काठमाडौं, २८ असोज । लगातारको बर्षातका कारण देशका विभिन्न ठाउँमा हिमपात भएको छ भने चिसोले जनजीवन प्रभावित भएको छ ।
गएराति ११ बजेदेखिको लगातारको वर्षाले मुगुका तीन हजार मिटरभन्दा माथिका भूभागमा हिमपात हुन थालेको छ भने जिल्लाभरि पुस र माघ महिनाको जस्तो जाडो बढेको छ ।
जिल्लाका उच्च स्थानमा रहेका बस्तीहरू डोल्फु, मुगु, चाकपाडे, मुर्मा र खमालेमा हिउँ पर्न थालेको छ । डोल्फु गाउँका कार्मा लामाले राति पानी परेपछि आज बिहानबाट हिउँ पर्न थालेको बताए । जिल्ला सदरमुकाममा लगातार पानी परिरहेकाले गाउँघरबाट सर्वसाधारण र सेवाग्राहीहरू सदरमुकाममा नआउँदा बजार तथा कार्यालयहरू सुनसान छन् ।
सदरमुकाममा रहेको श्रीनगर क्लाइमेट केन्द्रका अनुसार जिल्लामा बिहान ८ बजेसम्म १५ मिलिलिटर पानी परेको र तापक्रम १७ डिग्री सेन्टिग्रेटमा झरेको छ । लगातार पानी परिरहेकाले कृषकलाई खेतगरामा पाकिसकेका धान, कोदो, मकै, काउनोलगायतका बर्र्खेबाली भित्र्याउन कठिनाइ भएको छ ।
श्रीनगर–१ का ७० वर्षीय कृषक दुर्गबहादुर मल्ल गत वर्षहरूमा मङ्सिरबाट चिसो बढ्थ्यो र हिउँ, पानी पर्न सुरु गथ्र्यो तर यसपटक त अन्नबाली भित्र्याउन नपाउँदै असोज महिनामै चिसो बढेको र हिउँ पानी पर्न थालेको बताउँछन् ।
यता, उपल्लो मुस्ताङमा पनि सोमबार रातिदेखि हिमपात भएको छ । भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा आएको आँधीको प्रभावका कारण नेपालमा भएको वर्षासँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिउँ परेको हो ।
सोमबार रातिदेखि आज बिहान १० बजेसम्म पनि निरन्तर हिउँ परिरहेको लोमान्थाङबाट स्थानीयवासी पेमा लामाले जानकारी दिनुभयो । बिहानसम्म आधा फिट बाक्लो हिउँ जमेको लामाले बताए ।
उपल्लो मुस्ताङमा फापरलगायतका अन्नबाली भित्र्याउने सिजन सुरु भएकाले हिउँ पर्दा कृषक चिन्तित भएका छन् । तल्लो मुस्ताङको जोमसोम र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको स्थानीय सञ्चारकर्मी सुशीला पुर्जाले बताउनुभयो ।
वर्षाका कारण मुक्तिनाथ तीर्थयात्रामा आएका तीर्थयात्री र भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । वर्षासँगै चिसो पनि बढेको छ । यसैगरी म्याग्दीमा पनि वर्षाका कारण पर्यटन व्यवसाय र कृषि क्षेत्रमा असर परेको छ ।
घोरेपानी, पुनहिल, भुरुङ तातोपानी, राउण्ड धौलागिरि, अन्नपूर्ण बेसक्याम्पलगायतका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका पर्यटक वर्षाका कारण पदयात्रा स्थगित गर्न बाध्य भएका छन् ।
सूर्योदय, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यतामा रमाउन आएका पर्यटकलाई एक्काली मौसममा खराबी आएपछि निराश बनाएको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव टेकसर बुद्धुजा पुनले बताउनुभयो ।
यसैगरी म्याग्दीको माथिल्लो क्षेत्रमा भित्र्याउनका लागि धान काटेर खेतमा सुकाएका कृषक भारी मात्रामा वर्षा भएपछि निराश बनेका छन् । ताकम, बेग, देविस्थान, मुनालगायत गाविसमा भित्र्याउन तयारी गरिएको धानबाली खेतमै भिजेको कृषकले बताएका छन् ।
















प्रतिक्रिया