९ मंसिर २०८३, बुधबार

चुनाव हार्ने डरले सत्तापक्ष गडबडीमा उत्रियो : केपी ओली

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । एमालेका अध्यक्ष केपी ओलीले चुनाव हार्ने डरले सत्तापक्षले अनेकथरी गडबडी गरेको आरोप लगाएका छन् ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘चुनावको मिति घोषणा भइसकेको अवस्थामा स्थानीय तहको संख्या थप्ने, सीमाङ्कन हेरफेर गर्ने कुरा गर्न पाइँदैन ।’ उनले भने, ‘पहिले मधेसी मोर्चा थियो अहिले राजपालाई देखाएर उसले मान्दैन भनेर सत्तापक्षले धाँधली गरिरहेको छ ।’

अध्यक्ष ओलीले चुनावको बेला प्रधानन्यायाधीशलाई महाभियोग जस्तो कुरा ल्याएर न्यायालयमाथि आक्रमण प्रयास भएको आरोप दोहोराए । ‘सरकारले धाकधम्कीको भरमा तर्साएर न्यायालयलाई आतंकित तुल्याउने । प्रहरीलाई आतंकित बनाउने काम भएको छ’, उनले भने ।

एमालेले स्थानीय चुनावका लागि धेरै सहयोग गरेको बताएका ओलीले भने, ‘केही जिल्लाहरूमा स्वयच्छाचारी ढंगले संख्या हेरफेर गर्न थालिएको छ । चुनावका बीचमा स्थानीय तहको संख्या हेरफेर गर्न पाइँदैन ।’

उनले भने, ‘७ सय ४४ स्थानीय तह छन् । पहिलो चरणमा जति स्थानमा हुन्छ, बाँकी रहेका स्थानीय तहमा दोस्रो चरणमा चुनाव गर्ने हो । थपेर चुनाव गर्न पाइँदैन ।’ सरकारले आचार संहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोगले किन जिब्रो चपाएर बसेको भन्दै आलोचना गरे ।

उनले माओवादीले एमालेका कार्यकर्ताको हत्या गर्ने, आक्रमण गर्ने जस्ता कार्य गरेको भन्दै मृत्यु भएकालाई सहिद घोषणा र क्षतिपूर्तिको माग गरे ।

एमाले अध्यक्ष ओलीले कतिपय ठाउँमा भएका विष्फोटहरूमा सत्तापक्षको संलग्नता रहेको भन्दै आरोप पनि लगाएका छन् । उनले भने, ‘केही ठाउँमा कसैले जिम्मेवारी लिएको छ । कुनै ठाउँमा जिम्मेवारी लिएको छैन । कतै यि घटनाहरूमा सत्तापक्ष संलग्न त छैन ?’

ओलीले मतदानका बेला मतदाता परिचयपत्र नचाहिने व्यवस्थाको विरोध गरेका छन् । उनले भने, ‘गज्जबको नाटक भएको छ । मतदानका बेला परिचयपत्र नचाहिने रे अब । यो कसरी हुन्छ । यत्रो व्यापक गडबडी गर्ने तयारी भएको छ ।’

लिड बल्ब खरिदमा अनियमितताको गन्ध आएको बताएका ओलीले भने, ‘लिड बल्ब खरिदमा ठेक्कामार्फत गरिनुपर्छ ।’