काठमाडौं, २९ वैशाख । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोक)ले स्थानीय तहको निर्वाचनमा कर्मचारी परिचालन, सुरक्षा व्यवस्था, निर्वाचन सामग्रीको व्यवस्थापनमा केही कमजोरी देखिएतापनि मतदान प्रक्रिया सहज हुन सक्ने विश्वास मतदातामा रहेको जनाएको छ ।
समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरे मतदाता परिचयपत्र वितरणको व्यवस्थापन समयमा हुन नसकेको भन्दै निर्वाचन स्वतन्त्र, भय रहित र निष्पक्ष हुन सक्दैन कि भन्ने प्रश्न उठ्न सक्नेमा आशंका जनाएको हो ।
आचार संहिता विपरितका कार्यहरू, चुनाव भड्किलो र खर्चिलो हुने संकेत आदिलाई नियन्त्रण गरिएको नदेखिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘निर्वाचनमा भागलिने र नलिने दलका कार्यकर्ताहरूबीच झडप भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘दोलखाको गौरीशंकर गाउँपालिकाका जुभु भन्ने ठाउँमा चारदिन अगाडि भएको एमाले–माओवादीका कार्यकर्ताबीच भएको झडपका कारण एमालेका उम्मेदवारका छोराको निधन भएको छ । यसले सुरक्षा चुनौती थपिएको छ ।’ यस्ता घटनाले निर्वाचनमा शान्तिसुरक्षाप्रति प्रश्न उब्जिएको समितिले उल्लेख गरेको छ ।
‘निर्वाचन विथोल्न चाहने शक्तिहरूको मनोवल खस्काउने ठोस कारबाही हुन सकेको छैनन्’, समितिले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘तथापि नर्विाचन बाहूवलको प्रयोग हुन सक्ने सम्भावना न्यून देखिएको छ । निर्वाचन बहिष्कारवादीहरूबाट बल प्रयोग हुन सक्ने स्थिति र सुरक्षाकर्मीबाट प्रतिक्रिया स्वरुप बल प्रयोग भएमा निर्वाचन हिंसात्मक हुने सम्भावना पनि देखिन्छ ।’
समितिले सुरक्षाकर्मीहरूले सुरक्षा दिने प्रतिवद्धता देखाएको भन्दै सरकारले उम्मेदवार र मतदाताको सुरक्षामा पर्याप्त ध्यान नपुगाएको आरोप लगाएको छ । ‘निर्वाचनको वातावरण विथोलिन नदिन स्थानीय तहको सहयोग लिने विषयमा सरकारले ध्यान दिनु जरुरी छ’, समितिले भनेको छ, ‘दलका नेताहरूसँग अन्तिम समयसम्म पनि समन्वय गरिरहनु आवश्यक छ ।’
समितिले कम्तिमा १५ जिल्लाहरूमा निर्वाचन पर्यवेक्षण गर्ने समेत जनाएको छ । त्यसका लागि तोकिएका जिल्लाहरूमा पर्यवेक्ष पठाएको उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा समितिका संयोजक हिमालय शम्शेर राणा, अधिकारकर्मी बबिता बस्नेत, हस्तबहादुर गुरुङ, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतको सहभागिता थियो ।











प्रतिक्रिया