९ मंसिर २०८३, बुधबार

चुनावको मुखैमा कपनमा दुर्व्यवहार भएपछि गगन थापाले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले मिथ्या आरोप लगाएर आफूमाथि कपनमा दुर्व्यवहार भएको स्पष्ट पारेका छन् ।

स्थानीय तहको निर्वाचनको अघिल्लो दिन आज विहान कपनस्थित आदर्शनगर टोलमा आचारसंहिता विपरित भोट माग्दै हिडेको भन्दै स्थानीयले थापालाई अवरोध सिर्जना गरेका थिए । विभिन्न प्रश्न सोध्दै उनीहरुले दुर्व्यवहार गरेपछि थापाको सचिवालयले यसको खण्डन गरेको छ ।

प्रेस संयोजक जीवन भण्डारीले कपनमा नातामा हजुरबुवा पर्नेसँग भेट गरेर फर्कंदा एक कांग्रेस कार्यकर्ताको घरभित्र छलफल गरिरहेका बेला मन्त्री थापामाथि दुर्व्यवहार भएको दाबी गरेका छन् ।

‘आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरीत आएको मिथ्या आरोप लगाएका थिए’ भण्डारीद्वारा जारी प्रेस नोटमा लेखिएको छ– ‘त्यहाँबाट थापा बाहिरिएपछि निलोपुलमा हुल बाँधेर बसेका केही एमाले कार्यकर्ताहरुले सरकारका मन्त्री समेत रहेका थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरे ।’

यता मन्त्री थापाले सामाजिक सञ्जालमार्फत निर्वाचन आरसहिंता विपरित कपनमा मतदाता किन्न पैसा बाँडेको भन्ने खबर सुनेर आश्चर्यमा परेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘आफूलाई कमजोर पाएपछि नचाहिँदो प्रपोगाण्डा र अफवाह फैलाउने दुष्प्रयास भइरहेको छ । सबैलाई सचेत रहन आग्रह गर्दछु ।’

उनले अगाडि लेखेका छन्– ‘आचारसहिंता उल्लंघन गर्नुहुन्न भन्ने मलाई राम्ररी थाहा छ, सहिंताले आफन्त भेट्नै हुन्न भनेर कतै लेखेको छैन् । एमाले कार्यकर्ताले मेरो गाडी घेरेपछि त्यहाँ काँग्रेस कार्यकर्ताहरु पनि आउने क्रम बढ्यो, यही कारणले त्यहाँ झडपको स्थिति होला भनेर म त्यहाँबाट निस्केँ ।’