मुस्ताङ, ३० वैशाख । वाणिज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकाली निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँड्दा बाँड्दै रंगेहात समातिएका छन् ।
शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कार्यकर्ता भेट्न पुगेका मन्त्री गौचनले राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर झुसाङ प्रहरीलाई बुझाएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गर्दै आएका थिए ।
‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’ उनले भने ।
अन्य दलका उम्मेदवार तथा कार्यकर्ताले मन्त्री गौचनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताएका छन् ।
कारवाहीको माग राखी प्रदर्शन जारी
मन्त्रीले नै निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको पाइएपछि आक्रोशित सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । खासगरी कांग्रेसबाहेकका अन्य सबै दलका नेता कार्यकर्ताले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् ।











प्रतिक्रिया