१ कार्तिक २०८३, शनिबार

सासू र बुहारीबीचको सुमधुर सम्बन्धको विकास गर्न नयाँ उपाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), २६ असोज । सासू र बुहारीबीच सुमधुर सम्बन्धको विकास गर्न झापा सतासीधामका स्थानीयले नयाँ उपाय निकालेका छन् ।

ज्येष्ठ नागरिक वडा शाखा समिति सतासीधाम वडा नं. ६ ले आफ्नो क्षेत्रभित्रका बुहारीमध्ये सासूससुराको राम्रो रेखदेख गर्ने बुहारीलाई सम्मान गरेर सासूबुहारीको सम्बन्ध आमाछोरीको सरह हुनुपर्छ भन्ने सन्देशसहित नयाँ उपाय निकालेको हो ।

यसै क्रममा समितिले सतासीधाम–६ का बुहारीमध्ये माया भट्टराईलाई यस वर्षको उत्कृष्ट बुहारी ठहर्‍याउँदै सम्मान गरेको छ । ८० वर्षमाथिका सासूससुरालाई राम्रो हेरचाह गरेको भन्दै सतासीधाममा आयोजित एक कार्यक्रमकाबीच समितिले उनलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घका सदस्य तथा झापा क्षेत्र नं. ५ का पूर्वसांसद तारा समयाङयाको प्रमुख आतिथ्य तथा ज्येष्ठ नागरिक वडा शाखा समिति सतासीधाम–६ का अध्यक्ष शेरबहादुर मोक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा भट्टराईलाई दोसल्ला ओढाएर सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सतासीधामका उपाध्यक्ष रविचन्द्र पौड्याल, सचिव पदमप्रसाद दाहालसहित दधिराम खनाल, सीता दाहाल लगायतले असल बुहारीको भूमिका निर्वाह गर्न भट्टराईबाट अरूले पनि पाठ सिक्नुपर्ने भन्दै उहाँको खुलेरै प्रशंसा गर्नुभयो । रासस