पानीट्याङ्की (मोरङ), २७ असोज । लागुऔषधको ओसारपसारमा बालबालिकालाई प्रयोग गर्ने कार्य कायमै रहेको पाइएको छ ।
भारतीय जोगबनी बजारबाट लागुऔषध शरीरमा लुकाएर नेपाल आउँदै गरेका १३ र १४ वर्षका दुई बालक लागुऔषधसहित समातिएपछि अझै पनि लागुऔषध ओसारपसारमा बालबालिका प्रयोग भइरहेको पाइएको हो ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट लागुऔषध न्यूनीकरण अभियानमा खटिएका क्षेत्रीय अनुसन्धान समूहका टोलीले असोज २६ गते दिउँसो जोगबनी नाकाबाट १३ र १४ वर्षीय दुईजना बालकले आफ्नो शरीरमा बेरेर लागुऔषध ल्याउँदै गरेको फेला पारेको थियो ।
उनीहरुको साथबाट प्रहरीले नेरोजेसिक, एभिल र डाइजेपाम ३७ एम्पुल नामको लागुऔषध बरामद गरेको थियो । यसअघि पनि पटकपटक लागुऔषध ओसारपसारमा बालबालिका पक्राउ परेका थिए ।
प्रहरीले हम्मेसी चेकजाँच नगर्ने र पक्राउ परे पनि कानुन नलाग्ने र सहजै छुट्न सक्ने भएकाले लागुऔषध कारोबारीले बालबालिकालाई भरियाका रुपमा लागुऔषध ओसारपसारमा प्रयोग गर्दै आएका छन् ।
यसैगरी पूर्व क्षेत्रीय प्रहरीको अनुसन्धान समूहले असोज २६ गते चार जना बालकसहित २५ जना लागुऔषध सेवन गर्ने दुव्र्यसनीलाई नियन्त्रणमा लिएर आवश्यक प्रशिक्षण दिई छाडेको थियो । रासस















प्रतिक्रिया