३० आश्विन २०८३, शुक्रबार

नयाँ श्रीमानको नयाँ जोश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumar-prasad-shahकाठमाडौं, २७ असोज । धेरैपछि सर्वोच्च अदालतमा आइतबार बिहान दसै बजे पेसी सूची तोकियो । एघारै बजे इजलास लाग्यो ।

पेसी तोक्ने नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साह भने इजलासमा होइन, दिनभर अधिवक्ता र महान्यायाधिवक्ताहरूसँग छलफलमा बसे ।

बिहान साढे दस बजे नेपाल बारसँग, दिउँसो साढे एक बजे सर्वोच्च बारसँग, तीन बजे महान्यायाधिवक्तासँग र चार बजे वरिष्ठ अधिवक्ताहरूलाई छलफलका लागि उनले आफ्नै कार्यकक्षमा निम्त्याएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘न्यायालयभित्र के के समस्या देख्नुभएको छ ?’ साह र वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठले सबैसँग एउटै प्रश्न गरे, ‘त्यसलाई तुरुन्त हटाउन के के गर्नुपर्ला ?’

बारका अध्यक्ष हरिकृष्ण कार्की, महासचिव, कोषाध्यक्षलगायतको ११ सदस्यीय कार्यकारी समूहसहित छलफलमा पुुगेका थिए । ‘बिचौलियाले अदालत आक्रान्त छ,’ बारका पदाधिकारीले सुझाव दिए, ‘त्यसबाट अदालतलाई बचाउनुस्, पेसी समयमै तोक्नुस् ।’

बारको सुझावलाई साहले गम्भीरतापूर्वक लिए । ‘अदालतको मर्यादा बचाउने र न्याय जोगाउने काममा बारको सधैं साथ रहनेछ,’ कार्कीले भने, ‘वरिष्ठतम न्यायाधीशलाई पनि साथै राखेर प्रधानन्यायाधीशले टिम स्पिरिटको झल्को दिनुभएको छ, त्यो कायम भए उहाँले आँटेको सुधारका काम गर्न गाह्रो नहोला ।’

साहलाई अध्यक्ष नरहरि आचार्यको नेतृत्वमा गएका सर्वोच्च बारका पदाधिकारीले पनि त्यही सुझाव दिएका थिए । ‘मुद्दा अनुसारको वकिल, वकिल अनुसारको न्यायाधीश र न्यायाधीश अनुसारको फैसला हुने गरेको छ,’ उनीहरूले भने, ‘यसबाट अदालतको जनआस्था खस्किएको हो, त्यसलाई रोक्न बेन्च सपिङ (अनुकूलको इजलास छान्ने बिचौलिया खेल) गर्ने विगतको काम रोक्नुपर्‍यो श्रीमान् ।’

दुवै न्यायाधीशले अदालतको गरिमा बचाउन आफूहरू दिनरात खट्ने बताएका थिए ।

‘प्रधानन्यायाधीशज्यूले अदालतको इज्जत कायम राख्न देखाउनुभएको सक्रियताको हामी स्वागत गर्छौं,’ सर्वोच्च बारका महासचिव बालकृष्ण ढकालले भने, ‘हामीले उहाँलाई न्यायाधीशको सम्पत्ति छानबिन गर्न पनि आग्रह गर्‍यौं, उजुरी परे छानबिन गर्छु भन्नुभएको छ ।’