चन्द्रौटा, ३० वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका ६, गडगौरास्थित गणपति रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिज प्रा.लि.मा आगलागी हुँदा अन्दाजी ५० लाखको क्षति भएको छ ।
फैक्ट्रीको प्लट नम्बर ३ को हिटिङ ट्यांकीको भठ्ठीमा शुक्रबार दिउँसो २ बजे एक्कासि आगो लागेको हो ।
आगलागीबाट ३ नम्बर प्लटको ४ ओटा भठ्ठीमा पकाउनका लागि तयार गरिएको खोटो जलेर नष्ट भएको हो ।
फैक्ट्रीका म्यानेजर जीवनारायण खनालका अनुसार पकाउनका लागि तयार गरिएको झण्डै २० टन माल जलेर नष्ट भएको हो ।
दोस्रो तल्लामा रहेको उक्त भठ्ठीमा आगो लाग्दा त्यहाँ रहेका तयारी माल समेत जलेको बताइएको छ । साथै आगलागीबाट एउटा मेसिन र टिनको छानो भएको पक्की घरमा समेत ठूलो क्षति भएको फैक्ट्रीका म्यानेजर खनालले बताउनुभयो ।
आगलागी भए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएका नेपाल प्रहरी तथा म्यादी प्रहरीले कच्चा पदार्थ आगो लागेको भवनबाट हटाएका थिए ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईको कमाण्डमा झण्डै ३ दर्जन प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको थियो ।
यसअघि पनि सोही फैक्ट्रीमा दुई पटक आगो लागिसकेको फैक्ट्रीका म्यानेजर जीवनारायण खनालले बताउनुभयो ।
झण्डै दुई दशकदेखि फैक्ट्रीमा सल्लाको खोटोबाट टर्पेन्टाइन उत्पादन गरिँदै आएको छ । फैक्ट्री परिसरमै एक सय बढी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।












प्रतिक्रिया