३० आश्विन २०८३, शुक्रबार

महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध मधेशमै किन भयो विद्रोह ?

70.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निर्मल भट्टराई 

दोश्रो चरणको निर्वाचनविथोल्ने लक्ष्यसहित राष्ट्रिय जनता पार्टी, नेपालले आन्दोलनको घोषणा गरेको छ । अरु सबै राजनीतिक पार्टीहरु स्थानीयतहमा प्रतिस्पर्धा गराउन आफ्ना उम्मेद्वारको अन्तिम सूची तयार पार्दै गर्दा शुरु गरिएको यो तराई मधेश केन्द्रित आन्दोलनमा जनताको सहभागिता कस्तो हुनेछ र निर्वाचनलाई यसले कस्तो प्रभाव पार्नेछ भन्ने चासो सर्वत्र व्यक्त गरिदैछ ।

क) उपेन्द्रको उन्नति, राजपामा राइफाँडो

तराई मधेशका जनता चुनावको माहौलमा होमिई सकेको अवस्थामाआफ्नो चुन्ने र चुनिने अधिकारको तिलान्जली दिएर कोही राजपाको आन्दोलनमाआउँदैनन् । अधिकार सम्पन्न स्थानीय निकायमा पुग्न चाहने र सक्ने राजपाका स्थानीय नेता कार्यकर्ता चुनाव जित्नेतर्फ लाग्छन्, चुनाव भाड्नेतर्फ होइन । यही विषयले भर्खरै एकीकरण भएको राजपामा राइफाँडो निम्त्याउने छ । अर्कोतर्फ मधेश आन्दोलनका शुरुवातकर्ता उपेन्द्र यादवले आफ्नो पार्टी संघीय समाजवादी फोरमलाई आक्रमक शैलीमा चुनाव प्रचारमा होमिसकेका छन् । विगत जे भएपनि उपेन्द्र यादवले जनताको लोकतान्त्रिकअधिकारको विपक्षमा नगएर राजनीतिक परिपक्वता देखाए । तर अपसोच,नेपाली कांग्रेसमा बर्षौं नेतृत्व गरेका महन्थ ठाकुरबाट त्यस्तो परिपक्वता प्रदर्शन हुन सकेन । आफू व्यवस्थापिका —संसदमा जान स्थानीय नेता, कार्यकर्ता र जनताको दोहन गर्ने तर स्थानीय नेता, कार्यकर्ताहरुले प्रतिनिधित्व अवसर पाउने वेला चाहिँ चुनावै हुन नदिने राजपाका नेताहरुको कार्यशैलीको मधेशमा व्यापक विरोध र विद्रोह शुरु भएको कारण राजपाको भोटब्याङ्कमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वा अरु पार्टीको दवदवा रहने निस्चित छ । आफ्नो मालिक आफैं हुन पाउने बेला कसैको थुँगनी हुन को मधेशी जनता तयार होलान् र !

ख) ठूला पार्टीलाई फरक नपर्ने

राजपा आन्दोलनले नेका, एमाले र माओवादीको भोट ब्याङ्कमा कुनै असर पर्दैन । बरु उनीहरुले राजपामा हुने विद्रोह र उनीहरुको रवैयाबाट उनीहरुको मतदातामा उत्पन्न हुने वितृष्णाबाट यो निर्वाचनमा मनग्य लाभ लिने परिस्थिति उत्पन्न भएको छ । महन्थ ठाकुर, शरदशिंह भण्डारी लगायतका राजपाका नेताहरुको जनआधार विगतको कांग्रसको जनआधार भएकोले सो जनमत नेकाको पक्षमा जाने प्रवल सम्भावना छ । सांगठानिक रुपमा मजबुत एमालेले आफ्नो मतको रक्षा गर्न सकेमात्र पनि प्रतिस्पर्धा र विजयको लागि पर्याप्त हुन्छ । माओवादी केन्द्रको सांगठानिक अवस्था छिन्नभिन्न र नाजुक भएकोले दोश्रो चरणको निर्वाचनमा उसले प्रथम चरणमा जति पनि सफलता पाउने संभावना छैन । प्रचण्डको सत्ता बहिर्गमनले यो चुनावमा माओवादी केन्द्र थप कमजोर बन्नेछ ।

ग) प्रतिस्पर्धा एमाले-कांग्रसकै

राजपाले एकीकरण हुनुपूर्वको तमलोपावा सद्भावना कसैको चुनाव चिन्हमा सहजै चुनाव लड्न सक्थ्यो । तर उसलाई त्यो विकल्प मान्य भएन । “हलो अड्काएर गोरु पड्काउने” राजपाको रणनीतिबारे कोही बेखबर छैन । विगतमा छिमेकी भारतलाई नाकाबन्दीको वातावरण बनाउन उनीहरुले गरेको नाका आन्दोलनबाट हैरान मधेशी जनताले राजपालाई सबैभन्दा नजिकबाट चिनेका छन् । २००७ सालदेखि लोकतन्त्रको लडाईंमा सामेल मधेशीजनताको रोजाइ या त नेपाली कांग्रेस हुन्छ या एमाले । त्यसकारण प्रष्ट भन्न सकिन्छ, दोश्रो चरणको निर्वाचनमा प्रथम चरणको निर्वाचनमा जस्तै एमाले र कांग्रेसकै पेचिलो प्रतिस्पर्धा हुन्छ ।

घ) सुरक्षा चुनौति

निर्वाचनको संघार घोषित आन्दोलनले केही सुरक्षा चुनौति थपेको छ । प्रथम चरणको निर्वाचानमा विप्लवको हुँकार पनि चानचुने थिएन । उम्मेद्वारी नै पर्न नदिने, उम्मेद्वारी दर्ता गरेकालाई फिर्ता लिन धम्कीपूर्ण पत्राचार गर्ने, मतदान केन्द्र र उम्मेदारको घर वरिपरि बम विष्फोट गराउने, मतपेटिका लुट्ने सो समूहको रणनीति छिचोलेर प्रथम चरणको निर्वाचन सम्पन्न भएको छ । चनाखो सुरक्षा निकाय र सचेत जनताको सामूहिक प्रयास भए दोश्रो चरणको निर्वाचन पनि सहजै सम्पन्न हुन्छ । यसमा कुनै शंका गर्ने ठाउँ छैन ।

र अन्त्यमा,

राजपाले आफ्नो खुट्टामा आफैं बन्चरो हानेको छ । जसरी पानीबाट अलग्गिएर माछा बाँच्न सक्दैन, त्यसरी नै मधेशी जनताको भावनाविपरीत गएर राजपाले आफ्नो अस्तित्व कायम राख्न सक्दैन । विगतमा निरङ्कुश राजतन्त्र र बन्दुक देखाएर जनतालाई आफ्नो काबूमा राख्न चाहने माओवादी प्रवृत्तिसंग पौंठेजोरी खेलेका नेपाली जनता केही मधेशी नेताहरुको अतिवादी हठसंग विल्कुल डराउदैनन् ।