पारसको हरिविजोग । यो सामान्य मानिसका लागि असामान्य परिणति हो । धेरैलाई यो पारसको आफ्नो कारण मात्र लाग्न सक्छ, तर यथार्थमा त्यस्तो हैन, यसमा उनका बाबु ज्ञानेन्द्रको कमजोर अभिभावकीय दायित्वको पनि त्यत्तिकै भूमिका छ । यसमा पूर्वराजा या पूर्वयुवराजा भन्ने प्रश्न आफैँमा गौढ हो, मूलकुरा बाबु र छोराबीच हस्तान्तरण भएको या हुनुपर्ने संस्कारको हो । यस कोणबाट हेर्दा प्रश्न गर्नुपर्ने हुन्छ, खोइ कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?
अहिले हरेक मान्छेसँग सञ्चार माध्यम छ । त्यो आमसञ्चार माध्यम हो कि हैन, त्यो बेग्लै प्रश्न हो । तर, सामाजिक सञ्जालमार्फत् ऊ आफ्नो नेटवर्कमा भाइरल सिर्जना गर्न सक्छ । नेटवर्क अफ नेटवर्क अर्थात् इन्टरनेटमा प्रवेश गर्दा त्यसले भौगोलिक सीमाभन्दा पनि टाढा पुगेर भच्र्युअल तरङ्ग उत्पन्न गरी दिन्छ । त्यही भच्र्युअल तरङ्ग टक अफ द टाउन हुँदा माद्यामिक समाचार स्रोत बन्छ र त्यसले समाचारको अवतारमा आमसञ्चारमा सनसनिदार प्रवेश पाउने सम्भावना रहन्छ । पछिल्लो समय विकास भएको नागरिक पत्रकारिताको सुन्दर भने पनि कुरुप भने पनि खासा तस्बिर यही नै हो ।
प्राथमिक स्रोतमा सहज पहुँच नभएको र वर्ड अफ माउथमा विश्वास गर्ने समाजमा यसरी नै ठुला ठुला समाचार ब्रेक हुने गर्छन् । नेपाली समाज पनि योभन्दा भिन्न कोटीको छैन । आमसञ्चारका माध्यममा परिपक्वता नआइसकेको नेपालमा यही रीतले धेरैपटक समाचार फ्लास मात्र हैन, ब्रेक पनि भएका छन् । यतिबेला त्यही तौरतरिकाले पारस शाह समाचारको सुर्खीमा छन् ।
पारस शाह कुनैबेला नेपाल अधिराज्यका शाहज्यादा थिए । एउटा दुभाग्र्यले भाग्यको रूप लिदा उनी युवराजाधिराज भए । उनको भाग्य फेरि दुर्भाग्यले पखाली दियो, त्यसपछि उनी युवराजा त के शाहज्यादा पनि रहेनन्, एक सामान्य नेपाली नागरिकमा ओर्लिए । उनको जीवनमा आएको यो उतारचढावले शायद अर्को नाटकीय मोड लिँदा उनी मुलुकमा समेत बस्न नसक्ने अवस्था सिर्जना भयो । त्यसपछि उनी कहिले सिंगापुरमा त अहिले थाइल्याण्डतिर अभिशप्त जीवन बिताइरहेका छन् । यसबीचमा उनी धेरैपटक आफू समाचार बनेर सञ्चारमाध्यमलाई समाचार दिइरहेका छन् ।
हुन त सामान्य मानिस पारस शाहको पक्षमा उभिन सक्दैन । त्यसका लागि उनका हर्कत नै पर्याप्त छन् । तर, पछिल्लो समय उनी जुन स्वरूपमा देखिएका छन्, त्यसको कारणतिर नजाने र मानवीय कोणबाट मात्र हेर्ने हो भने उनीप्रति जो कोही पनि निष्ठुरी हुनुपर्ने कारण भेटिदैैन । साँच्चै नै दयाका पात्रजस्ता देखिन्छन् उनी । यद्यपि, धेरैजसो मानिसहरू आज पनि उनलाई नै कपुत भनेर धारेहात लगाइरहेका छन् । र, पूर्वराजा ज्ञानेन्द्रप्रति सहानुभूति देखाउँदै भनिरहेका छन्, छोरो नै कपुत भएपछि कसको के लाग्छ र ? यसोभन्दा बाबुका रूपमा उनले के भूमिका निर्वाह गरे, त्यसको लेखाजोखा गर्नेतिर कोही लाग्दैन । यो बेग्लै कुरा हो । तर, विलोममा उभिएर पारसको कोणबाट हेर्यो भने उनीप्रति चिढचिढाहट राखेर तथानाम गाली गर्नुपर्ने खासै कारण भेटिदैन ।
पारस शाह आफैँमा सामान्य मानिस हैनन् । उनको जन्म जुन कुल घरानमा भयो, उनी जे जसरी हुर्काइए, बढाइए र उनको अघिल्तिर जे जस्ता नाटकीय घटनाहरू घटे, घटाइए । आजको पारस शाह ती सबै घटना एवं परिघटनाका योगफल मात्र हुन् । न जन्म उनले रोजेको हो न कुलघरान । न संस्कार उनले रोज्न पाए, न शिक्षा । उनमा जे जे थपियो, त्यो सबै निर्मल निवासको रोजाइमा थपियो । उनलाई आज जे जस्तो बनाइयो, चाहेर त नभनौं, नचाहदा नचाहदै पनि निर्मल निवासले नै बनाएको हो ।
आज पनि पारस शाहसँग राज्य छैन, बाँकी सबै छ । बाबुआमा, श्रीमती, छोराछोरी नातागोता, इष्टमित्र, धन दौलत के छैन उनीसँग? पूर्वराजा ज्ञानेन्द्रको अर्बौ सम्पत्तिका एक्ला उत्तराधिकारी हुन् उनी । निर्मल निवास, जीवन कुञ्ज सबैका हकवाला हुन् उनी । तर, यतिबेला पारस शाह सबै भएर पनि केही नभएका अनाथजस्ता देखिएका छन् । अझ यसो भनौ, समयले उनलाई यस्तो बनाएको छ ।
हो, पारस धन्धुकारी हुन् । यसमा दुई मत छैन । उनले गरेका हर्कत र कुकुत्र्यहरुको फेहरिस्तले पनि त्यसको पुष्टि गर्छ । तर,यो पनि सत्य हो कि उनका बाबु उनीभन्दा अझ धेरै ठुला धन्धुकारी हुन् । उनले त दुई सय ४० वर्षको राजसत्ता नै सिद्धाए । यो पनि इतिहासको विषय हो कि, उनले सिद्धाएको राज्यसत्ताको उत्तराधिकारी पनि पारस नै थिए । आज पारस जुन मोडमा उभिएका छन्, उनलाई यस्तो बनाउने वातावरणका सबैभन्दा ठुला कारण पनि उनै हुन् । जन्मदै पारस यो अवतारमा जन्मेका थिएनन् । आज पनि ज्ञानेन्द्र राज्यसत्ता फर्कन्छ भने झिनोआसमा छन् , आफ्नो लागि नभए पनि बेबी किंग हृदयेन्द्रका नाममा फर्कन्छ भनेर उनलाई सुराउनेहरुको कमी आज पनि छैन । यो मनचिन्ते रोडम्यापमा उनका लागि सबैभन्दा ठुला खलपात्र पारस र उनको हर्कते व्यक्तित्व हो भनेर सम्झाइएको छ । यही कारण ज्ञानेन्द्रले पारसलाई धकेल्दै धकेल्दै भिरको डिलमा पुर्याएका हुन् । त्यस डिलबाट अब सायदै फर्कन सक्लान् पारस ।
यो पंंिक्तकारका बिचारमा पारस एक अभागी मान्छे हुन् । उनी जे भए, शायद त्यो उनको चाहना थिएन । शाहज्यादा, युवराजा, सामान्य नागरिक, मुग्लान भासिएको मुग्लाने र अहिले नशामा धसिएको एक दुब्यर्सनी, यी सबै उनलाई विरासत र त्यसले सिर्जना गरेको परिस्थितिबाट प्राप्त भएका केही वरदान केही अभिषाप हुन् । उनको कमजोरी यति हो, उनले आफूलाई सम्हाल्न सकेनन् । समयलाई आफ्नो काबुमा राख्न नसक्दा उनका लागि एकपछि अर्को विडम्वनाहरु थपिदै गए । त्यस्ता विडम्बनाको सामना गर्न उनलाई तयार नै गरिएको थिएन ।
कुनै पनि व्यक्तिको सफलताका लागि तीन वटा स को आवश्यक हुन्छ, शिक्षा, संस्कार र सङ्गत । पारस यी तीनै कोणबाट गरिब थिए । न उनले राम्रो शिक्षा लिन पाएँ, न त्यस किसिमको मानवीय संस्कार नै निर्मल निवासले दियो । सङ्गत पनि सही पाएनन् । जसले गर्दा, उनीसँग आफूलाई सम्हाल्ने कुनै स नै रहेन । परिणाम सबैका सामु हाजिर छ, आज उनी बाँचिरहेको अभिशप्त जीवन । यो बाटोको गन्तव्य प्रस्ट छ, असहज र असामयिक मृत्यु । शायद, पारस त्यसका लागि तयार भएर यो बाटोमा निस्किएका हुन् ।
मानिसको सफलतामा आधा आफ्नो र आधा आउँदो पिँढीको हिस्सा लाग्छ। अर्थात् कोही पनि मानिसको सफलतामा आधा आफ्नो हुन्छ, आधा सन्तानको । आफूलाई पूर्ण सफल बनाउन आफ्ना सन्तानलाई पनि त्यत्तिकै सफल बनाउन सक्नुपर्छ । यस मानेमा पनि ज्ञानेन्द्र असफल मानिस हुन् । उनले न आफूलाई धन्धुकारी हुनबाट रोके, न आफ्नो सन्तानलाई धन्धुकारीपथबाट जोगाए । यस अर्थमा पनि ज्ञानेन्द्रमा गुणको सगरमाथा देख्नु र पारसमा अवगुणको केचनाकलन देख्नु दृष्टिदोष हो । त्यस्तो दृष्टिदोषबाट भाइरल मचाउने नागरिक सञ्चारकर्मी मुक्त हुनुपर्छ । अनि त्यसलाई नै आधार मानेर आमसञ्चारमा एजेन्डा सेट गर्ने आमसञ्चारकर्म त त्यो बाटोबाट कोसौं टाढा हुनुपर्छ ।
आमसञ्चार यसै पनि आवाजविहीनहरुको आवाज हो । हिजो के थियो, त्यो बेग्लै कुरा भयो, आज आवाजविहीन बनेका छन्, पारस । त्यसैले, ज्ञानेन्द्रको ट्ेजरी बेन्चमा हैन, पारसको अपोजिसन बेन्जमा बसेर उनका लागि आवाज दिन सक्नुपर्छ । हिजोका क्रियाकलापलाई मात्र आधार बनाएर आजको परिस्थितिमा पारसको मूल्याङ्कन गरिनु हुदैन । पारस आफ्नै कारणले मात्र हैन, पारिवारिक वातावरणले पनि यो परिस्थितिसम्म धकेलिएका हुन् । योे सत्यलाई अस्वीकार गर्नु भनेको आफैँमा एक प्रकारको आग्रह पूर्वाग्रह पाल्नु हो । अनि, त्यसैमा बहकिनु त आमसञ्चारकर्मको धर्म हुनै सक्दैन । विलोमबाटै सही, यस कोणबाट पनि पारसको हरिबिजोगलाई हेर्न जरुरी छ । आगे उनीहरू नै जानुन् ।
लेखक दृष्टि साप्ताहिकका सल्लाहकार सम्पादक हुन् ।
यो पनि पढ्नुहोस् :
पारस शाहमाथि अत्याचार














प्रतिक्रिया