञ एवं प्रतियोगिता संयोजक रिता प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा स्कुलतर्फ १० र कलेजतर्फ ५ गरी १५ स्पर्धामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।