नुवाकोट, २९ वैशाख । नुवाकोटमा पैसा बाँडेर भोट खरिदविक्री गर्ने सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सचिवलाई स्थानीयले रंगेहात समातेर नियन्त्रणमा लिएका छन् ।
विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई दलित मतदातालाई रकम वितरण गरेको आरोपमा विहिबार मध्यराति स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । अधिकारीसहित उनसँग पैसा बाड्दै हिडिरहेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ ।
अधिकारीको समूहले विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोस्थित मिजार वस्तीमा मध्यराति लाखौं रुपैयाँ बाडेको र स्थानीय प्रहरीले उनको साथमा रहेको झोलाबाट एकहजार रुपैयाँका नोटको एक पेटी रकम बरामद गरेको बताइएको छ ।
अधिकारीसहित नियन्त्रणमा राखिएका तीन जनालाई रकम बरामद गरी प्रहरीको रोहवरमा राति साढे १ बजे छाडिएको प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यता घटनाका प्रत्यक्षदर्शी तथा नेकपा एमाले विदुरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले पैसा बाड्नेमाथि कारवाहीको माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोट, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिएका छन् ।
भिडियोः












प्रतिक्रिया