काठमाडौं, १२ जेठ । आयोजक हिमालयन एकेडेमीको सिनियर ब्वाइज र गर्ल्स दुवै टोली प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिनियर ब्वाइजमा हिमालयनले वीर सेवालाई २७–११ ले पराजित ग-यो । हिमालयनको जितमा सन्जोग मगरले १२ अंक योगदान गरे । सिनियर गर्ल्समा हिमालयनले महामञ्जुश्रीलाई २३–१४ ले हरायो । हिमालयनकी ममता महर्जनले १० अंक जोडिन् ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमीले महामञ्जुश्रीलाई ४०–३१ तथा पुष्पसदनले लभ्ली एन्जललाई १६–१४ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । विल्सनका पेम्बा शेर्पाले १७ तथा पुष्पसदनका अर्पण लामाले १४ स्कोर गरे ।
सिनियर गर्ल्समा रिलायन्सले विल्सनलाई ३४–२२ तथा कान्तिपुरले लिटिल बुद्धलाई १७–११ ले निराश पारे । जितसंगै दुवै टोली क्वाटरफाइनलमा पुग्न सफल भए । रिलायन्सकी कविता श्रेष्ठले १० तथा कान्तिपुरकी सुजिला श्रेष्ठले ६ अंक जोडे ।
जुनियर ब्वाइजमा बसुन्धारा नेसनल एकेडेमी (बीएनए), सेब र पुष्पसदन क्वाटरफाइनलमा प्रवेश गरे ।
बेलबहादुर तामाङको १२ अंक सहयोगमा बीएनएले पिपुल्स एकेडेमीमाथि २६–२४ को कठिन जित दर्ता ग-यो । सेबले काठमाडौं जेभियरको चुनौती १८–१५ ले पन्छायो ।
सेबका लागि बलराम पुनले १० स्कोर गरे । कान्तिपुर विरुद्धको खेलमा पुष्पसदन ३३–१४ ले सहजै विजयी भयो । पुष्पसदनका डेविड बोहराले १० अंक जोडे ।















प्रतिक्रिया