काठमाडौँ, २६ असोज । प्रमुख तीन दलले संविधान लेखनका विषयमा सहमति नजिक पुगेको जिकिर गरेका छन् ।
संवैधानिक, राजनीतिक तथा संवाद समितिका सभापति डा बाबुराम भट्टराईको आह्वानमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी)को बैठकपछि नेताहरूले प्रतिक्रिया दिँदै दलहरू सहमति नजिक पुगेको बताएका हुन् । बैठकपछि समितिका सभापति डा भट्टराईले सबै विषयमा एकमुष्ट सहमतिको प्रयास भइरहेको बताउँदै आइतबारको बैठकमा सबै दल लचकताका साथ प्रस्तुत भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– छलफलमा दलहरू गम्भीरताका साथ प्रस्तुत हुन थाले पनि सहमतिमा अझै पुग्न सकिएको छैन ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले न्यायपालिका, निर्वाचन प्रणाली, सङ्घीयता र शासकीय स्वरूपका विषयमा आजको बैठकमा गहन छलफल भएको जानकारी दिनुभयो । काँग्रेसले प्रस्ताव गरेको छ वा सात प्रदेशमा जान एमाओवादीलाई बैठकमा आग्रह गरिएको र एमाओवादीले ती प्रदेशमा बहुपहिचानको नाम दिइए सोच्न सकिने बताएको उहाँको भनाइ थियो ।
एमाओवादीको प्रस्ताव १० प्रदेश
एमाओवादीले यसअघिको संविधानसभामा प्रस्तावित १० प्रदेश वा प्रदेशको नाम प्रदेशसभालाई दिने गरी सहमति खोजिनुपर्ने प्रस्ताव राखेको र शासकीय स्वरूप र सङ्घीयताका स्वरूपमा काँग्रेस र एमालेको मत धेरै नजिक रहेको उहाँले जानकारी दिनुभयो ।
आइतबारको बैठकको बीच बीचमा काँग्रेस र एमाले, काँग्रेस र एमाओवादी, एमाले र माओवादीको छुट्टाछुट्टै द्विपक्षीय छलफल भएको थियो ।
दलहरूबीच सोमबार अपराह्न १ बजे उच्चस्तरीय राजनीतिक समिति र २ बजे प्रमुख तीन दलको बैठक बस्ने सहमति भएको छ । बैठकमा काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री महेश आचार्य, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, प्रमुख सचेतक अग्नि खरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता डा भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता खिमलाल देवकोटाको सहभागिता थियो ।
















प्रतिक्रिया